बागलुङ । आगामी प्रतिनिधिसभा निर्वाचनका लागि नेपाली कांग्रेसले बागलुङ क्षेत्र नं. १ मा क्षेत्रीय सभापति चण्डीप्रसाद शर्माको संयोजकत्वमा ५०१ सदस्यीय निर्वाचन परिचालन समिति गठन गरेको छ । क्षेत्रीय निर्वाचन परिचालन समितिले आवश्यकता अनुसार उपसमितिहरु गठन गरेर निर्वाचन केन्द्रीय अभियान सञ्चालन गर्ने निर्णय शनिवार सम्पन्न भेलाले गरेको छ ।
भेलालाई सम्बोधन गर्दै नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा क्षेत्र नं. १ का उम्मेदवार भीम श्रीसले कांग्रेसको पक्षमा मतदान गर्ने वातावरण बनाउनका लागि सबै वडा सभापति सहितका नेता कार्यकर्ताहरुलाई आव्हान गर्नु भयो । दलीय व्यवस्थामा पार्टीका उम्मेदवारलाई विजयी बनाउन सम्पूर्ण नेता कार्यकर्ताहरु एकतावद्ध भएर अगाडि बढ्नु पर्नेमा जोड दिदै उहाँले आफुले महाधिवेशन प्रतिनिधि भएर केन्द्रमा नीति बनाउन निरन्तर लागेको जानकारी गराउनुभयो । जिल्लामा म अलि कम उपस्थित छु, केन्द्रमा पार्टीकै काममा थिए, अहिले पार्टीले जिल्लाबाट जनप्रतिनिधिका लागि उम्मेदवार बनाएको छ, सबैको साथ सहयोग र सक्रियताको अपेक्षा गरेको छु, श्रीसले भेलामा भन्नुभयो । मुलुकमा देखिएको राजनीतिक अन्यौलतालाई चिर्न पनि कांग्रेसको नेतृत्वमा सरकार बनाउन आवश्यक रहेको भन्दै श्रीसले सबैलाई सक्रियताका साथ निर्वाचन केन्द्रीत अभियानमा जुट्न आव्हान गर्नु भयो ।
कार्यक्रममा समानुपातिक उम्मेदवार शकुन्तला शर्मा, कांग्रेसका पूर्व केन्द्रीय सदस्य रत्ना शेरचन, जिल्ला सभापति जित शेरचन, पूर्व पार्टी सभापतिद्वय मणिभन्द्र शर्मा कंडेल र प्रकाश शर्मा पौडेल, जिल्ला सचिव हरिहर शर्मा, महाधिवेशन प्रतिनिधि तथा गण्डकी प्रदेशसभा सदस्य डिल्लीराम सुवेदी, महाधिवेशन प्रतिनिधि चिरञ्जिवी गौतम, जैमिनी नगरपालिकाका सभापति प्रेम सापकोटा, बरेङ गाउँपालिकाका तर्फबाट मोतिराम शर्मा, काठेखोला गाउँपालिकाका संगठन विभाग प्रमुख प्रेम कंडेल बागलुङ नगरपालिका वडा नं. ९ का सभापति राजु थापा लगायतले परिवर्तित परिस्थिति अनुसार पार्टीलाई एक ढिक्का बनाएर निर्वाचनमा केन्द्रीत हुनु पर्नेमा जोड दिनु भएको थियो । क्षेत्रीय सभापति चण्डी प्रसाद शर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत उपसभापति हरि बहादुर जिसी र सञ्चालन सचिव जयराम भारीले गर्नु भएको थियो । नेपाली कांग्रेसका उम्मेदवार भीम श्रीसको क्षेत्रीय सम्पर्क कार्यालय बानपा–२, अदालत रोडमा सञ्चालनमा आएको छ ।