• २०८३ आश्विन २१, बुधबार
  • 2026 October 07, Wednesday

राप्रपा बागलुङको अध्यक्षमा सापकोटा

बागलुङ । राष्ट्रिय प्रजातन्त्र पार्टी जिल्ला कार्य समिति बागलुङको जिल्ला अधिवेशनबाट विष्णु प्रसाद सापकोटा अध्यक्षमा सर्वसम्मत चयन हुनु भएको छ ।

जिल्ला कार्य समितिको उपाध्यक्षहरुमा लक्ष्मी प्रसाद सापकोटा, सुरज बहादुर खड्का र पार्वती शर्मा चयन हुनु भएको छ । सचिव पछि चयन गरिने राप्रपाले जनाएको छ । समितिका सदस्यहरुमा सुरेन्द्र खड्का, दिपक कुँवर, देवीप्रसाद कंडेल, गोविन्द पुन, शिवलाल सापकोटा, गुणाखर कंडेल, भूमा कंडेल, चेतनारायण आचार्य, सुरज बहादुर भण्डारी, अञ्चल शाही, कृष्ण खरेल, शान्ता कुमारी चन्द, सचिन सापकोटा, ललित बहादुर क्षेत्री, केशव कार्की, सुरेन्द्र छन्त्याल र सुदिप गौतम रहनु भएको छ ।

जिल्ला अधिवेशनमा प्रमुख अतिथि केन्द्रीय सल्लाहकार समितिका सदस्य टिकाराम सापकोटाले राष्ट्रिय प्रजातन्त्र पार्टीले लिएको नीतिबाट मात्रै मुलुकमा राजनीतिक स्थायित्व प्राप्त हुने भएकाले आम जनताका बीचमा यसको बारेमा जानकारी गराउन जिल्ला कार्यसमितिले योजनावद्ध कार्यक्रम गर्नु पर्नेमा जोड दिनुभएको थियो । राप्रपाका केन्द्रीय सदस्य तथा जिल्ला निर्वाचन पर्यवेक्षक विन्दु पौडेल लगायतले कार्यक्रममा शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो ।

कार्यक्रम राप्रपा बागलुङका अध्यक्ष सुरेन्द्र खड्काको अध्यक्षता, उपाध्यक्ष लक्ष्मी प्रसाद सापकोटाको स्वागत र सचिव विष्णु प्रसाद सापकोटाको सञ्चालनमा सम्पन्न भएको थियो । राजेन्द्र लिंदेन नेतृत्वको राप्रपा र कमल थापा नेतृत्वको राप्रपा नेपालबीच एकीकरणपछि राप्रपाले देशव्यापी रुपमा अभियान सञ्चालन गरेको सो अवसरमा जानकारी दिइएको थियो ।