• २०८३ आश्विन २६, सोमबार
  • 2026 October 12, Monday

एमाले अध्यक्ष ओलीको केन्द्रीय सदस्यलाई पत्र : पार्टीलाई जिताउन लाग्नुस ?

  • २०८२ माघ ११, आईतवार

बागलुङ । नेकपा एमालेका अध्यक्ष के.पी.शर्मा ओलीले हिजोदेखि केन्द्रीय सदस्यहरु र जनसंगठनका अध्यक्ष तथा पदाधिकारीहरुलाई पत्र लेख्न थाल्नु भएको छ । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा एमालेका उम्मेदवारहरुलाई जिताउन प्रचार प्रसारमा जुट्न उत्प्रेरित गर्दै अध्यक्ष ओलीले नेताहरुलाई सम्बोधन गरेर पत्र पठाउन थाल्नु भएको छ ।

‘यहाँलाई अवगत नै छ, आसन्न निर्वाचनले देशलाई विनाशतर्फ धकेल्ने कि निर्माणको मार्गमा अघि बढाउने भन्नेबीचको हार–जितको फैसला गर्नेछ । देश निर्माणका लागि हाम्रो पार्टीलाई बहुमत आवश्यक छ । बहुमतका लागि अपरिहार्य पार्टीका उम्मेदवारहरुको विजय सुनिश्चित गर्न कमरेडहरुको उच्च मनोबल र सक्रिय सहयोगको हार्दिक अपेक्षा गर्दछ,’ अध्यक्ष ओलीले नेताहरुलाई पठाएको पत्रमा भनिएको छ । एमाले यसपटकको प्रतिनिधिसभा निर्वाचनमा एक्लै चुनावी मैदानमा छ । २०७४ मा तत्कालिन नेकपा माओवादी केन्द्रसंग तालमेल गरेको एमालेले अन्य निर्वाचनमा भुगोलको आवश्यकताका आधारमा कतिपय क्षेत्रमा तालमेल गर्ने गरेको थियो । यसपटक मनाङमा भने एमालेका उम्मेदवार पोल्देन छोपाङ गुरुङ र नेपाली कांग्रेसका उम्मेदवार टेक बहादुर गुरुङबीच चिठ्ठा प्रथाबाट कांग्रेस उम्मेदवार गुरुङलाई छोपाङले समर्थन गर्नु भएको छ । प्रदेशसभासग भागवण्डा गरेर चिठ्ठामा सहमति भएको दुवै पार्टीका स्थानीय नेताहरुले बताएका छन् । एमाले अध्यक्ष ओलीले केन्द्रीय सदस्य लगायत विभिन्न जिम्मेवारीमा रहेका नेताहरुलाई चुनावमा खट्न, एमालेका उम्मेदवारलाई जिताउनका लागि पत्र नै लेख्नु पर्ने वाध्यता किन आइलाग्यो ? एमालेका एक केन्द्रीय सदस्य भन्छन्, यो पत्रले नेताहरुमा उत्साह बढ्छ, अध्यक्षको निर्देशनले थप सक्रिय भएर चुनावमा लाग्ने अवस्था सिर्जना हुन्छ । त्यसो भए केन्द्रीय सदस्य र पार्टीका विभिन्न जिम्मेवारीमा रहेकाहरु पनि अध्यक्षले पत्र पठाएपछि मात्रै सक्रिय हुने, उत्प्रेरित हुने खालका छन् त ? भन्ने प्रश्नमा उनको जवाफ यस्तो छ, एमाले विशाल पार्टी हो, सांगठानिक संरचनाको हिसावले मुलुककै सवल र सक्षम पार्टी हो, यसमा धेरै नेताहरु हुनुहुन्छ, नेताहरु सबै आ–आफ्नो क्षेत्रमा त खट्नु भएकै छ, उहाँहरुको मनोबल उच्च बनाउन, थप सक्रिय बन्न र चुनावी अभियानमा सबैलाई समेट्नका लागि पत्रले सहयोग गर्दछ । के साच्चै एमालेका केन्द्रीय सदस्यहरु, जनसंगठनका अध्यक्षहरु पार्टीका अध्यक्षले पत्र पठाएपछि मात्रै चुनावमा उत्प्रेरित हुने खालकै छन् ?

