• २०८३ कार्तिक ७, शुक्रबार
  • 2026 October 23, Friday

नेकपाबाट पश्चिम बागलुङमा अनिल उम्मेदवार

बागलुङ | नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि बागलुङ क्षेत्र नं. २ बाट केन्द्रीय सदस्य ज्ञामनाथ गैरे (अनिल) लाई उमेदवार बनाउने निर्णय गरेको छ ।

जिल्लाबाट सिफारिस भएका मध्ये एक नम्बरमा रहेका अनिललाई केन्द्रले उमेदवार बनाउने निर्णय गरेको नेकपाले जनाएको छ ।

सिफारिस भएसंगै नेकपाका कार्यकर्ताहरुले अनिललाई उमेदवारका रुपमा प्रचार गरेका थिए । विद्यार्थीकालदेखि नै राजनीतिमा सक्रिय गैरे सशस्त्र द्वन्द्वकालमा जिल्ला सेक्रेटरी लगायत विभिन्न पदमा रहेर काम गर्नु भएको थियो ।

संगठन निर्माणमा सक्रिय गैरेलाई उमेदवारी दिएर पार्टीले यसपटक न्याय गरेको नेकपाका कार्यकर्ताहरु बताउछन् ।
बागलुङ क्षेत्र नं. २ मा यस भन्दा पहिला २ पटक हालको नेकपा, तत्कालिन नेकपा माओवादी केन्द्रका उमेदवार देवेन्द्र पौडेल विजयी हुनु भएको थियो । २०७४ मा बामपन्थी गठबन्धन र २०७९ मा बाम प्रजातान्त्रिक गठबन्धनबाट पौडेल विजयी हुनु भएको थियो । पौडेललाई नेकपाले नवलपरासी क्षेत्र नं. २ मा उमेदवार बनाउने निर्णय गरेको छ ।

बागलुङ क्षेत्र नं. १ को उमेदवारका लागि अझै छलफल चलिरहेको नेकपा नेता राजिव घिमिरेले जानकारी दिनुभयो ।
केन्द्रीय सदस्य कृष्ण बहादुर केसीको संभावना रहेको नेकपा स्रोतले जनाएको छ ।

चुनावी एकता वा बाम ताममेल गर्दा क्षेत्र नं. १ मा अन्य पार्टीलाई छोडेर क्षेत्र नं. २ मा माओवादीका उमेदवार कायम गर्ने गरी समेत छलफल भइरहेको एक केन्द्रीय सदस्यले जानकारी दिए ।

एमालेसंग तालमेल गर्ने पहिलो प्रयास छ, भएन भने राष्ट्रिय जनमोर्चालाई क्षेत्र नं. १ दिएर नेकपाले २ नम्बरमा साथ खोजेको ति केन्द्रीय सदस्यको भनाइ छ ।