• २०८३ आश्विन २८, बुधबार
  • 2026 October 14, Wednesday

गलकोटमा अनिलको चुनाव हाँक्न, भुजेल बने कमाण्डर

  • २०८२ माघ १३, मंगलवार

बागलुङ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) र राष्ट्रिय जनमोर्चाका तर्फबाट पश्चिम बागलुङ (क्षेत्र नं. २) साझा उम्मेदवार ज्ञामनाथ गैरे (अनिल) को गृह पालिका गलकोट नगरपालिकामा चुनाव परिचालनका लागि १ हजार ५२ सदस्यीय निर्वाचन परिचालन कमिटि गठन गरिएको छ ।

चुनावी तालमेल गरेका नेकपा र राजमोको मंगलवार गलकोटमा सम्पन्न चुनावी भेलाले नेकपा गलकोटका अध्यक्ष गंगा भुजेल संयोजक र राजमोका पदम श्रेष्ठ सहसंयोजक रहेको निर्वाचन परिचालन समिति गठन गरेको हो । भेलाले युवा परिचालनका लागि संयोजक बिरेन्द्र कार्की र सहसंयोजक गणेश सापकोटा तथा महिला परिचालनका लागि कौशिला घर्ति मगर संयोजक र देवी खत्री सहसंयोजक रहेको समिति गठन गरेको छ ।

पालिका स्तरीय निर्वाचन परिचालन समिति, युवा तथा महिला परिचालन समितिको अगुवाईमा पालिकामा घरदैलो, चुनावी सभा तथा अन्तरक्रिया लगायतका कार्यक्रम सञ्चालन गरिने नेकपा नेता राजिव घिमिरेले जानकारी दिनुभयो । दुइ बाम दलका साझा उम्मेदवार तथा नेकपाका केन्द्रीय सदस्य ज्ञामनाथ गैरे (अनिल) ले समावेशी र समानुपातिक सहभागिता सहितको लोकतान्त्रिक गणतन्त्रलाई थप परिस्कृत र प्रभावकारी बनाउनका लागि गणतन्त्रको नेतृत्व गर्ने नेकपालाई मत दिन आव्हान गर्नु भयो ।

गलकोट ऐतिहासिक क्षेत्र हो, यहाँका जनताले बामपन्थी उम्मेदवारलाई साथ सहयोग गर्नेमा आफु विश्वस्त रहेको बताउनुभयो । कार्यक्रममा संविधानसभा सदस्य पूर्ण बहादुर राना, राष्ट्रिय जनमोर्चाका समानुपातिक उम्मेदवार बेदीलाल सापकोटा, क्षेत्र नं. २ निर्वाचन परिचालन कमिटिका संयोजक तथा नेकपाका केन्द्रीय सदस्य फमलाल निउरे, केन्द्रीय सदस्यहरु कमल घिमिरे, राजिव घिमिरे, राजमो जिल्ला सचिव भिमलाल पोखरेल, नेकपा जिल्ला संयोजक प्रकाश घर्ति, राजमो समानुपातिक उम्मेदवार किउमाया पुन लगायतले निर्वाचन परिचालन र जन भेटघाटका विषयमा बोल्नु भएको थियो । भेला राजमो गलकोटका अध्यक्ष टंक केसीको अध्यक्षता नेकपा सचिव खमि साहनीको सञ्चालनमा सम्पन्न भएको थियो ।

  • २०८२ माघ १३, मंगलवार