बागलुङ । नेकपा एमालेका नेता इन्द्रलाल सापकोटाले पार्टीका सम्पूर्ण कमिटिहरुलाई ठिक ढंगले परिचालन गर्दा बागलुङ क्षेत्र नं. १ को चुनाव सजिलै जित्न सकिने बताउनु भएको छ । एमाले काठेखोला गाउँपालिका कमिटिको विस्तारित वैठकमा बोल्दै सापकोटाले पार्टीको कमिटिमा रहेका सबै सक्रियताका साथ जनताको बीचमा पुग्दा जनताले एमालेलाई जिताउने बताउनु भएको हो ।
एमालेको पूँजि भनेको नै संगठन हो, सांगठनिक रुपमा एमाले सबै भन्दा सबल र सक्षम छ, संगठनलाई सही ढंगले परिचालन गर्न सक्दा सबै आम जनतालाई एमालेप्रति आकर्षित गर्न सकिन्छ, सापकोटाले भन्नुभयो,–‘पार्टीको टोल कमिटि, वडा कमिटि र पालिका कमिटिका पदाधिकारी र सदस्यहरु सक्रिय हुदासाथ एमालेको जित सुनिश्चित हुन्छ ।’ पार्टीको जिम्मेवारीमा बस्न तछाड मछाड गर्नेहरुले पार्टीका उम्मेदवारलाई जिताउन चुनावको समयमा अन्य कामलाई थाँती राखेर सक्रिय हुन समेत उहाँले आव्हान गर्नु भएको छ ।
एमालेको संगठन देखेर अन्य दलहरु छक्क पर्छन, तर हामीले हाम्रो संगठनको शक्तिलाई सही रुपमा परिचालन गर्न सकेनौ भने लक्ष्य प्राप्त गर्न सकिदैन भन्दै सापकोटाले कमिटिका सबै पदाधिकारी सदस्यहरुलाई चुनावसम्मका लागि अतिरिक्त सक्रिय हुन आग्रह गर्नु भयो । नेकपा एमालेले आगामी निर्वाचनमा काठेखोला गाउँपालिकामा निर्वाचन हाँक्नका लागि गण्डकी प्रदेश कमिटिका सदस्य अमर बहादुर थापालाई जिम्मेवारी दिएको छ । एमालेले काठेखोला गाउँपालिकाको निर्वाचन परिचालनका लागि गाउँपालिकाका संस्थापक अध्यक्ष समेत रहेका थापा संयोजक र पालिका कमिटिका अध्यक्ष डिल बहादुर कार्की सदस्य सचिव रहेको १ सय ७१ सदस्यीय निर्वाचन परिचालन कमिटि गठन गरेको छ ।
निर्वाचन परिचालन कमिटिमा पालिका कमिटिका पदाधिकारी तथा सदस्यहरु, पालिका कमिटिका पूर्व पदाधिकारी तथा सदस्य र सल्लाहकारहरु, वडा कमिटिका पदाधिकारी तथा सदस्यहरु र पालिका स्तरीय जनवर्गीय संगठनका पदाधिकारीहरु रहेको एमाले काठेखोलाका सचिव तिलक खड्काले जानकारी दिनुभयो । काठेखोला गाउँपालिकाका ८ वटा वडामा निर्वाचन परिचालन कमिटि गठन गर्ने, वडा भेला तथा मतदाता सर्वेक्षण गर्ने लगायतका निर्णय गरेको खड्काले बताउनुभयो ।
एमालेले माघ १३ गतेदेखि १६ गतेसम्म सबै वडा कमिटिलाई वैठक बसेर चुनाव परिचालनको योजना बनाउन निर्देशन गरेको छ । प्रतिनिधि सभा सदस्य पदका उमेदवार हिरा बहादुर केसी सहितको टोलीले चुनाव प्रचार अभियान अन्तरगत घरदैलो तथा भेटघाट कार्यक्रम गर्ने तयारी गरेको छ । माघ २० गते वडा नं. १ पाला, २१ गते वडा नं. २ भिमापोखरा, २२ गते वडा नं. ३ धम्जा, २३ गते वडा नं. ४ तंग्राम, २४ गते वडा नं. ५ माथिल्लो विहु, २५ गते वडा नं. ६ तल्लो बिहुँ, २६ गते वडा नं. ७ रेश र माघ २७ गते वडा नं. ८ लेखानीमा उम्मेदवार सहितको टोलीले घरदैलो भेटघाट कार्यक्रम गर्ने योजना बनाएको सचिव खड्काले बताउनुभयो । काठेखोलामा कुल २० हजार ८५८ मतदाता रहेका छन् ।