• २०८३ कार्तिक ७, शुक्रबार
  • 2026 October 23, Friday

रेश नुन्थला माविले मनायो ७० औं वार्षिकोत्सव

  • २०८२ माघ १८, आईतवार

बागलुङ । जिल्लाको ठेखोला गाउँपालिका–७, रेशमा रहेको रेश नुन्थला माध्यमिक विद्यालयले ७०औँ वार्षिकोत्सव तथा अभिभावक दिवस मनाएको छ । कार्यक्रमको उद्घाटन गर्दै काठेखोला गाउँपालिकाका अध्यक्ष राजु थापाले शुभकामना व्यक्त गर्दै यस विद्यालयले राष्ट्रलाई चिनाएको बताउनुभयो। उहाँले यस विद्यालयमा अध्ययन गरेका विद्यार्थीले देशका विभिन्न छेत्रबाट चिनाएको र शैक्षिक गुणस्तर बढाउन पालिका तयार रहेको बताउनुभयो ।

शिक्षक, अभिवावक र विद्यालय व्यवस्थापन समितिको पनि साथ रहेको उहाले बताउनुभयोे। उहाँले विद्यालय असल नागरिक उत्पादन गर्ने ठाउँ हो जसले गर्दा विद्यार्थीलाई असल बनाउनलाई किताबमा मात्र सिमित नभएर ज्ञान मुलक शिक्षा प्रदान गरेर पनि असल बनाउन विद्यालयले सहयोग गरेको बताउनुभयो ।

शिक्षा नै ठूलो कुरा रहेको भन्दै उहाँले नैतिकवान शिक्षा नै अहिलेको आवश्यक्ता रहेको र आफ्ना छोराछोरिलाई नैतिकवान बनाउन अभिभावकलाई आग्रह गर्नुभयो ।

उहाँका अनुसार अभिभावकले आफ्ना छोरा छोरीलाई विदेश पठाउनलाई मात्र विद्यालयमा पढाएको भन्दै राष्ट्र सेवक बनाउन आवश्ययक रहेको र विदेश नपठाउन आग्रह गर्नुभयो । कार्यक्रममा काठेखोला गाउँपालिका–७ का वडा अध्यक्ष प्रेम लामिछाने, काठेखोला गाउँपालिकाका निवर्तमान प्रमुख प्रसासकीय अधिकृत चुर्णबहादुर कार्की, इन्द्रावती अक्षय कोषका संरक्षक जब्बरबहादुर लामिछाने, विद्यालयका सल्लाहकार डिलबहादुर कार्की, विद्यालयका पूर्वविद्यालय व्यवस्थापन समितीका अध्यक्ष चित्रबहादुर कार्की, लक्ष्मी माध्यमिक विद्यालयका प्रधानाध्यापक गोविन्द भण्डारी र कक्षा १० मा अध्ययनरत छात्र टार्जन गुरुङले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

शैक्षिक गतिविधिमा अघि बढाउन सबैको हातेमालो आवश्यक रहको र गाउँ गाउँका विद्यालयमा भौतिक पूर्वाधारको आवश्यकता रहेको बताए । कार्यक्रममा विद्यालयका प्रधानाध्यापक ओमबहादुर थापाले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । उहाँले पूर्वधार निर्माण अहिले पनि आवश्यक्ता रहेको बताउनुभयो । उहाँले विभिन्न समयमा अक्षयकोष निर्माण गरेको जानकारी दिनुभयो।

२०१३ सालमा स्थापना भएको यस विद्यालयमा हाल छात्र १ सय ९ र छात्रा १ सय ७ गरि कुल विद्यार्थी २२६ जना अध्ययरत रहेकाछन् भने हाल विद्यालयमा २३ जना शिक्षक शिक्षिकाले अध्यापन गराई रहेको उहाले जानकारी दिनुभयो । साथै विद्यालयले शैक्षिक गुणस्तर अभिवृद्धिमा भौतिक पुर्वाधार तथा सिकाईलाई निरन्तर गरिएको उहाँले बताउनुभयो ।

कार्यक्रममा विभिन्न खेलमा सहभागी भएका विद्यार्थी खेलाडीहरुलाई पुरस्कार वितरण पनि गरिएको थियो भने एसईई परिक्षामा उत्कृष्ट अंक ल्याएका विद्यार्थीहरुलाई सम्मान पनि गरिएको थियो । जसमा दिक्षा कुँवर, प्रमोद थापा, करण किसान, भगवान जिसी, लप्सन थापा, पार्वती कुँवर एन्जिना थापा, दिवस थापा, काजल थापा, अर्जुन किसान, ममता थापा, विप्लभ जिसी, पुनम कार्की, चुणामणी थापा र आयुषा गौतमलाई सम्मान गरिएको थियो । उनीहरुलाई काठेखोला गाउपालिकाका अध्यक्ष राजु थापा, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विरेन्द्र कार्की र प्रधानाध्यापक ओमबहादुर थापाले सम्मान पत्र हस्तान्तरण गरेका थिए ।

कार्यक्रममा विभिन्न कक्षाका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिएको थियो भने उक्त विद्यालयमा खडा गरिएका विभिन्न अक्षय कोषबाट विद्यार्थी शिक्षक र अभिवावकलाई सम्मान समेत गरिएको थियो । कार्यक्रम विद्यालय व्यवस्थापन समितीका अध्यक्ष वीरेन्द्र कार्कीको अध्यक्षता, शिक्षक हरि कुवँरको स्वागत र शिक्षक डिलबहादुर कार्कीको सञ्चालनमा सम्पन्न भएको थियो ।

  • २०८२ माघ १८, आईतवार