• २०८३ आश्विन २१, बुधबार
  • 2026 October 07, Wednesday

हिरा जिताउन पूर्वी बागलुङमा खटिएका चार कमाण्डर

बागलुङ । फागुन २१ गते हुने निर्वाचनमा नेकपा एमाले बागलुङ क्षेत्र नं. १ का उम्मेदवार हिरा बहादुर केसीलाई जिताउने लक्ष्यका साथ चार पालिकामा चार कमाण्डर खटिएका छन् ।

बागलुङ क्षेत्र नं. १ मा चार वटा पालिका रहेका छन् । चार वटा पालिकामा पार्टीको सिंगो पंक्ति खटाउने तयारीका साथ चार जना कमाण्डर यतिबेला चुनावी मैदानमा सक्रिय छन् । एमालेले क्षेत्र नं. १ को निर्वाचन परिचालनका लागि पालिकाको संयोजन गर्ने जिम्मेवारी गण्डकी प्रदेश कमिटिका सदस्यहरुलाई लगाएको छ ।

निर्वाचन क्षेत्र समन्वय कमिटि क्षेत्र नं. १ को निर्णय अनुसार बागलुङ नगरपालिकामा ध्रुव बहादुर केसी, काठेखोला गाउँपालिकामा अमर बहादुर थापा मगर, जैमिनी नगरपालिकामा लिला राना र बरेङ गाउँपालिकामा सञ्जाल शर्माले चुनावी कमाण्ड सम्हाल्नु भएको छ ।

एमालेले क्षेत्र नं. १ का सबै पालिका स्तरीय निर्वाचन परिचालन कमिटिमा सम्बन्धित पालिका भित्रका प्रदेश कमिटिका सदस्यहरु, जिल्ला कमिटिका सदस्यहरु, पालिका कमिटिका पदाधिकारी तथा सदस्यहरु र वडा कमिटिका पदाधिकारी सदस्यहरु परिचालन हुने गरी चुनावी अभियानमा केन्द्रीत गरेको छ ।

पार्टीमा हाल जिम्मेवारीमा नभएका पूर्व पदाधिकारी तथा सदस्यहरु, पूर्व जनप्रतिनिधिहरु, जनवर्गीय संगठनमा आवद्ध निर्वाचन क्षेत्र भित्रका सम्पूर्ण पदाधिकारी सदस्यहरुलाई सम्बन्धित वडामा परिचालन हुने गरी अभियान सञ्चालन गरिएको जिल्ला सचिव गणेश बहादुर थापा मगरले जानकारी दिनुभयो ।

क्षेत्र नं. १ का चार वटा पालिका मध्ये बागलुङ नगरपालिकाको चुनावी कमाण्ड सम्हालेका केसीलाई परिचालन समितिको सदस्य सचिवका रुपमा पालिका अध्यक्ष रामकृष्ण शर्मा तथा पालिका कमिटि र १४ वटा वडाका अध्यक्ष सहित कमिटिले साथ दिइरहेको छ । बागलुङ नगरपालिकामा २०५४ र २०७४ मा गरी दुइ पटक वडा नं. ४ को वडा अध्यक्ष भएर जनप्रतिनिधिको जिम्मेवारी बहन गर्नु भएका केसीले बागलुङ नगरपालिकामा एमालेको विरासत फर्काउने अभियानको नेतृत्व गर्नु भएको छ ।

निर्वाचन परिचालनका लागि १४ वटै वडाहरुमा वैठक गर्ने, वडास्तरीय निर्वाचन परिचालन लगायत आवश्यक कमिटि गठन गर्ने कार्य भैरहेको छ । नगरपालिका भित्र रहेका पार्टीका सम्पूर्ण नेता कार्यकर्ता, समर्थक शुभेच्छुकहरुलाई निर्वाचनमा केन्द्रीत गर्ने गरी अभियान सञ्चालनको तयारी भैरहेको केसीले बताउनुभयो ।

काठेखोला गाउँपालिकाको चुनावी कमाण्ड सम्हालेका अमर बहादुर थापा मगरलाई परिचालन समितिको सदस्य सचिवका रुपमा पालिका अध्यक्ष डिल बहादुर कार्की र ८ वटा वडाका अध्यक्षहरुले परिचालनका लागि साथ दिनु भएको छ ।

काठेखोलाका ८ वटै वडामा निर्वाचन परिचालन गठन गर्ने तयारी वैठक चलिहरेका छन्, माघ १६ गतेसम्म वडा स्तरीय परिचालन कमिटि बन्छ, त्यसपछि उम्मेदवार सहित घरदैलो, चुनावी सभा लगायतका कार्यक्रम गरिने संयोजक थापाले जानकारी दिनुभयो । काठेखोला गाउँपालिकाका संस्थापक अध्यक्ष समेत रहेका थापाले पालिका भित्रका सम्पूर्ण नेता कार्यकर्ताहरुलाई चुनावसम्मका लागि अन्य काम थाँती राखेर अभियानमा जुट्न आव्हान गर्नु भएको छ ।

एमालेका उम्मेदवार हिरा बहादुर केसीको पालिका समेत रहेका कारण पनि एमालेलाई चुनावी अभियानलाई थप प्रभावकारी बनाउने दवाव रहेकोछ । जैमिनी नगरपालिकाको चुनावी कमाण्ड सम्हालेका लिला रानालाई सदस्य सचिवका रुपमा पालिका अध्यक्ष देवेन्द्र पौडेल र १० वटा वडाका अध्यक्षहरुले साथ दिइरहेका छन् । निर्वाचन परिचालनका लागि वडा स्तरीय भेला, वैठक र अन्तरक्रियाहरु भैरहेका छन्, २० गतेभित्र सबै वडामा परिचालन कमिटि गठन गरेर सबै कमिटिलाई परिचालन गरिने रानाले जानकारी दिनुभयो ।

बरेङ गाउँपालिकामा चुनावी अभियानको नेतृत्व गरेका सञ्जाल शर्मालाई सदस्य सचिवका रुपमा पालिका अध्यक्ष झोम बहादुर थापा र ५ वटा वडाका अध्यक्षहरुले साथ दिइरहेका छन् । माघ १६ देखि २० गतेसम्म वडा स्तरीय भेलाको आयोजना गरिएको छ, वडा निर्वाचन परिचालन कमिटि गठनसंगै बरेङमा एमालेको जनलहर बढ्ने गरी अभियान सञ्चालन गरिने शर्माले बताउनुभयो ।

क्षेत्र नं. १ एमालेको प्रभावकारी उपस्थिति भएको ठाउँ हो । २०५१ को मध्यावधी निर्वाचन, २०६४ को संविधानसभा निर्वाचन र २०७४ को प्रतिनिधिसभा निर्वाचनमा एमालेका उम्मेदवार विजयी भएको यो क्षेत्रमा २०७० को दोस्रो संविधानसभा निर्वाचन र २०७९ को गण्डकी प्रदेशसभा निर्वाचनमा उम्मेदवार बनेर थोरै मतले पराजित भएका हिरा बहादुर केसीलाई एमालेले उम्मेदवार बनाएको छ ।

एमालेको संगठनलाई प्रभावकारी परिचालन गर्दा जित्न सकिने ठाउँमा छौ, एमालेका नेता इन्द्रलाल सापकोटाले भन्नुभयो,–‘एमालेको पूँजि भनेको संगठन हो, संगठनको प्रभावकारी परिचालन गर्दा एमालेको जित सुनिश्चित नै छ ।’