• २०८३ आश्विन २६, सोमबार
  • 2026 October 12, Monday

सम्पादकीय : जनताको इजलासमा उम्मेदवार

  • २०८२ माघ ८, बिहीबार

बुधवार राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट नुवाकोट प्रतिनिधि सभा क्षेत्र नम्बर २ बाट उम्मेदवार बनेका अच्युतम लामिछानेको एक भिडियो भाइरल भएको छ । जहाँ लामिछानेले एक स्थानीयलाई देख्दा साथ खुट्टा ढोगेका छन् । जुन भिडियोलाई विपक्षी दल र नेता, कार्यकर्ताले ट्रोल र आलोचना गरिरहेका छन् भने रास्वपा समर्थकले भने सम्मान भन्दै रक्षात्मक प्रतिक्रिया दिइरहेका छन् । यस भिडियो र पात्र प्रवृत्तिका विषयमा त फरक फरक कोणबाट छलफल,बहस, समीक्षा गर्न सकिन्छ । तर, यो घटना र भिडियोले के संकेत गर्छ भने यतिबेला जनता नै सर्वेसर्वा हुन् भन्ने कुरालाई पुर्नपुष्टि गरिदिएको छ । यतिबेला आगामी २१ फागुनको प्रतिनिधिसभातर्फको प्रत्यक्ष निर्वाचनका लागि मंगलबार एकै चरणमा देशभर शान्तिपूर्ण रूपमा उम्मेदवारी दर्ता गरेर अब जनताको घरदैलोमा नेता, कार्यकर्ता पुग्न थालेका छन् ।

गत भाद्रको जेनजी आन्दोलन पश्चात हुन लागेको अर्ली इलेक्सन अर्थात् प्रतिनिधि सभा निर्वाचन देशका १६५ वटै निर्वाचन क्षेत्रमा प्रतिस्पर्धा गर्न ६८ राजनीतिक दल र स्वतन्त्र उम्मेदवार चुनावी मैदानमा उत्रिएका छन् । निर्धारित समयमै निर्वाचन होला नहोला भन्ने अनेकन संशय बिच उम्मेदवारी दर्तामा उत्साहजनक सहभागिता देखिएको छ । निर्वाचन आयोगका अनुसार कुल ३,४८४ जना उम्मेदवारले मनोनयन दर्ता गराएका छन् । तीमध्ये ३,०८८ पुरुष, ३९५ महिला र एकजना अन्य छन् । राजनीतिक दलका तर्फबाट २,२९७ जना उम्मेदवार दर्ता हुँदा स्वतन्त्र उम्मेदवारको संख्या १,१८७ रहेको छ । यसलाई उम्मेदवारको उमेर समूहमा हेर्दा २५–३५ वर्ष उमेरका ५८३ (५१२ पुरुष, ६७ महिला, १ अन्य), ३५–५० वर्ष उमेर समूहका १,६१० (१,३७५ पुरुष, २३५ महिला), ५१–६५ वर्ष उमेर समूहका १,०९० (१,००० पुरुष, ९० महिला) र ६५ वर्षभन्दा माथिका २०१ जना (१९८ पुरुष, ३ महिला) छन् । यी सबै उम्मेदवार अब जनताको अभिमतका लागि आफ्ना निर्वाचन क्षेत्रका जनताका बिचमा पुग्नेछन् । आफ्ना नीति, एजेन्डा, भूमिकाका विषयमा कुरा राख्नेछन् । जनताले विगतमा खेलेको भूमिका र आगामी दिनमा संसद र सरकारमा सशक्त भूमिका खेल्न सक्ने उम्मेदवारलाई विवेक सम्मत हिसाबले छनोट गर्नेछन् ।

हुन त नेपालको दुर्भाग्य यो छ कि राजनीतिक दल र नेताहरु चुनावको बेला मात्र गाउँ र आफ्नो निर्वाचन क्षेत्र पुग्छन्, गाउँ टोल र घर घर पुगेर जनता भेट्छन् । त्यसबाहेक अरु समयमा उनीहरु राजधानी र शहरहरुमै केन्द्रित हुन्छन् । आफ्ना मतदाता जनता बिर्सिन्छन् । यस समय जनताको खुट्टा ढोग्न पनि तयार हुने, जेजे माग गरे पनि माग, शर्त मान्न मञ्जुर गर्ने तर निर्वाचनमा बिजयी भएर गए पछि जनताको बिचमा नाकमुखै नदेखाउने, जनताको दैननिदिन समस्या मागबाट भाग्ने पात्र र प्रवृत्तिले नागरिक आजित बन्नु परेको तितो यथार्थताका बिच चुनाव आएको छ । यस बेलामा राजनीतिक दल र नेताहरुलाई जवाफदेही, उत्तरदायी बनाउने, आफ्ना प्रश्न, मागहरु प्रष्टसँग राख्ने, जसले आजका दिनमा इमान, निष्ठा, दृढता, क्षमता देखाउँछ, त्यो कुनै लहड, लोकप्रियतावाद भन्दा पनि आजको समाज र देशको यथार्थताको धरातलमा उभिएर संसद र देशमा प्रभावकारी भूमिका खेल्न सामथ्र्य राख्छ, भोलिका लागि आशा र भरोसा प्रति विश्वस्त बनाउँछ, सोही उम्मेदवारलाई कुनै दबाब, प्रभाबबाट मुक्त भएर मतदान गर्न आवश्यक छ । निर्वाचन भनेको लोकतन्त्रको सुन्दरता हो । निर्वाचनमा एक दिन जाहेर गर्ने मतले आफुलाई नै ५ वर्ष शासन गर्ने अभिमत हो भन्ने हरेक मतदाताले हेक्का राख्न जरुरी छ ।

 

  • २०८२ माघ ८, बिहीबार