• २०८३ आश्विन २७, मंगलवार
  • 2026 October 13, Tuesday

आदर्शकर्मी पन्त र पत्रकार कार्कीलाई पत्रकारिता पुरस्कार

  • २०८२ माघ २२, बिहीबार

बागलुङ । प्रेस चौतारी नेपाल जिल्ला शाखा बागलुङले दुई कृयाशिल पत्रकारलाई पुरस्कृत गरेको छ । जिल्ला शाखा बागलुङले प्रदान गर्दै आएको कृयाशिल पत्रकारिता पुरस्कारबाट आदर्श सञ्चार सहकारीका सह–सम्पादक सृजना पन्तलाई पुरस्कृत गरेको छ । पन्त धौलागिरी जागरण दैनिक र नेपाल समाचारपत्रमा कार्यरत हुनुहुन्छ । उक्त पुरस्कार २०७२ सालमा स्थापना गरेर प्रदान गरिदै आइएको छ ।

यस्तै तीन वर्षदेखि प्रदान गरिदै आएको प्रेस चौतारी युवा कृयाशिल पत्रकारितका पुरस्कार यस वर्ष जननिगरानी साप्ताहिकका सम्पादक तथा गोरखापत्र दैनिकमा कार्यरत पत्रकार अर्जुन कार्कीलाई प्रदान गरिएको छ । पन्त र कार्की बागलुङमा एक दशक भन्दा बढीदेखि पत्रकारितामा सक्रिय रहेका छन् । बिहीबार प्रेस चौतारी नेपालको २८ औं स्थापना दिवसको अवसरमा बागलुङ शाखाले पत्रकार दुई जनालाई नगद १० हजारका दरले पुरस्कृत गरेको जिल्ला अध्यक्ष कमल पौडेलले जानकारी दिनुभयो ।

जिल्ला शाखाले २०७२ सालमा स्थापना गरेको कृयाशिल पत्रकारिता पुरस्कार जेष्ठता, कृयाशिलता, निरन्तरताका आधारमा हरेक वर्ष अग्रज पत्रकार छनोट गरेर प्रदान गर्दै आएको छ । प्रेस चौतारी नेपालका केन्द्रिय अध्यक्ष गणेश पाण्डेकोे भाग्यले बाँचेका डकुमेन्ट्रि प्रदर्शन गरेर उक्त पुरस्कार कोष स्थापना गरिएको थियो ।

यसअघि उक्त पुरस्कार कोषबाट १० जना पत्रकार पुरस्कृत भैसकेका छन् । त्यस्तै २०७९ सालमा स्थापना गरिएको युवा पत्रकारिता पुरस्कार कार्कीलार्ई प्रदान गरिएको हो । युवा कृयाशिल पत्रकारिता पुरस्कारबाट यस अघि खेमराज गौतम र तारानाथ आचार्य पुरस्कृत भइसक्नुभएको थियो । यस वर्ष क्रियाशिल पत्रकारितका पुरस्कार छनौटमा समितिमा पूर्वकेन्द्रिय सचिव रामृकष्ण शर्माको संयोजकत्वमा सल्लाहकार रामृकष्ण बोहोरा र जिल्ला अध्यक्ष कमल पौडेल रहनुभएको थियो ।

यस्तै युवा क्रियाशिल पत्रकारिता पुरस्कार छनौट समितिमा नीति तथा अनुसन्धान आयोगका केन्द्रिय सदस्य उमाकान्त शर्माको संयोजकत्वमा पूर्वजिल्ला इन्चार्ज खिम कार्की र जिल्ला अध्यक्ष कमल पौडेल रहनुभएको थियो । प्रेस चौतारी क्रियाशिल पत्रकारिता पुरस्कार जेष्ठता, कृयाशिलाता र निरन्तरताका आधारमा दिइने कार्यविधि रहेको छ भने युवा कृयाशिल पत्रकारिता पुरस्कार जिल्लाको सक्रिय पत्रकारलाई दिइने छनौट समितिका संयोजक राम कृष्ण शर्माले जानकारी दिनुभयो ।

समाज परिवर्तनका क्षेत्रमा कलम चलाउने युवा पत्रकारहरु मध्येबाट पुरस्कृत गर्ने गरी उक्त पुरस्कार कोष स्थापना गरिएको थियो । दुवै पुरस्कारको राशी दश÷दश हजार रुपैयाँ रहेको छ ।

  • २०८२ माघ २२, बिहीबार