• २०८३ आश्विन २१, बुधबार
  • 2026 October 07, Wednesday

मानवसेवा भन्दा ठुलो कुनै धर्म छैन् : कुशुम बुढा

बागलुङ । गण्डकी प्रदेशसभा सदस्य कुशुम बुढाले मानवसेवा भन्दा ठुलो कुनै सेवा नभएको बताउनु भएको छ ।

मानवसेवा आश्रम बागलुङले आयोजना गरेको आयोजित प्रगति प्रतिवेदन सार्वजनिकीकरण एवं सामाजिक लेखा परीक्षण कार्यक्रममा बोल्दै उहाँले मानवसेवा आश्रमका अभियान्ताहरुले गरेको सेवा भन्दा ठुलो धर्म अरु नभएको बताउनु भएको थियो ।

सरकारले गर्नुपर्ने काम केही मावताप्रेमीहरुले गरिरहेको भन्दै उहाँले सरकारको तर्फबाट सबै प्रकारको सहयोग रहने प्रतिवद्धता समेत व्यक्त गर्नु भयो । सडकमानवको उद्दार, परिवारसँगको मिलन र बालबालिकाको संरक्षण, पालनपोषण, शिक्षादिक्षामा मावसेवा आश्रमले गर्दै आएको कार्यमा गण्डकी प्रदेश सरकारको सधै सहयोग रहने बताउनु भएको थियो ।

हेटाँैडामा केन्द्रीय कार्यालय रहेको मानवसेवा आश्रमको ९ वर्ष पहिले बागलुङमा शाखा स्थापना भएको थियो । स्थापना भएपछि हालसम्म मानवसेवा आश्रम बागलुङले दुई सय २६ जना सहयोगापेक्षी सडकआश्रित मानवहरुको उद्धार गरेको छ ।

आश्रमका संयोजक विपना तामाङका अनुसार उद्धार गरिएकामध्ये ४८ जनाको पारिवारिक पुनर्मिलन भएको छ । ३२ जनाले आश्रममै ज्यान गुमाएको र एक सय जनाले स्वेच्छाले आश्रम छाडेको उहाँले बताउनुु भयो । यस्तै चार जनाको सामुदायिक पुनःस्थापना र २१ ज्नाको पुनः उद्धार गरिएको संयोजक तामाङले जानकारी दिनुभयो ।

गत आव २०८१÷०८२ मा २७ जनालाई उद्धार गरिएको थियो । तीमध्ये १८ जनाको पारिवारिक पुनर्मिलन भएको जनाइएको छ । सात जनाको आश्रममै मृत्यु भएको थियो । पाँच जनाले स्वेच्छाले आश्रम छाडेका थिए । हाल आश्रममा ६४ जनाले आश्रय लिइरहेको संयोजक तामाङले बताउनु भयो । जसमा सबैभन्दा बढी ६० वर्षभन्दा माथिका २५ जना छन् । १८ वर्ष मुनिका सात जना, १८ देखि ४० वर्षसम्मका १५ जना र ४१ देखि ६० वर्षसम्मका १७ जनाले आश्रित रहेका छन् ।

आश्रममा शारीरिक अपाङ्गता भएका, पूर्ण अशक्त, भाषिक अपाङ्गता भएका, पक्षघात भएका बिरामी, कुपोषित, श्रवण शक्ति कमजोर भएका र दृष्टिविहीनहरु रहेका छन् । विसं २०७३ चैतम स्थापनामा भएको यस आश्रमले आश्रित मानवहरुलाई स्वास्थ्य सेवा पनि प्रदान गर्दै आएको छ । पाँच जना बालबालिकालाई निःशुल्क रुपमा पठनपाठनको व्यवस्था मिलाइएको आश्रमले जनाएको छ ।

बागलुङ नगरपालिका–४ निरयघाटमा निर्माणाधीन आश्रम भवनलाई चाँडो पूर्णता दिई बढीमा दुई जनासम्मलाई सेवा दिने उद्देश्य रहेको आश्रमका अभिभावक एवं भवन निर्माण समितिका अध्यक्ष निर्मल श्रेष्ठले बताउनु भयो । कार्यक्रममा गत आवको लेखा परीक्षण प्रतिवेदनसमेत प्रस्तुत गरिएको थियो । सेवा योगदानतर्फ रु. ८७ लाख ७१ हजार चार सय ६९ आम्दानी र रु. ६९ लाख ६६ हजार चार सय ४९ खर्च भएको जनाइएको छ ।

पूँजीगत आम्दानी ६६ लाख ७७ हजार तीन सय १६ र पूँजीगत खर्च ८९ लाख ९० हजार आठ सय ५५ भएको लेखा परीक्षण प्रतिवेदनमा उल्लेख छ । यस्तै अक्षयकोषमा २१ लख ३९ हजार एक सय ६८ रहेको जनाइएको छ । ‘सडकआश्रित मानवरहित नेपाल’ घोषणाको लक्ष्यसहित देशका विभिन्न जिल्लामा मानवसेवा आश्रम सञ्चालनमा रहेका छन् । आश्रमले बेसहारा, अशक्त, अभिभावकविहीन, मानसिक तथा शारीरिक रुपमा कमजोर, सडकआश्रित मानवहरुको व्यवस्थापन, औषधोपचार र पालनपोषण गर्दै आएको छ ।

कार्यक्रममा बागलुङ नगरपालिकाका उपप्रमुख राजु खड्का, जिल्ला प्रशासन कार्यालय बागलुङका प्रमुख प्रशासकीय अधिकृत खिम विश्वकर्मा, बागलुङ नगरपालिकाका पूर्व मेयर जनकराज पौडेल, बागलुङ कालिका भगवती गुठी व्यवस्थापन समितिका अध्यक्ष कुमार खड्का, महायज्ञ मुल समितिका संयोजक सहदेव राजभण्डारी र नेपाल पत्रकार महासंघ बागलुङका उपाध्यक्ष सिर्जना पन्त लगाएतले मन्तव्य व्यक्त गर्नु भएको थियो ।

कार्यक्रम मानवसेवा आश्रम बागलुङका अभिभावक निर्मल श्रेष्ठको अध्यक्षता, युक्तप्रसाद सुवेदीको स्वागत तथा सरिता गौतमको सञ्चालनमा सम्पन्न भएको थियो ।