• २०८३ आश्विन २५, आईतवार
  • 2026 October 11, Sunday

पूर्वी बागलुङमा चुनाव हाँक्न पाँच दलका चार कमाण्डर

  • २०८२ माघ १३, मंगलवार

 एमालेमा हाइप्रोफाइल, रास्वपामा सेवा निवृत्त मेजर

बागलुङ ।  फागुन २१ गते हुन गैरहेको प्रतिनिधिसभा निर्वाचन हाँक्न पूर्वी बागलुङ (क्षेत्र नं. १) मा पाँच मुख्य राजनीतिक दलले चार नेतालाई संयोजनको जिम्मेवारी दिएका छन् । नेकपा एमाले, नेपाली कांग्रेस, बाम गठबन्धन (नेपाली कम्युनिष्ट पार्टी (नेकपा) र राष्ट्रिय जनमोर्चा) र राष्ट्रिय स्वतन्त्र पार्टीले क्षेत्रीय चुनाव परिचालनका लागि चार नेतालाई संयोजनको जिम्मेवारी दिएका हुन् । बाम गठबन्धनका दुइ दलका तर्फबाट एक जना र अन्य ३ दलका एक एक जना कमाण्डर तोकिएको छ । निर्वाचन हाँक्नका लागि नेकपा एमालेले हाइप्रोफाइल नेतालाई चुनावी कमाण्डर बनाएको छ, राष्ट्रिय स्वतन्त्र पार्टीले नेपाली सेनाबाट सेवा निवृत्त मेजर (सेनानी) लाई चुनावी कमाण्डर बनाएको छ । बाम गठबन्धनले जिल्ला अध्यक्ष र नेपाली कांग्रेसले क्षेत्रीय सभापतिलाई चुनावी कमाण्डर बनाएको छ । एमालेले पार्टीका केन्द्रीय सदस्य डा.सूर्य पाठक संयोजक रहेको १ हजार १ सय ११ सदस्यीय क्षेत्रीय निर्वाचन परिचालन कमिटि गठन गरेको छ ।

२०७४ को प्रतिनिधिसभा निर्वाचनमा संयुक्त बाम गठबन्धनका साझा उम्मेदवार भई सांसद बनेका र २०७९ को प्रतिनिधि सभा निर्वाचनमा एमालेका तर्फबाट एकल उम्मेदवार बनेर गठबन्धनका उम्मेदवार चित्र बहादुर केसीसंग पराजित भएका पाठकले यस पटक पार्टीका उम्मेदवार हिरा बहादुर केसीलाई जिताउनका लागि निर्वाचन परिचालनको कमाण्ड सम्हाल्नु भएको छ । एमालेको नवौ र दशौ राष्ट्रिय महाधिवेशनबाट केन्द्रीय सदस्य बनेका पाठक यस पटक पनि उम्मेदवारको चर्चामा रहनु भएको थियो । चुनावका लागि उम्मेदवार सिफारिस गर्ने समयमा काम विशेषले जापान गएका पाठकलाई क्षेत्रीय निर्वाचन समन्वय कमिटिले उम्मेदवारका रुपमा सिफारिस गरेन । सिफारिस नभए पनि पाठक अन्तिमसम्म उम्मेदवार बन्ने दौडधुपमै रहनु भएको एमाले स्रोतले बताएको छ । एमाले केन्द्रीय सचिवालय वैठकले जिल्ला अध्यक्ष हिरा बहादुर केसीलाई उम्मेदवार बनाउने निर्णय गरेपछि पाठक चुनावी कमाण्डर बन्नु भएको छ । एमाले क्षेत्रीय निर्वाचन समन्वय कमिटिको माघ ८ गते सम्पन्न वैठकले पाठकको संयोजकत्वमा निर्वाचन परिचालन कमिटि गठन गर्ने निर्णय गरेको थियो । एमालेले जिल्लाका हाइप्रोफाइल नेता, केन्द्रीय कमिटिका सदस्य, पूर्व सांसदलाई निर्वाचन परिचालन कमिटिको संयोजक बनाउदा प्रतिस्पर्धी दल नेपाली कांग्रेसले भने निर्वाचन परिचालनका लागि क्षेत्रीय सभापति चण्डी प्रसाद शर्मा पौडेलको संयोजकत्वमा ५०१ सदस्यीय चुनाव प्रचार समिति गठन गरेको छ । नेपाली कांग्रेसले बागलुङ क्षेत्र नं. १ मा विशेष महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित भीम श्रीसलाई उम्मेदवार बनाएको छ ।

