बागलुङ । अधिकांश भौतिक निर्माणको काम समयमै नसकिदा निर्माण व्यवसायीहरु आलोचित हुने सन्र्दभमा बागलुङको उच्च अदातलको भवन समय अगावै बनाउने निर्माण व्यवसायीलाई सम्मानित गरिएको छ । उच्च अदालत पोखरा बागलुङ इजालसको अत्याधुनिक भवन सम्झौता अवधि अगावैै निर्माण सम्पन्न गर्ने श्यामसुन्दर/पशुपति शिवजी जेभी निर्माण कम्पनीलाई भवन उद्घाटनको दिन सम्मान गरिएको छ ।
भूकम्पले क्षति प¥याएको अदालतको भवन विसं २०७९ मङ्सिर १५ गते ३० महिनाभित्र सक्नेगरी निर्माण थालिएको उक्त भवन धौलागिरीकै सबैभन्दा ठूलो भवन २९ महिनामै सम्पन्न भएको थियो । भवनको सर्वोच्च अदालतका प्रधान न्यायाधिस प्रकाशमान सिंह राउतले शुक्रबार उद्घाटनपछि समय अगावै निर्माण सक्ने निर्माण व्यवसायका आधिकारिक प्रतिनिधि जयराम आचार्यलाई सम्मान पत्रद्वारा सम्मान गरिएको हो ।
प्रधानन्यायाधिसको बाहुलीबाट सम्मानित हुन पाउदा आफूलाई गर्व लागेको निर्माण व्यवसायी जयराम आचार्यले खुसी व्यक्त गर्नुभयो । “२९ महिनामा रु. ५७ करोडको साढे छ तला भवन बनाउन हामीले रातीमा समेत कामदार परिचालन गरेका थियौ भने, अत्याधुनिक उपकरणको सहायताले ढालन गर्दा संभव भएको हो” आचार्यले भन्नुभयो “सडक बनाए जस्तो भवन बनाउन सहज हुँदैन, भवन निर्माणमा निकै जटिलता आउछ, तर पनि निरन्तर काम गरे सफलता पाइन्छ ।”
उच्च अदालत पोखरा बागलुङ इजालसका रजिष्ट्रार रामबहादुर थापाले निर्माण व्यवसायीले भवन मिर्नाणमा उदाहरण पेश गरेकाले सम्मान गरेको जानकारी दिनुभयो । उहाँले असार २० गतेसम्म सम्झौता मिति रहेको उक्त भवन जेठ २० गते सम्पन्न गरेको जानकारी दिनुभयो । पहिलो सम्झौता अगावै भवन सम्पन्न गर्ने उदाहरण नेपालमा कमैमात्रमा पाइने थापाको भनाई छ । श्यामसुन्दर पशुपति शिवजी निर्माण कम्पनीले रु.५७ करोडमा ठेक्का सम्झौता गरेको थियो । निर्माण व्यवसायीले दिनरात गरी दुई चरणमा काम गरेसँगै सम्झौता मितिभित्रै निर्माण सम्पन्न भएको जनाएको छ । नयाँ भवनमा छ वटा अत्याधुनिक इजलास कक्ष रहेका छन् । जसकारण एकसाथ छ मुद्दाको इजलास गर्न सकिने रजिष्ट्रार थापाले जानकारी दिनुभयो ।