• २०८३ आश्विन १५, बिहीबार
  • 2026 October 01, Thursday

सार्वजनिक व्यक्तिहरुले ख्याल गरौ : जमाना सामाजिक सञ्जालको हो ?

  • २०८२ माघ १०, शनिबार

बागलुङ ।  फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि माघ ६ गते उम्मेदवारी दर्ताको दिन थियो । विभिन्न राजनीतिक दलहरुले उम्मेदवारी दर्ता गर्नेक्रममा बाजा गाजा र नाचगान सहित निर्वाचन अधिकृतको कार्यालय गएका थिए । यद्यपी निर्वाचन आयोगले त्यसरी बाजा गाजा सहितका गतिविधिबाट निर्वाचन आचार संहिता उल्लंघन हुन्छ भनेको छ । उजुरी परेपछि मात्रै एक्सन आउने आयोग भएकाले यस्ता विषय सामान्य नै छन्, फेरी सबै दलले त्यही प्रकारका गतिविधि गर्ने भएकाले उजुरवाजुर पनि गर्ने कुरा भएन ? यसै सन्दर्भमा बागलुङ क्षेत्र नं. १ अन्तरगत मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दर्ताका लागि जाने क्रममा नेकपा एमालेका केन्द्रीय सदस्य तथा गण्डकी प्रदेशसभाका सदस्य लिल बहादुर थापा मगर नेपाली कांग्रेसको जुलुशमा बजाइएको कांग्रेस जिताऔ भन्ने गितमा छमछमी नाचेको भिडियो यतिबेला सामाजिक सञ्जालमा भाइरल छ । नेपाली कांग्रेसका नेता कार्यकर्ताहरुको नाचगान सहितको जुलुुशमा कांग्रेसका नेताहरुले लिल बहादुर थापा मगरलाई बोलाए, नाच्न अनुरोध गरे, थापा सहजै नाचीदिनु भयो ।

कुरा यत्ति नै हो । तर एमाले नेता थापा कांग्रेसको जुलुशमा नाचेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि भने यसले तरंग ल्याएको छ । सामाजिक सञ्जालमा आएका सबै कुरा सत्य हुदैनन्, कतिपय विषयलाई अतिरञ्जित गराइन्छ भन्ने सन्देश यो भिडियोले दिएको छ । न एमाले नेता थापा कुनै गलत मनसाय राखेर वा कांग्रेसलाई साथ दिनका लागि नाच्नु भएको थियो, न नेपाली कांग्रेसका नेता कार्यकर्ताहरुले एमाले नेता थापा नाच्दैमा कांग्रेसलाई उल्कै फाइदा हुन्छ भन्ने सोचेका छन्, त्यहाँ त नाच्दै जाने क्रममा ‘लौ दाई नाच्नु प¥यो’ भनेर आग्रह गरेपछि थापा नाचिदिनु भएको मात्र हो । तर, नेपाली कांग्रेस बागलुङका सहसचिव ज्ञानु कुमारी छन्त्याल श्रीसले आफ्नो सामाजिक सञ्जालमा एमाले नेता थापा सहित नेपाली कांग्रेसका नेता कार्यकर्ता नाचेको भिडियो सार्वजनिक गरेपछि भिडियोको विषयलाई लिएर एमाले र कांग्रेस मात्रै होइन, अन्य राजनीतिक दलका नेता कार्यकर्ता, समर्थक, शुभेच्छुकहरु समेत चर्चा परिचर्चामा लागेका छन् । चुनावमा यस्ता साना तिना विषयले बढी प्राथमिकता पाउछन्, यो भिडियो देखाएर लौ हेर त, लिला थापा त भीम श्रीसको जुलुशमा नाचेछन्, यिनले भिम श्रीसलाई सहयोग गर्ने भए ? कतिपयले यस्ता कुरा गर्न थालेपछि विशेष गरी जैमिनीका एमाले कार्यकर्ताहरुले चासो राखेका छन् ।

भिडियोबाट एमालेलाई घाटा हुने र कांग्रेसलाई नाफा हुने भन्दा पनि सामाजिक सञ्जालमा आएका विषयवस्तुलाई आधार बनाएर धारणा बनाउने राजनीतिक दलका नेता कार्यकर्ता लगायत जनताका लागि यो एउटा सन्देश हो, एक एमाले कार्यकर्ताले टिप्पणी गरे । एमालेका केन्द्रीय सदस्य लिल बहादुर थापा कांग्रेसको जुलुशमा गएर नाचेको कुरा तत्कालिन अवस्थामा जति सामान्य थियो, जति सहज थियो, जति आत्मिय थियो, जति खुल्ला थियो, सामाजिक सञ्जालमार्फत जाने सन्देश भने त्यति नै असहज, शंकास्पद, अन्यौलपूर्ण र आशंका गर्न मिल्ने खालको छ, उनले भने । यतिबेला बागलुङ क्षेत्र नं. १ मा नेपाली कांग्रेसले जैमिनी नगरपालिका वडा नं. १० निवासी भीम श्रीसलाई उम्मेदवार बनाएको छ, श्रीसको पालिका र एमाले नेता थापाको पालिका जोडिएका छन्, एउटै भुगोलको नेताले उम्मेदवार पाएको हुनाले थापाले खुशी व्यक्त गरेको अर्थमा एकथरीले चर्चा गरेका छन् भने अर्का थरीले कतै एमालेका उमेदवारलाई असहयोग हुने त होइन ? आशंकापूर्ण नजरले हेरिरहेका छन् ।

