बागलुङ । बागलुङ क्षेत्र नं. १ का प्रत्यक्षतर्फका उम्मेदवार सुशील खड्कालाई सहयोग गर्न बागलुङ आउनुभएकी युवा उद्यमी अनुष्का श्रेष्ठ घरदैलोमा व्यस्त हुनुहुन्छ ।
पूर्व मिस नेपाल तथा युवा महिला उद्यमी तथा रास्वापाको समानुपातिक उम्मेदवार अनुष्का श्रेष्ठले बागलुङ नगरपालिका–३ का मतदातासंग ‘जनतासँग उम्मेदवार’ कार्यक्रमअन्तर्गत घरदैलो अभियान सञ्चालन गरिरहनुभएको छ ।
घरदैलो अभियानका क्रममा श्रेष्ठले बागलुङमा ब्युटिसियन सम्बन्धी तालिममार्फत सीप आर्जन गरिरहेका महिला दिदीबहिनीहरूसँग प्रत्यक्ष अन्तरक्रिया गर्नुभयो । सो अवसरमा महिलाहरूले रोजगारीको अभाव, उद्यम सञ्चालनमा देखिएका कठिनाइ, सीपको उचित बजार नहुनु तथा परिवारका सदस्यहरू वैदेशिक रोजगारीमा जान बाध्य हुनुपर्ने अवस्था जस्ता समस्याहरू उठाएका थिए ।
अन्तरक्रियाका क्रममा श्रेष्ठले बाग्लुङका मुख्य समस्या आर्थिक प्रकृतिका रहेको उल्लेख गर्दै ती समस्याको दिगो समाधानका लागि अनुभवी अर्थनीति विज्ञको आवश्यकता रहेको बताउनुभयो । उहाँले राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट उम्मेदवार सुशील खड्का बागलुङको समाज, समस्या र संभावनालाई नजिकबाट बुझेका सक्षम इन्जिनियर तथा अर्थविद् रहेको उल्लेख गर्नुभयो ।
श्रेष्ठले खड्काको विज्ञता आर्थिक समस्याको समाधान र रोजगारी सिर्जनामा केन्द्रित रहेको बताउँदै उहाँको उम्मेदवारीले बाग्लुङ क्षेत्र नं. १ मा विकास र आर्थिक सुदृढीकरणमा योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो ।