बागलुङ । राष्ट्रपति रामचन्द्र पौडेलले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई सफल पार्न अपिल गर्नु भएको छ ।
बागलुङको बलेवा स्थित त्रिभुवन माध्यमिक विद्यालयको हीरक महोत्सवलाई सम्बोधन गर्दै पौडेलले परिवर्तित सन्दर्भमा नवपुस्ता मात्र नभएर सबै नेपालीको चाहना अनुसार सुरक्षित भविष्यका लागि मुलुकलाई निकास दिन निर्वाचनलाई सफल पार्नु पर्ने बताउनु भएको हो ।
राष्ट्रपति पौडेलले शान्ति, सुशासन, विकास र समृद्धिको आकाङ्क्षा पूरा गर्नुपर्ने दायित्वका लागि यो निर्वाचनलाई सफल पार्नुपर्ने बताउनु भएको हो । संघर्षबाट प्राप्त गरेको बलिदान, संविधान र संघीय लोकतान्त्रिक गणतान्त्रिक शासन प्रणालीको सुव्यवस्था गर्दै जनताले शासनमा बसेकाहरुबाट दिगो शान्ति, सुशासन, विकास र समृद्धिको आकाङ्क्षा पूरा गर्नु पर्ने दायित्वको जनताले अपेक्षा गरेको बताउनु भयो ।
जनताको हित र सेवालाई केन्द्रमा राखेर सुशासनको माध्यमबाट भ्रष्टाचार, ढिलासुस्ती, विकृति र विसङ्गतिको अन्त्य गरी विकासको गतिलाई तिव्रता दिनु आजको आवश्यकता रहेको उहाँको भनाई थियो । उहाँले परिर्वतन नवपुस्ताको मात्र चाहाना नभएको भन्दै आम नेपालीको सुरक्षित भविष्यका लागि मुलुकलाई निकास दिने अहिलेको सर्वोत्तम उपाय निर्वाचननै भएको बताउनु भएको थियो ।
राष्ट्रपति पौडेलले सुन्दर र सुरम्य धौलागिरिको पवित्र भूमिबाट निर्वाचन सम्पन्न गर्न सबै नेपालीमा आफ्नो आव्हन रहेको बताउनु भयो ।
राष्ट्रपति पौडेलले मुलुकलाई राजनीतिको दुष्चक्रमा पर्न नदिन आपसी समझदारी, समवन्य र सहकार्यबाटै निर्वाचनको यस महायज्ञलाई सफल पार्न आग्रह पनि गर्नु भयो ।
‘शिक्षा र रोजगारीका लागि युवाहरू विदेश पलायन हुने समस्याले आज हामी सबैलाई चिन्तित तुल्याएको छ’, उहाँले भन्नुभयो, ‘शिक्षामा लगानी बढाएर शिक्षा र रोजगारीको लागि विदेशीने चिन्ताजनक अवस्थाको अन्त्य गर्न स्वदेशमै रोजगारी, उत्पादन र उद्यमशीलताका नविनतम आयामहरूको विकास र विस्तारमा जोड दिनु आज हामी सबैको मुख्य दायित्व हो ।’
राष्ट्रपति पौडेलले बदलिँदो विश्वमा गुणस्तरीय, प्रविधिमैत्री र मूल्यमा आधारित शिक्षाको आवश्यकता बढ्दै गएको उल्लेख गर्दै विद्यालयहरूले ज्ञानसँगै नैतिकता, सीपसँगै संस्कार र शिक्षासँगै राष्ट्रप्रेम विकास गर्दै आगामी दिनमा पनि उत्कृष्ट शैक्षिक पहिचान कायम राख्न अझ उन्नत ढङ्गले युगानुकुल शैक्षिक क्रियाकलापका नविनतम आयामहरूलाई अघि बढाउन ध्यान दिनु पर्ने बताउनु भयो ।
उहाँले राष्ट्रको भविष्य र राष्ट्र नवनिर्माणको मूख्य आधारशीलानै शिक्षा भएको र यसलाई सरकारले सधैँ प्राथमिकता दिनु पर्ने उल्लेख गर्दै भन्नु भयो, “ देश विकासको लागि कृषिलाई आधुनिकिकीकरण, व्यावसायीकरण र औधोगिकीकरण गर्ने खालको शिक्षा नै अहिलेको आवश्यकता हो । नवप्रवर्तन, अनुसन्धान र व्यावसायिक क्रियाकलापमार्फत शिक्षालाई उद्यमशीलतासँग जोड्दै जीवनोपयोगी बनाउनु पर्दछ भन्ने म ठान्दछु ।”
राष्ट्रपति पौडेलले जहाँनीया राणा शासन विरुद्ध परिवर्तनको दियो बालेर चेतना जागृत गर्ने तिव्र आकाङ्क्षा र हुटहुटी भएका अग्रजहरूको अग्रसरताबाट स्थापना भएको जिल्लाकै दोस्रो पुरानो उक्त विद्यालयले नेपालको शैक्षिक इतिहासमा आज आफ्नो गौरवमय इतिहास निर्माण गर्न सफल भएकोमा खुसी व्यक्त गर्दै पुरातनवादी सोच र अन्धकारबाट उज्यालोतर्फ नेपाली समाजलाई अघि बढाउने हाम्रा ती अग्रजहरूको सत्कार्य स्तुत्य रहेको उल्लेख गर्नु भयो ।