एमालेले भुगोलको हिसावले क्षेत्र नं. १ को छेउको पालिका काठेखोला वडा नं. ३ निवासी हिरा बहादुर केसीलाई उम्मेदवार बनाएको छ । यद्यपी यो विषयमा स्वयं लिल बहादुर थापा, एमाले उम्मेदवार हिरा बहादुर केसी र कांग्रेस उम्मेदवार भीम श्रीस लगायत दुवै पार्टीको नेतृत्व स्पष्ट नै छ । न लिल बहादुर थापाले कांग्रेसलाई सहयोग गर्नु हुन्छ, न कांग्रेसले लिल बहादुर थापाबाट सहयोगको अपेक्षा राख्छ ? भुगोल मिलेको लगायतका कारण देखाएर एमाले नेता थापा खुशी भएको अर्थमा चर्चा हुर्न थालेपछि एमाले वृतमा कानेखुशी चल्न थालेको छ, ‘मन मिलेरै त होला ? भुगोल मिलेरै त होला ?’ यस्ता आवाजहरु कार्यकर्ताहरुले सार्वजनिक रुपमै व्यक्त गर्न थालेका छन् । अर्को पनि समस्या छ, आजभोली मानिसहरु सामाजिक सञ्जालमा आउने यस्तै खाले सामग्रीको भरमा पर्ने, त्यही सत्य हो भन्ने अवस्था बढ्दै गएको छ । भिडियो क्लिपमा सबै नआउने, छोटो आउने, जसलाई जे चाहिएको हो, त्यही मात्र राख्ने प्रवृति बढ्दै गएको छ । खासमा यो विषयले चुनावी अंक गणितमा कुनै फरक पार्दैन, कही कतै यसको प्रभाव हुदैन तर सामाजिक सञ्जालको प्रयोग र त्यसले पार्ने असरलाई भने यसले इंगित गरेको छ । सामाजिक सञ्जालमा आउने यस्ता धेरै भिडियो क्लिपहरुले यथार्थ भन्दा धेरै परको अवस्था सिर्जना गरिदिन्छन्, भन्ने कुराको संकेत यसले दिएको छ ।

थापाको पालिका बरेङ र कांग्रेसका उम्मेदार श्रीसको पालिका जैमिनीका वडाहरुमा भीम श्रीसको उम्मेदवारीले लिल बहादुर थापा खुशी भएको अर्थमा प्रचार गरिएको जैमिनीका एक एमाले कार्यकर्ताले बताए । उनले भने, टिकटकमा भिडियो देखाएर, देख्यौ, तिम्रा एमाले नेताले हाम्रो भीम श्रीसलाई कसरी स्वागत गरेका छन् ? भन्दै प्रचार भएको छ । उनले थपे, खासमा यो सामान्य विषय हो, तर गाउँमा बस्ने सोझा मतदातालाई अल्मलाउन यस्ता विषय सहयोगी हुने कुरामा नेताहरुले ध्यान दिनु पर्दछ । कांग्रेसको जुलुशमा मिसिएर नाचेर भाइरल हुनुभएछ, नि ? भन्ने प्रश्नमा लिल बहादुर थापाले भन्नुभयो, नाच्ने गाउँने, रमाइलो गर्ने कुरा जहाँ पनि हुन्छ, साथीहरुले नाच्न प¥यो भन्नुभयो, म नाचे, यत्ति हो । कांग्रेसका साथीहरु हाम्रो जुलुशमा पनि नाच्नु भयो, यस्ता कुराले तरंगित हुन नहुने उहाँको भनाइ छ । थापा कांग्रेसको जुलुशमा सहभागी भएर नाचेको विषयले चुनावी विषयलाई भन्दा सामाजिक सञ्जालमा आउने सबै कुरा सत्य हुदैनन्, पूर्ण रुपमा भर पर्ने, धारणा बनाउने र त्यसैका आधारमा आरोप प्रत्यारोप गर्ने, गाली गलौज गर्न हुदैन भन्ने कुरा यसले सन्देश दिएको छ ।

  • २०८२ माघ १०, शनिबार