कार्यकर्ताको प्रश्न छ, एमाले बागलुङ जिल्ला कमिटिका एक सदस्यले अध्यक्षको पत्रलाई अनावश्यक फण्डाका रुपमा लिए, पार्टीका अध्यक्षले आफ्नै टिममा राखेर चुनावमा जिताएका केन्द्रीय सदस्यहरुलाई पत्र लेखेर चुनावमा होमिन आग्रह गर्नु अनावश्यक प्रोपोगाण्डा हो, उनले भने । केन्द्रीय कमिटि, प्रदेश कमिटि, जिल्ला कमिटि, पालिका कमिटि र वडा कमिटिमा रहेकाहरुको परिभाषित जिम्मेवारी हुन्छ, उनीहरुले पार्टीका उम्मेदवारलाई जिताउने, पार्टीको सरकार बनाउने, पार्टीबाट निर्वाचित जनप्रतिनिधिहरुमार्फत पालिका, प्रदेश र संघमा सत्ता चलाउने नै लक्ष्य होइन र ? ति जिल्ला सदस्यले भने, पार्टी नेतृत्वले यस्ता कुरामा भन्दा जनतालाई सम्बोधन गर्ने खालका अभियान सञ्चालन गर्नु पर्दछ ।

अझै अचम्म त, केन्द्रीय सदस्यहरुले नै अध्यक्षज्यूबाट पत्र प्राप्त भयो भन्दै सामाजिक सञ्जालमा पोष्ट गर्ने गर्दछन्, केन्द्रीय सदस्य, जो अध्यक्षको टिममा परेर जितेको छ, उसले नै अध्यक्षको पत्र पाए भन्दै फुर्केको देख्दा ने उदेक लाग्छ, केन्द्रीय सदस्यहरुलाई पत्र पठाउने समयलाई जनतासंग सम्वाद गर्नका लागि उपयोग गर्न उनको सुझाव छ । केन्द्रीय सदस्यहरुले पनि सामाजिक सञ्जालमा अध्यक्षले पठाएको पत्र होइन, गाउँमा काम गर्दै गरेका किसान, मजदुर र युवा विद्यार्थीहरुसंग सम्वाद गर्ने, समस्याको पहिचान गर्ने, समस्या समाधानका उपायको खोजी गर्ने विषयमा ध्यान दिनु पर्दछ ।

अध्यक्षले पत्र पठाएको विषय सामाजिक सञ्जालमा देखाएर म अध्यक्षको नजिक छु, भन्ने पार्न खोजेको पनि हुन सक्छ, पहँुच देखाएको पनि हुन सक्छ, यति बेला अध्यक्षको पत्र होइन, बरु जनताको सन्देश अध्यक्षलाई पठाउने बेला हो, जनताको भावना, जनताका आवश्यकता, जनताका गुनासा संकलन गर्ने र पार्टी नेतृत्वलाई सजग गराउने बेला हो । पार्टी नेताहरुलाई नै पत्र लेखेर निर्वाचनमा होमिन आव्हान गर्नु पर्ने अवस्था किन आयो ? परिभाषित जिम्मेवारी भएका व्यक्तिहरुलाई नै तिमी सक्रिय बन है भन्नु पर्ने अवस्था किन आयो भन्ने विषयमा छलफल आवश्यक छ । केन्द्रीय सदस्यहरु मध्ये धेरैको वडामा एमालेका उम्मेदवारले जित्दैनन्, पदाधिकारीकै वडामा जित्दैनन् भन्ने विषयमा विधान महाधिवेशन अगाडि नै एमालेका तत्कालिन उपमहासचिव प्रदिप ज्ञवालीले चर्चा गर्नु भएको थियो । के आफ्नै वडा जिताउन नसक्ने केन्द्रीय सदस्यहरुलाई इंगित गरेर अध्यक्षले पत्राचार गर्नु भएको हो ? कार्यकर्ताहरुका बीचमा चर्चा चलेको छ । पार्टीका नेतालाई पार्टीका अध्यक्षले पत्र पठाएको विषयलाई सामाजिक सञ्जालमा रंगाएर मत बढ्छ, उनीहरु थप सक्रिय हुन्छन् भन्ने कुरामा कार्यकर्ताहरु सहमत छैनन्, नेताहरु जनताको बीचमा त त्यस्तै हो सामाजिक सञ्जालमा भने सक्रिय हुन्छन्, कार्यकर्ताको गुनासो छ । एमालेको पूँजि भनेको नै संगठन हो, संगठनलाई परिचालित गर्नका लागि परिभाषित जिम्मेवारीमा रहेका, हिजो जिम्मेवारीमा रहेका र भोली जिम्मेवारीमा रहने आकांक्षा राखेका सबै सक्रिय हुन आवश्यक छ, एमालेको संगठन परिचालन हुदा एमालेका उम्मेदवारको जित सुनिश्चित नै छ, एमाले बागलुङका एक नेताले भने ।

  • २०८२ माघ ११, आईतवार