• २०८३ आश्विन २१, बुधबार
  • 2026 October 07, Wednesday

नेकपाका केन्द्रीय सदस्य बागलुङका राजिव घिमिरेले लिएनन् सपथ

बागलुङ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले २ हजार ४ सय ९९ सदस्यीय केन्द्रीय समितिका पदाधिकारी सदस्यहरुलाई मंगलवार सपथ गराएको छ । काठमाडौंमा उपलब्ध केन्द्रीय सदस्यहरुले औपचारिक कार्यक्रममा र प्रदेश तथा जिल्लामा रहेका केन्द्रीय सदस्यहरुले आ–आफ्नो प्रदेश र जिल्लामा भर्चुअल माध्यममार्फत सपथ ग्रहण गरेका हुन् ।

कात्तिक अन्तिम साता नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी सहितका दलहरुको एकतापछि २० वटा दलहरु एकीकृत भएको नेकपाले जनाएको छ । एकीकृत पार्टीका २ हजार ४ सय ९९ जना सदस्यीय कमिटिले सपथ ग्रहण गरिरहदा बागलुङबाट केन्द्रीय सदस्य चयन भएका राजिव घिमिरेले सपथ लिनु भएको छैन । केन्द्रीय सदस्य छनोटको मापदण्ड, आधार केही नदेखिएको, ठुलो संख्यामा केन्द्रीय सदस्य बनाउने कुरामा पनि घिमिरेको विमती देखियो ।

नेपाली कम्युनिष्ट पार्टीको विचार, सिद्धान्त, कार्यक्रम सबै जनपक्षीय छ, जनताको आशा भरोसाको पार्टी पनि नेकपा नै हो, तर सांगठनिक संरचनालाई व्यवस्थित गराउन सकिएन, नेकपाको केन्द्रीय सदस्यमा सपथ नलिएका राजिव घिमिरेले भन्नुभयो,–‘केन्द्रीय सदस्यको सपथ लिएको छैन, म जिल्लामै बसेर पार्टीको राजनीतिमा सक्रिय हुन्छु ।’ नेकपा जस्तो पार्टीको केन्द्रीय सदस्य हुने कुरा गौरवको विषय हो, केन्द्रीय सदस्य बनाउने विषयमा व्यक्तिको राजनीतिमा योगदान, संगठन निर्माणमा योगदान, सक्रियता, निरन्तरता, क्रियाशिलता लगायत आम जनतामा नेताको प्रभावका बारेमा पनि ध्यान पुगेन भन्ने मेरो ठम्याइछ, घिमिरेले भन्नुभयो । बिना मापदण्ड, बिना आधार, बिना मूल्यांकन व्यक्तिको माग र मानका लागि भागवण्डामा गरिने संगठनात्मक प्रणालीले पार्टी र आन्दोलनलाई फाइदा गर्दैन, राजनीतिमा विचार अनुरुपको संगठन भएन भने कमिटि ठुलो हुदैमा लक्ष्य भेट्न नसकिने घिमिरेको भनाइ छ ।

पार्टी एकीकरण हुनु राम्रो कुरा हो, तर पार्टीका कमिटिहरु निर्माण गर्ने विषयमा नेतृत्वको ध्यान जानेछ भन्ने अपेक्षा आफुले गरेको भन्दै घिमिरेले जिल्लामै रहेर पार्टी संगठनमा सक्रिय रहने बताउनु भएको छ । २ हजार ४ सय ९९ जनाको केन्द्रीय समिति निर्माण गर्ने नेकपाको निर्णयप्रति सामाजिक सञ्जालमा समेत आलोचना भएको छ । २० वटा पार्टी मिलाएका कारण सबै पार्टीको केन्द्रीय समितिलाई एकीकृत गर्दा संख्या ठुलो भएको नेकपाका नेताहरुले दावी गरेका छन् । एकीकृत भएका पार्टीहरुको जनमतको अवस्था हेर्दा त्यति ठुलो संख्यामा केन्द्रीय समिति निर्माण गर्ने कुराले जनतामा आशा जगाउन नसक्ने नेकपाकै कार्यकर्ताहरु बताउछन् ।

बागलुङ साविकको नेकपा माओवादी केन्द्रको केन्द्रीय नेतृत्वमा प्रभाव पार्ने जिल्ला मध्ये पर्दछ । यहाँबाट साविकको माओवादी पार्टीमा ३ जना केन्द्रीय सचिव सहित ठुलो संख्यामा केन्द्रीय सदस्यहरु रहेका थिए । २० वटा पार्टी एकीकरण पछि बागलुङले २१ जना केन्द्रीय सदस्य पाएको छ । नेकपाको केन्द्रीय सदस्यमा नेताहरु दिनानाथ शर्मा, देवेन्द्र पौडेल, चिरन पुन, बलावती शर्मा, कृष्ण बहादुर केसी, चन्द्र बहादुर बुढा (सागर), फमलाल निउरे, ज्ञामनाथ गैरे (अनिल), राजिव घिमिरे, धन बहादुर वि.क.(हिमाल), निरमाया श्रीस, निल बहादुर पुन, नहेन्द्र खड्का, कृष्ण सापकोटा, कमल घिमिरे, सीता शर्मा, पिंगलराज गौतम, होमनाथ सापकोटा, बाबुकाजी केसी, एक बहादुर केसी र ज्ञानु थापा रहेको नेकपाले जनाएको छ ।

बागलुङका हितमान शाक्य, अमृता थापा, हिमाल शर्मा लगायत अन्य भुगोलमा कार्यरत नेताहरु पनि केन्द्रीय सदस्य भएको नेकपा बागलुङका संयोजक प्रकाश घर्तिले जानकारी दिनुभयो ।