• २०८३ आश्विन २०, मंगलवार
  • 2026 October 06, Tuesday

गण्डकीका थप ९ सहकारीको दर्ता खारेज : लेनदेन भए सञ्चालकसंग सम्पर्क राख्न आव्हान

  • २०८२ माघ १०, शनिबार
बागलुङ । सहकारी रजिष्ट्रारको कार्यालय गण्डकी प्रदेश पोखराले गण्डकीमा निष्क्रिय रहेका थप ९ वटा विभिन्न प्रकृतिका सहकारी संस्थाको दर्ता खारेजी गरेको छ ।  गण्डकी प्रदेश सहकारी ऐन, २०७५ को दफा ७१ उपदफा ९३० अनुसार लगातार २ वर्ष कुनै पनि कारोबार नगरी निष्क्रिय रहेका सहकारीको दर्ता खारेजी गरिएको रजिष्ट्रार कार्यालयले माघ १० गते सार्वजनिक सूचना जारी गरी जानकारी गराएको छ ।

कार्यालयको माघ ९ गतेको निर्णय अनुसार स्याङ्जाका ४, पर्वतका ४ र नवलपुरको १ गरी ९ वटा सहकारीको दर्ता खारेज गरिएको हो । निष्क्रिय सहकारीहरुलाई गत असार १५ गते ३५ दिने सार्वजनिक सूचना जारी गरी अद्यावधिक गर्न आव्हान गरिएको थियो, अद्यावधिक हुन नआएका मध्ये यसपटक ९ वटा खारेज गरेका छौ, अझै केही सहकारीहरु खारेजीको चरणमा रहेको सहकारी रजिष्ट्रार भेषराज रिजालले जानकारी दिनुभयो ।
बागलुङमा पनि लामो समयदेखि निष्क्रिय रहेका र अद्यावधिकमा नआएका सहकारीहरुलाई खारेज गर्ने तयारी गरिएको रिजालले बताउनुभयो । निष्क्रिय रहेका सहकारीहरुको दायित्व बाँकी रहेमा सञ्चालकको जिम्मामा रहने गरी खारेज गर्ने प्रक्रिया अगाडि बढाइएको हो ।

रजिष्ट्रार कार्यालयले यि ९ वटासंगै हालसम्म गण्डकी प्रदेश नियमन क्षेत्रात्रिकारमा रहेका ३५ वटा सहकारी संघ संस्थाको खारेजीगरेको छ । खारेज भएका सहकारीमा सबै भन्दा बढी १२ वटा स्याङ्जा, त्यसपछि गोरखाका ६, पर्वतका ५, तनहुँका ४, कास्कीका ३, म्याग्दीका २, लमजुङ, बागलुङ र नवलपुरका एक एक वटा सहकारी खारेज भएको सहकारी रजिष्ट्रार रिजालले जानकारी दिनुभयो । गण्डकी प्रदेश सहकारी ऐनमा भएको व्यवस्था अनुसार लगातार दुइ वर्षसम्म कुनै पनि कारोबार नगरी निष्क्रिय रहेको पाइएमा दर्ता अधिकारीले सहकारी संस्थाको दर्ता खारेज गर्न सकिनेछ भन्ने व्यवस्था अनुसार अद्यावधिक हुन नआएका, लगातार दुई वर्षसम्म विवरण पेश तथा प्रतिवेदन पेश नगरी निष्क्रिय रहेका सहकारी संस्थाको खारेजी गर्ने प्रक्रिया अगाडि बढाइएको रजिष्ट्रार रिजालले जानकारी दिनुभयो ।

रजिष्ट्रार कार्यालयले खारेज भएका सहकारी संस्थाले तिर्न बुझाउन पर्ने कुनै दायित्व रहे, भएमा संस्थाका सञ्चालक लगायत जिम्मेवार पदाधिकारी/व्यक्तिहरुले तिर्न बुझाउन समेत जानकारी गराएको छ । ‘सहकारी संस्थासंग कुनै लिनु दिनु पर्ने दायित्व भएमा सम्बन्धित सहकारी संस्थाका सञ्चालक, पदाधिकारीसंग सम्पर्क राख्नुहुन सम्बन्धित शेयर सदस्य लगायत सम्पूर्ण सरोकारवालाहरुलाई सूचित गरिन्छ’ रजिष्ट्रार कार्यालयले जारी गरेको सूचनामा उल्लेख छ ।

माघ ९ गतेको निर्णय अनुसार खारेज हुनेमा स्याङ्जाको वालिङ नगरपालिकास्थित टापु भञ्ज्याङ कृषि सहकारी संस्था लिमिटेड, सोही पालिकाको कटौजे अदुवा उत्पादक सहकारी संस्था लिमिटेड, चापाकोटा गाउँपालिकाको खड्क कालो कृषि सहकारी संस्था लिमिटेड, सोही पालिकाको सरोवर कृषि सहकारी संस्था लिमिटेड रहेका छन् ।  यस्तै पर्वतको कुश्मा नगरपालिकामा रहेको गहते पखरा दुग्ध उत्पादक सहकारी संस्था लिमिटेड, प्रगति कफी सहकारी संस्था लिमिटेड, पूृर्णेश्वर कफी सहकारी संस्था लिमिट्ड, पर्वत आदर्श नमुना कृषि सहकारी संस्था लिमिटेड तथा नवलपरासी ९ब।सु।पूर्व० स्थित हुप्सेकोट गाउँपालिकाको भू।पू।सैनिक सहमकारी संस्था लिमिटेड खारेज भएका हुन् ।
  • २०८२ माघ १०, शनिबार