श्रीसलाई जिताउनका लागि चुनाव परिचालन तथा प्रचार अभियानको नेतृत्व पार्टीका क्षेत्रीय सभापति शर्मा पौडेलले गर्नु भएको छ । माघ १० गते क्षेत्र नं. १ का वडाका सभापतिहरु, जिल्ला र केन्द्रीय नेताहरुको उपस्थितिमा सम्पन्न क्षेत्रीय समितिको विस्तारित वैठकले सभापति चण्डी प्रसाद शर्मा पौडेलको संयोजकत्वमा निर्वाचन प्रचार समिति गठन गरेको हो । नेपाली कांग्रेसले सबै निर्वाचन क्षेत्रमा क्षेत्रीय सभापतिको संयोजकत्वमा निर्वाचन परिचालनका लागि प्रचार समिति गठन गर्ने गरेको छ । कांग्रेसको क्षेत्रीय निर्वाचन प्रचार समितिमा सम्बन्धित क्षेत्र भित्रका केन्द्रीय सदस्य, जिल्लाका पदाधिकारी तथा सदस्यहरु, क्षेत्रीय समिति, वडा समितिका पदाधिकारी सदस्यहरु, भातृ संगठनका पदाधिकारी सदस्यहरु सदस्य रहेको जिल्ला सचिव हरिहर शर्माले बताउनुभयो । क्षेत्रीय सभापतिको नेतृत्वमा गठित प्रचार समितिले क्षेत्रको सम्पूर्ण निर्वाचन परिचालन गर्ने गर्दछ, त्यसलाई सहजीकरणका लागि हाइप्रोफाइल नेताहरुको निर्देशक समिति बनाइएको छ । बामपन्थी दलहरुमा तल्लो कमिटिका नेताहरुको नेतृत्वमा बन्ने चुनाव परिचालन समितिमा माथिल्लो कमिटिका नेताहरु बस्ने गरेको पाइदैन, तर कांग्रेसमा क्षेत्रीय समितिका सभापतिको नेतृत्वमा बन्ने समितिमा जिल्ला, प्रदेश र केन्द्रीय समितिको जिम्मेवारीमा रहेकाहरु समेत बस्ने प्रचलन रहेको छ । दुइ दलबीच तालमेल गरेर चुनावी मैदानमा होमिएका नेपाली कम्युनिष्ट पार्टी (नेकपा) र राष्ट्रिय जनमोर्चाका तर्फबाट बागलुङ क्षेत्र नं. १ का उम्मेदवार कृष्ण अधिकारीलाई विजयी बनाउनका लागि राजमोका जिल्ला अध्यक्ष तेज बहादुर थापा (तिलक) को संयोजकत्वमा १ हजार १ सदस्यीय निर्वाचन परिचालन समिति गठन गरिएको छ ।

काठेखोला गाउँपालिकाका उपाध्यक्ष समेत रहेका थापाको संयोजकत्वमा रहेको निर्वाचन परिचालन समितिका सहसंयोजकहरुमा नेकपाका केन्द्रीय सदस्य बाबुकाजी केसी र गण्डकी प्रदेश कमिटि सदस्य कुमार विक्रम क्षेत्री रहनु भएको छ । विघटित प्रतिनिधिसभाका सदस्य चित्र बहादुर केसीको पार्टीका उम्मेदवार अधिकारीलाई नेकपाले समर्थन गरेको छ । क्षेत्र नं. २ मा नेकपाका उम्मेदवार ज्ञामनाथ गैरेलाई राजमोले समर्थन गरेको छ । दुइ दलका तर्फबाट क्षेत्रीय निर्वाचन परिचालन समिति, पालिकास्तरीय निर्वाचन परिचालन समिति र वडा स्तरीय निर्वाचन परिचालन समितिमा उम्मेदवार रहेको क्षेत्रमा सम्बन्धित दलको संयोजक र समर्थन गर्ने दलका तर्फबाट सहसंयोजक रहने निर्णय भएको छ । क्षेत्र नं. १ को निर्वाचन परिचालनका लागि संयोजक राजमो र क्षेत्र नं. २ मा नेकपाले संयोजक तथा राजमोले सहसंयोजक रहेर निर्वाचन परिचालन गर्ने नेकपाका नेता राजिव घिमिरेले जानकारी दिनुभयो ।

पूर्वी बागलुङमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बानपा ८ वडा समितिका सभापति तथा नेपाली सेनाका सेवा निवृत्त मेजर (सेनानी) रोशन कार्कीलाई चुनावी कमाण्डर तोकेको छ । रास्वपाले क्षेत्र नं. १ मा ५ सय १ सदस्यीय निर्वाचन परिचालन समिति गठन गरेको हो । निर्वाचन घोषणा भए लगत्तै गलकोटमा जिल्ला कार्य समितिको विस्तारित वैठक आव्हान गरेर क्षेत्र नं. १ मा कार्कीको संयोजकत्वमा निर्वाचन परिचालन समिति गठन गरेको थियो । कार्कीको संयोजकत्वमा रहेको निर्वाचन परिचालन समितिको टिमले रास्वपाका उम्मेदवार सुशिल खड्का सहित घरदैलो अभियान सञ्चालन गरिरहेको छ । पूर्वी बागलुङको निर्वाचन हाँक्ने चार कमाण्डरको संयोजनमा दलका नेता कार्यकर्ताहरु यतिबेला पालिका र वडामा भेला, वैठकसंगै चुनावी कार्ययोजना निर्माणमा केन्द्रीत रहेका छन् । उम्मेदवारहरु सहितको घरदैलो सञ्चालन गरेका राजनीतिक दलहरुले मतदाता रिझाउन भरमग्दुर प्रयत्न गरिरहेका छन् । बागलुङ क्षेत्र नं. १ मा प्रमुख चार दल बाहेक थप ७ राजनीतिक दलहरुका तर्फबाट उम्मेदवारी दिएका छन् । सबै राजनीतिक दल र उम्मेदवारहरुले यतिबेला चुनावी योजना बनाउने, घरदैलो भेटघाट गरेर मत माग्ने काममा सक्रिय भएका छन् ।

  • २०८२ माघ १३, मंगलवार