• २०८३ आश्विन १७, शनिबार
  • 2026 October 03, Saturday

कांग्रेस विभाजनमा होइन, पुस्तान्तरणमा जाओस्

सम्पादकीय
देशको सबै भन्दा पुरानो राजनीतिक पार्टीको इतिहास र परिचय बोकेको नेपाली कांग्रेस अहिले इतिहासकै कठिन मोडमा छ । पार्टी सभापति सहित शेरबहादुर देउवा, कार्यबाहक सभापति पूर्णबहादुर खड्का लगायत संस्थापन पक्ष आगामी वैशाखमा नियमित महाधिवेशन गर्ने निर्णयमा अडिग छ भने त्यस इतरको पार्टी महामन्त्रीद्धय गगन थापा, विश्वप्रकाश शर्मा लगायत भने विशेष महाधिवेशन गरिरहेका छन् । दुई दिनदेखि काठमाडौंको भिकृटिमण्डपमा जारी महाधिवेशनले केही महत्वपूर्ण प्रस्तावहरु पनि छलफलमा ल्याएको छ । आगामी निर्वाचनमा कुनै पनि दलसँग गठबन्धन नगर्ने, एक जना व्यक्ति दुईपटक मात्र प्रधानमन्त्री बन्न पाउने संवैधानिक व्यवस्था गर्ने, एकपटक समानुपातिक, अन्तिम पटक समानुपातिक, पार्टी सदस्यलाई संवैधानिक आयोगमा दुई वर्ष रोक लगायतका राष्ट्रिय राजनीतिमै अर्थ र महत्व राख्ने विषयमा बहस जारी छ । अब मंगलवार के कस्तो निर्णय र कदम सहित विशेष महाधिवेशन सम्पन्न हुनेछ ? त्यो भने हेर्न बाँकी छ ।

कांग्रेसमा अझै पनि पुराना पुस्ताका नेताको बाहुल्य रहेको संस्थापन पक्षले अहिलेको विशेष महाधिवेशनलाई फेरि पनि सके सम्म अर्थहीन बनाउन अन्तिम कसरत गरिरहेको छ । त्यो सोमवार दिनभर पार्टी सभापति देउवा, कार्यबाहक सभापति पूर्णबहादुर खड्का लगायतको रस्साकस्सी र दौडधुपबाट पनि पुष्टि हुन्छ । बहुमत महाधिवेशन प्रतिनिधिले माग गरेको विशेष महाधिवेशनले अहिलेको रुप लेला भन्ने नेतृत्वगणले सायदै सोेचेका थिए । शेरबहादुर देउवाले नेतृत्व गर्दै आएको नेपाली कांग्रेसको संस्थापन र कतिपय राजनीतिक पण्डितहरूलाई चक्मा दियो । अन्ततः महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको दृढताले दोस्रो विशेष महाधिवेशन काठमाडौंमा भव्यतम् आयोजना भयो । जहाँ पार्टी सत्ता शक्तिका अनेकन बाधाका बाबजुद विशेष महाधिवेशन पक्षमा झण्डै ७० प्रतिशत प्रतिनिधिहरू सहभागी भइरहेका छन् । उद्घाटनसत्रमा महामन्त्रीद्वयले राजनीतिक संस्कारसँगै राष्ट्रिय समस्या पहिचान र समाधानका सूत्रसहितका मन्तव्यले कांग्रेस नेता, कार्यकर्ता र सिंगो देशका नागरिक पंक्तिमा नयाँ ऊर्जा सञ्चार गर्न सफल रहे । र पनि जारी महाधिवेशनबाट कांग्रेसले नीति मात्रै बदल्छ कि नेतृत्व पनि बदल्ने निर्णय लिन्छ ? अब आम चासो यसतर्फ मोडिएको छ । यदि नीतिसँगै नेतृत्व पनि बदल्ने दिशामा विशेष महाधिवेशन गयो भने सम्भवतः यसले पार्टी विभाजनतर्फ जानेछ । होइन पार्टीको नीति बदलेर नेतृत्व लगायतका सवालमा पार्टी केन्द्रीय समितिले स्वामित्व लिने गरी अघि बढ्यो भने मात्रै पनि काग्रेस एकता जोगिने मात्रै छैन, यसले सिंगो पार्टीलाई अग्रगामी दिशातर्फ उन्मुख गराउने छ ।

नेपाली कांग्रेसका लागि मंगलवारको दिन इतिहासकै कठिन अग्नी परीक्षाको दिन रहनेछ । शेरबहादुर देउवा सहित पार्टी संस्थापन पक्ष यतिका ठुलो बहुमत सदस्य सहभागी भइसक्दा समेत विशेष महाधिवेशन,यसले लिने निर्णय र कदमलाई नजर अन्दाज गर्छन् भने त्यो उनीहरु व्यक्तिका लागि त निकै महँगो पर्ने निश्चित छ नै, पार्टीका लागि पनि भारी पर्नेछ । अतः अहिले महामन्त्रीद्वय थापा र शर्माले जुन आँट र हिम्मतका साथ बदलिएको देशको नेतृत्व गर्न सक्ने बदलिएको कांग्रेस बनाउने उद्घोष गरेर मैदानमा उत्रिएका छन्, यो आफैमा पार्टी र देश रुपान्तरणको एक महत्वपूर्ण ऐतिहासिक कदम हो । यसले नेपाली राजनीतिमा व्याप्त पुरानाहरुको हालीमुहाली र जडताविरुद्ध महत्वपूर्ण क्रमभंगको आह्वान गरेको छ । साँच्चिकै यसको सफल कार्यान्वयन गर्न सक्दा नेपाली राजनीतिको परम्परागत बेथिति, बदनामीको दुरावस्था बदलेर देशलाई नयाँ दिशा दिन सकिनेछ । तर, यसका लागि कांग्रेस विभाजनमा गरेर होइन, एकताबाटै पुस्तान्तरण र रुपान्तरण गर्नेमा कांग्रेसका दुबै पक्ष सचेत र जिम्मेवार हुनुपर्छ ।