म्याग्दी । नेकपा एमालेका सचिव खगराज अधिकारीले फागुन २१ गते हुने निर्वाचनमा एमालेले गण्डकी प्रदेशमा १५ सिट जित्ने दावी गर्नु भएको छ ।
नेकपा एमाले म्याग्दीले बुधवार बेनीमा आयोजना गरेको चुनावी योजना निर्माण सम्बन्धी विस्तारित वैठक तथा निर्वाचन परिचालन सम्पर्क कार्यालय उद्घाटन पछि बोल्दै अधिकारीले यस्तो दावी गर्नु भएको हो ।
गण्डकी प्रदेशमा प्रतिनिधिसभामा १८ क्षेत्र रहेका छन्, हामी सबै क्षेत्रमा जित्छौ भन्दैनौ, १५ सिट हामीले जित्छौ, प्रदेश इन्चार्ज समेत रहेका अधिकारीले भन्नुभयो,– ‘तपाईहरुले म्याग्दी जित्नु हुन्न ? जित्नु हुन्छ, म्याग्दी सहित हामीले १५ सिटमा जित निकाल्छौ ।’
२०७९ को निर्वाचनमा हामी ५ दलीय गठबन्धनसंग लडेर पनि राम्रै सिट जितेका थियौ, यस पटक सिंगल सिंगल प्रतिस्पर्धा गर्दा एमालेले १५ सिट जित्छ, अधिकारीको दावी छ ।
वर्तमान चुनावी सरकारका मन्त्रीहरु विदेशीको इशारामा धमाधम निर्वाचनका लागि उम्मेदवार बनेको प्रसंग चर्चा गर्दै अधिकारीले वर्तमान मन्त्रीपरिषद जनताको अभिमतबाट बनेको होइन, यि कठपुतली हुन्, मालिकको निर्देशन अनुसार मन्त्रीहरु चुनावमा आएका हुन्, भन्नुभयो ।
छिमेकी लगायत विदेशी शक्तिका अगाडि नझुकेका कारण केपी ओली नेतृत्वको सरकार ढलेको एमाले सचिव अधिकारीले दावी गर्नु भयो । विदेशीको इशारामा नचल्दा ओलीमाथि आक्रमण भयो, दलाई लामाको उत्तराधिकारी नेपालमा घोषणा गर्न देउ भनेका थिए, ओलीले नमानेपछि सत्ता नै पल्टाइदिए, उहाको भनाइ छ ।
मुलुकको राष्ट्रियताको पक्षमा अडान लिन सक्ने नेता केपी ओली मात्रै भएको दावी गर्दै अधिकारीले भारतले विगतमा पटक पटक नाकाबन्दी लगाएर दुख दिएको थियो, ओलीको अडान र कामका कारण नाकाबन्दी लगाउन नसक्ने अवस्था बन्यो, भावी पुस्ताले नाकावन्दी थाहै पाउदैनन्, अधिकारीको दावी छ ।

एमाले विरोधी अभियानलाई सार्थक बनाउन मिस इन्फरमेशन र डिस इन्फरमेसनको प्रयोग गरिएको चर्चा गर्दै अधिकारीले एमालेका नेता कार्यकर्ताले केपी ओलीको राष्ट्रवादी सोच र विकासका लागि दृढ संकल्पित भएको विषय जनताका बीचमा लैजानु पर्नेमा जोड दिनुभयो ।
केपी ओली र एमालेका विरुद्ध चलाइने हल्लाको प्रतिवाद गर्नुको सट्टा हो कि क्या हो ? भनेर अलमलिने काम नगर्न अधिकारीले नेता कार्यकर्तालाई निर्देशन दिनुभयो ।
एमाले छोड्छु भनेर कसैले घुक्र्याउछ भने जान दिनुस, एमालेलाई बलियो बनाउन नचाहनेहरुले छोडेर जादैमा एमाले कमजोर हुदैन ।
कार्यक्रममा एमाले केन्द्रीय सदस्य तथा म्याग्दी इन्चार्ज थममाया थापा, केन्द्रीय सदस्य तथा म्याग्दीका उम्मेदवार हरिकृष्ण श्रेष्ठ, केन्द्रीय सदस्य नरदेवी पुन, प्रदेश अध्यक्ष नवराज शर्मा लगायतले चुनाव केन्द्रीत अभियानमा सिंगो पार्टी एकतावद्ध र सक्रिय भएर अगाडि बढ्नु पर्नेमा जोड दिनुभएको थियो ।
नेकपा एमाले म्याग्दीका अध्यक्ष बालकृष्ण सुवेदीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो । विस्तारित वैठकले फागुन २१ गतेको निर्वाचनका लागि पार्टी परिचालन लगायत योजना निर्माण गर्नुका साथै जिम्मेवारी तोकेर चुनावी अभियानलाई अगाडि बढाउने जनाइएको छ ।
म्याग्दीमा एमालेले केन्द्रीय सदस्य हरिकृष्ण श्रेष्ठलाई उम्मेदवार बनाएको छ । २०७९ को प्रतिनिधिसभा निर्वाचनमा पनि श्रेष्ठ उम्मेदवार बन्नु भएको थियो । ५ दलीय गठबन्धनसंग थोरै मतले पराजित भएका श्रेष्ठले यस पटक जित निकाल्नका लागि पार्टी नेता कार्यकर्ताको सक्रियता आवश्यक रहेको छ ।
