• २०८३ कार्तिक ७, शुक्रबार
  • 2026 October 23, Friday

नेकपाका नेता पौडल : बागलुङबाट सिफारिस, नवलपरासीमा उम्मेदवार

बागलुङ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा नवलपरासी क्षेत्र नं. २ मा बागलुङका नेता देवेन्द्र पौडेललाई उमेदवार बनाउने भएको छ । नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले शनिवार पौडेललाई नवलपरासी क्षेत्र नं. २ का लागि टिकट दिएको नेकपाका नेता राजिव घिमिरेले जानकारी दिनुभयो ।

नेकपा माओवादी केन्द्र, नेकपा एस लगायतका करिव २ दर्जन पार्टी मिलेर बनेको नेकपाबाट पूर्व माओवादी नेता पौडेल नवलपरासीबाट उमेदवार बन्न लागेको घिमिरेले बताउनुभयो । २०७४ र २०७९ मा बागलुङ क्षेत्र नं. २ मा निर्वाचित पौडेल पछिल्लो पटक शिक्षा मन्त्री समेत बन्नु भएको थियो । २०७४ मा बामपन्थी गठबन्धन र २०७९ मा बाम प्रजातान्त्रिक गठबन्धनबाट उमेदवार बनेर विजयी भएका पौडेल फागुन २१ गते हुने निर्वाचनमा एकल पार्टीका तर्फबाट उमेदवार बन्न लाग्नु भएको हो । पार्टीले नवलपसारी क्षेत्र नं. २ मा उमेदवार बन्न आग्रह गरेपछि आफु तयार भएको उहाँले जानकारी दिनुभएको छ ।

नेकपा बागलुङले पौडेललाई बागलुङ क्षेत्र नं. १ बाट पहिलो नम्बरमा सिफारिस गरेको थियो । बागलुङका २ वटा निर्वाचन क्षेत्रका उमेदवारहरुको बारेमा आइतवार निर्णय हुने नेता घिमिरेले जानकारी दिनुभयो । बागलुङ क्षेत्र नं. १ मा केन्द्रीय सदस्य कृष्ण बहादुर केसी र क्षेत्र नं. २ मा केन्द्रीय सदस्य ज्ञामनाथ गैरे अनिलको संभावना रहेको नेकपा स्रोतले जनाएको छ ।

चुनावी एकता वा बाम ताममेल गर्दा क्षेत्र नं. १ मा अन्य पार्टीलाई छोडेर क्षेत्र नं. २ मा माओवादीका उमेदवार कायम गर्ने गरी समेत छलफल भइरहेको एक केन्द्रीय सदस्यले जानकारी दिए । एमालेसंग तालमेल गर्ने पहिलो प्रयास छ, भएन भने राष्ट्रिय जनमोर्चालाई क्षेत्र नं. १ दिएर नेकपाले २ नम्बरमा साथ खोजेको ति केन्द्रीय सदस्यको भनाइ छ ।