• २०८३ आश्विन २५, आईतवार
  • 2026 October 11, Sunday

हातहतियार तथा खरखजाना बुझाउन बागलुङ प्रशासनको निर्देशन

  • २०८२ माघ ९, शुक्रबार

बागलुङ । जिल्ला प्रशासन कार्यालय बागलुङले जिल्लाभित्र इजाजत प्राप्त हातहतियार तथा खरखजाना अनिवार्य रूपमा बुझाउन निर्देशन दिएको छ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष, भयरहित र शान्तिपूर्ण वातावरणमा सम्पन्न गराउने उद्देश्यले यस्तो निर्णय गरिएको हो ।

जिल्ला सुरक्षा समितिको माघ ८ गतेको निर्णयअनुसार जिल्लाभित्र विभिन्न व्यक्ति तथा समूहको नाममा रहेका सबै प्रकारका इजाजत प्राप्त हातहतियार र सोको खरखजाना बुझाउन सूचना जारी गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । सूचनाअनुसार हातहतियार बुझाउँदा सम्बन्धित प्रहरी कार्यालय वा प्रहरी इकाइमा अनिवार्य रूपमा बुझाउनुपर्नेछ । हातहतियार बुझाउने स्थान जिल्ला प्रहरी कार्यालय बागलुङ वा नजिकको प्रहरी इकाइ तोकिएको छ ।

हातहतियार तथा खरखजाना बुझाउने अन्तिम मिति माघ २० गतेसम्म तोकिएको छ । त्यस्तै, बुझाइएको हातहतियार चैत २० गतेपछि मात्र बुझाउने रसिद वा भरपाई पेश गरेपछि सम्बन्धित हातियारधनीलाई फिर्ता गरिने जनाइएको छ ।

प्रशासनले तोकिएको मितिभित्र हातहतियार तथा खरखजाना नबुझाएमा प्रचलित कानुन बमोजिम कारबाही गरिने चेतावनीसमेत दिएको छ । जिल्ला प्रशासन कार्यालय बागलुङका सहायक प्रमुख जिल्ला अधिकारी नवराज बरालले जारी गरेको सूचनामा शान्ति सुरक्षालाई मजबुत बनाउन सबैले सहयोग गर्न आग्रह गरिएको छ ।

  • २०८२ माघ ९, शुक्रबार