बागलुङ । अर्थमन्त्री रामेश्वर खनालले निर्धक्क भएर निर्वाचनमा लाग्न आग्रह गर्नुभएको छ । निर्वाचनको तयारीका विषयमा स्थलगत अनुगमन गर्न बागलुङ आउनुभएका खनालले निर्धक्क भएर चुनावको तयारीमा जुट्न आग्रह गर्दै नागरिकले शान्त वातावरणमा मत प्रकट गर्ने व्यवस्था सरकारले बनाइरहेको बताउनुभयो ।
खनालले मुख्न निर्वाचन अधिकृतको कार्यालय बागलुङ, जिल्ला निर्वाचन कार्यालय बागलुङ र जिल्ला प्रशासन कार्यालय बागलुङको अनुगमन समेत गर्नुभएको थियो । अनुगमनपछि खनालले जिल्ला स्थित सुरक्षा समितिको बैठकमा निर्वाचनको सुरक्षाको विषयमा जानकारी लिनुभएको प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद आचार्लले जानकारी दिनुभयो । अर्थमन्त्री खनालले निर्वाचनमा स्रोत अभाव नहुँने बताउनुभयो ।
“निर्वाचन सफल बनाउन सबैको कर्तव्य हो, सुरक्षा व्यवस्था देखि आचारसंहिता कार्यान्वयन गर्नु गराउनु हाम्रो दायित्व हो” खनालले भन्नुभयो “सरकार निर्वाचन गराउने उदेश्यमा कुनै कमि राख्दैन, केही समस्या भए तुरुन्तै भन्नु, नागरिकले मत प्रकट सहज वातावरणमा गर्नुप¥यो ।”
खनालले जिल्लाको समग्र सुरक्षाको अवस्था, मतदान केन्द्रको जानकारी र आचारसंहिता कार्यान्वयनको अवस्थाको विषयमा जानकारी लिनुभएको थियो ।
बागलुङको मुख्य निर्वाचन अधिकारी सिता शर्मा अधिकारीले बागलुङमा शान्ति सुरक्षा, आचारसंहिता र अहिले सम्मको निर्वाचनको समग्र अवस्थाको विषयमा जानकारी गराउनुभएको थियो । बिहीबार बागलुङ आउनुभएको खनालले सुरक्षा निकाय, मुख्य निर्वाचन अधिकृत र निर्वाचन कार्यालयका अधिकारीहरूसँग निर्वाचनको तयारी र जिल्लाको वस्तु अवस्थाका विषयमा जानकारी लिएर निर्वाचन अधिकृतको कार्यालय क्षेत्र नम्बर २ बुर्तिवाङको अनुगमनका लागि जानुभएको छ ।
उहाँले निर्वाचनको समयमा आउने गलत र भ्रामक सुचनालाई सम्पादन गरेर चनाखो भएर बस्न सुरक्षा निकायलाई निर्देशन दिनुभयो ।
मन्त्री खनाललाई मुख्य निर्वाचन अधिकृत सिता शर्मा अधिकारी, प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद आचार्य, प्रहरी उपरिक्षक तिलक भारती लायतसंग चुनावको तयारीका विषयमा जानकारी दिनुभएको थियो । बागलुङमा आचारसंहिता उल्लघन नभएको उनिहरुले खनाललाई जानकारी गराएका थिए ।
१० स्थानीय तह र ८५ वटा वडा रहेको बागलुङमा दुई वटा प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको छ । बागलुङमा आगामी फागुन २१ को प्रतिनिधीसभाको निर्वाचनमा १०७ मतदानस्थल र २३० मतदान केन्द्र कायम गरिएको छ । बागलुङमा कुल एक लाख ९३ हजार ३८१ जना मतदाता रहेका छन् । दुई वटा प्रतिनिधिसभा सदस्यका लागि २३ जना चुनावी मैदानमा छन् ।