• २०८३ आश्विन २६, सोमबार
  • 2026 October 12, Monday

बागलुङ–१ निर्वाचन : पूर्व स्ववियू सभापतिद्वय केसी र श्रीस चुनावी मैदानमा

  • २०८२ माघ ६, मंगलवार

बागलुङ । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि आज १ सय ६५ वटै निर्वाचन क्षेत्रमा उम्मेदवारी दर्ता हुदैछ । राजनीतिक दल र स्वतन्त्र उम्मेदवारहरुले आज निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दर्ता गर्ने कार्यक्रम रहेको छ । प्रमुख राजनीतिक दलहरुले १ सय ६५ वटै निर्वाचन क्षेत्रमा उम्मेदवार चयन गरेका छन् ।

कतिपय दलहरुले चुनावी तालमेल गरेका छन् । कतिपयले केही निर्वाचन क्षेत्रमा मात्र उम्मेदवारी दर्ता गर्दैछन् । स्वतन्त्र रुपमा पनि उम्मेदवारी दर्ता हुन्छ । पछिल्लो समय स्वतन्त्र उम्मेदवारी दर्ता गर्ने क्रम बढेको छ । बागलुङका दुवै निर्वाचन क्षेत्रमा आज १० बजेदेखि नै उम्मेदवारी दर्ता प्रक्रिया शुरु हुदैछ । क्षेत्र नम्बर १ को जिल्ला समन्वय समिति बागलुङको कार्यालयमा मुख्य निर्वाचन अधिकृतको कार्यालय र क्षेत्र नं. २ को बुर्तिबाङ बजारमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । निर्वाचन अन्तरगत बागलुङ क्षेत्र नं. १ मा नेपाली कांग्रेसले विद्यार्थी राजनीतिबाट उदाएका त्रिभुवन विश्वविद्याल काठमाडौका पूर्व स्ववियू सभापति भीम श्रीसलाई उमेदवार बनाएको छ । जिल्लाको राजनीतिमा कम देखिने श्रीस काठमाडौंमा बसेर राजनीतिमा क्रियाशिल रहदै आउनु भएको छ । जैमिनी नगरपालिका वडा नं. १० राङखानी निवासी श्रीस हालै सम्पन्न नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट केन्द्रीय सदस्य निर्वाचित हुनुभएको हो । त्यस्तै नेकपा एमालेले धौलागिरी बहुमुखी क्याम्पस बागलुङका पूर्व स्ववियू सभापति हिरा बहादुर केसीलाई उमेदवार बनाएको छ । काठेखोला गाउँपालिका वडा नं. ३ धम्जा निवासी केसी बागलुङमै बसेर लामो समयदेखि राजनीति गर्दै आउनु भएको छ ।

विद्यार्थी संगठनको केन्द्रीय जिल्ला, अञ्चल हुदै केन्द्रीय कोषाध्यक्ष, युवा संघको केन्द्रीय उपाध्यक्ष, पार्टीको जिल्ला कमिटि सदस्य, उपाध्यक्ष हुदै २ कार्यकाल अध्यक्ष भएका केसी २०७० को दोेस्रो संधिवानसभा र २०७९ को गण्डकी प्रदेशसभा सदस्यमा एमालेका तर्फबाट उम्मेदवार रही सक्नु भएको छ । संविधानसभा सदस्यमा नेपाली कांग्रेसका हरि बहादुर खड्का र प्रदेशसभामा नेपाली कांग्रेसकै दिपेन्द्र बहादुर थापा मगरसंगको प्रतिस्पर्धामा पराजित केसी ते्रसो पटक चुनावी मैदानमा होमिनु भएको छ । बागलुङमा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) र राष्ट्रिय जनमोर्चाबीच चुनावी तालमेल भएको छ । चुनावी तालमेल अनुसार बागलुङ क्षेत्र नं. १ मा राजमोका पूर्व केन्द्रीय सचिव कृष्ण अधिकारीलाई साझा उम्मेदवार बनाउने दुइ दलले निर्णय गरेका छन् । बागलुङ नगरपालिका वडा नं. १२ अमलाचौर निवासी अधिकारी नेकपा मसाल र त्यसको मोर्चा संगठन राष्ट्रिय जनमोर्चाको विभिन्न जिम्मेवारीमा रहेर राजनीतिक गतिविधिमा सक्रिय हुनुहुन्छ ।

पछिल्लो समय संगठन विस्तार अभियानलाई सक्रिय बनाएको राष्ट्रिय स्वतन्त्र पार्टीले अमेरिकाबाट अर्थशास्त्रमा स्नातकोत्तर गरेर फर्किएका युवा सुशिल खड्कालाई उमेदवार बनाएको छ । बागलुङ नगरपालिका वडा नं. ३ गुठी निवासी खड्का राजनीतिमा नयाँ अनुहारका रुपमा प्रतिस्पर्धामा उत्रदै हुनुहुन्छ । रास्वपामा उमेदवार छनोटका विषयमा असहमति राख्दै उम्मेदवार सिफारिस भएका रास्वपा जैमिनी नगरपालिकाका सभापति राजेन्द्र आचार्यले उज्यालो नेपाल पार्टीबाट उम्मेदवारी दिने तयारी गर्नु भएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीले बागलुङ क्षेत्र नं. १ ा कल्याण विक्रम आचार्य र क्षेत्र नं. २ मा अञ्चल शाहीलाई उम्मेदवार बनाएको छ । आचार्य राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनको प्रचार संयोजक र शाही गण्डकी प्रदेश समिति सदस्य रहनु भएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयले सोमबार सर्वपक्षीय वैठकमार्फत उम्मेदवारी दर्ता लगायतका विषयमा सहमति गरेको छ । बागलुङ क्षेत्र नं. १ मा बागलुङ नगरपालिका, जैमिनी नगरपालिका, काठेखोला गाउँपालिका र बरेङ गाउँपालिका पर्दछन् ।

४ पालिकाका ३७ वटा वडामा ९८ हजार ४६ मतदाता, ४८ वटा मतदान स्थल र १ सय १५ मतदान केन्द्र रहने जिल्ला निर्वाचन कार्यालय बागलुङका निर्वाचन अधिकारी यज्ञ प्रसाद रिजालले जानकारी दिनुभयो । यस्तै क्षेत्र नं. २ मा ६ वटा पालिकामा ९५ हजार ३३५ मतदाता, १ सय १५ मतदान केन्द्र रहने रिजालले बताउनुभयो । क्षेत्र नं. २ को निर्वाचन अधिकृत भीम प्रसाद सुवेदी रहनु भएको छ । ढोरपाटन नगरपालिकाको बुर्तिबाङ बजारमा क्षेत्र नं. २ को निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ ।

  • २०८२ माघ ६, मंगलवार