• २०८३ कार्तिक ७, शुक्रबार
  • 2026 October 23, Friday

नेकपामा बलावती र रास्वपामा प्रकाश सपुत सहित समानुपातिकमा बागलुङका ४० जना

 

बागलुङ । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीतर्फ दलहरुले पेश गरेको उम्मेदवारहरुको बन्दसूची आइतवार सार्वजनिक गरेको छ । बन्दसूचीमा नाम समावेश भएका उम्मेदवारहरुको योग्यता सम्बन्धमा दावी विरोध गर्न चाहने मतदाताहरुले माघ ५ देखि १० गते दिउसो ४ बजेसम्म उजुरी गर्न सकिने निर्वाचन आयोगले जनाएको छ । निर्वाचन आयोगले सार्वजनिक गरेको बन्दसूचिमा बागलुङमा विभिन्न १३ वटा दलबाट ४० जनाको नाम समावेश भएको छ । सबै भन्दा बढी राष्ट्रिय जनमोर्चाले बागलुङबाट १७ जनाको नाम बन्दसूचिमा समावेश गरेको छ । जिल्लाका प्रमुख दल मध्येको नेकपा एमालेबाट एक जनाको पनि नाम समावेश भएको छैन, नेपाली कांग्रेसले ३ जना, नेकपाले ३ जना, रास्वपाले २ जनालाई समानुपातिकको बन्दसूचिमा समावेश गरेका छन् ।

नेपाली कम्युनिष्ट पार्टी (नेकपा) को खस आर्यतर्फ पहिलो नम्बरमा केन्द्रीय सदस्य बलावती शर्मा पर्नु भएको छ । यस्तै आदीवासी जनजाती पुरुषतर्फ तेस्रो नम्बरमा चेत बहादुर पुन (चिरन) र खसआर्य तर्फको सातौ नम्बरमा केन्द्रीय सदस्य नहेन्द्र खड्कालाई नेकपाले बन्दसूचीमा समावेश गरेको छ । राष्ट्रिय स्वतन्त्र पार्टीले चर्चित गायक, नायक तथा पत्रकार प्रकाश वि.क.(सपुत) लाई दलित पुरुषतर्फको दोस्रो नम्बरमा र गंगा छन्त्याललाई आदीवासी जनजाती महिलाको दोस्रो नम्बरमा समावेश गरेको छ । नेपाली कांग्रेसले रेनुका काउचालाई आदीवासी जनजाती महिलाको चौथो नम्बरमा, सकुन्तला शर्मालाई खस आर्य महिलातर्फ नवौ र पार्वती आचार्यलाई एक्कासौ नम्बरमा समावेश गरेको छ ।

यस्तै नेकपा (माओवादी) ले पार्वती घर्तिलाई आदीवासी जनजाती महिलाको एघारौ नम्बरमा र महेन्द्र कुमार विश्वकर्मालाई दलित पुरुषको छैठौ नम्बरमा समावेश गरेको छ । प्रगतिशिल लोकतान्त्रिक पार्टी (प्रलोपा) को खस आर्य पुरुषतर्फ दलसिंह खत्री पहिलो नम्बरमा, आदीवासी जनजाती पुरुषतर्फ नर बहादुर पुन सातौ नम्बरमा र दलित महिलातर्फ शान्ति विक दोस्रो नम्बरमा समावेश हुनु भएको छ । राष्ट्रिय जनमोर्चाका केन्द्रीय अध्यक्ष तथा बागलुङ क्षेत्र नम्बर १ का निवर्तमान सांसद चित्र बहादुर केसी राजमोबाट खसआर्य पुरुषको पहिलो नम्बरमा रहनु भएको छ । उहाँको ठेगाना रुपन्देही उल्लेख छ ।

राजमोले बागलुङबाट अन्य १७ जनालाई समानुपातिकको बन्दसूचिमा समावेश गरेको छ । आदीवासी जनजाती महिलातर्फ पहिलो नम्बरमा मिना पुन, तेस्रोमा पुनिकला बुढा, छैठौमा किउमाया पुन, नवौमा पूर्णकली थापा, आदीवासी जनजाती पुरुषतर्फ तेस्रोमा चित्र थापा, छैठौमा कुल बहादुर थापा, आठौमा तारा बहादुर सोमरे मगर, नवौमा डिल बहादुर श्रीस, तेह्रौमा भक्तमान बुढाथोकी, पन्ध्रौमा श्रीजयन्द्र पुन समावेश हुनु भएको छ । यस्तै खसआर्य महिलातर्फ दोस्रोमा लिलादेवी शर्मा, चौथोमा लक्ष्मी केसी, चौधौमा लिला कुमारी पौडेल, खस आर्य पुरुषतर्फ छैठौमा प्रेम प्रसाद पौडेल, सातौमा राजेन्द्र ढुंगाना, आठौमा बेदीलाल सापकोटा तथा दलिततर्फ दोस्रोमा नर बहादुर सुनार समावेश भएको निर्वाचन आयोगले जनाएको छ ।

बागलुङबाट नेपाल मजदुर किसान पार्टीले आदीवासी जनजाती पुरुषतर्फ चौथो नम्बरमा दल बहादुर थापा, नेपाल जनुमुक्ति पार्टीले आदीवासी जनजाती महिलातर्फ पहिलो नम्बरमा कमला थापा, मंगोल नेशनल अर्गनाइजेसनले दलिततर्फ दोस्रो नम्बरमा करणसिंह नेपाली, राष्ट्रिय एकता दलले खस आर्यतर्फ पहिलो नम्बरमा कृृष्ण प्रसाद कंडेल, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले आदीवासी जनजाती पुरुषतर्फ चौथो नम्बरमा दल बहादुर थापा, सातौमा श्याम बहादुर पुन, आदीवासी जनजाती महिलातर्फ तेस्रो नम्बरमा पवि पुनलाई समावेश गरेको छ । यस्तै राष्ट्र निर्माण दलले खसआर्य महिलातर्फ प्रगति थापालाई दोस्रो नम्बरमा, एकल चुनाव चिन्ह बसले दलित महिलातर्फ दोस्रो नम्बरमा लक्ष्मीदेवी गहतराज र एकल चुनाव चिन्ह –जाँतो) ले आदीवासी जनजाती पुरुषतर्फ अनुप बुढा मगरलाई दशौ नम्बरमा र महेन्द्र जिसीलाई खसआर्य पुरुषतर्फ चौथो नम्बरमा समावेश गरेको निर्वाचन आयोगले जारी गरेको सार्वजनिक सुचनामा उल्लेख छ ।