आगामी फागुन २१ गते प्रतिनिधिसभाको निर्वाचन हुदैछ । मुलुक निर्वाचनमय भएको छ । राजनीतिक दलहरु यतिबेला मतदाताको घरदैलोमा मत माग्दैछन् । यद्यपी दलहरुको मत माग्ने तौर तरिका, निर्वाचन परिचालनको परिपाटीमा खासै फरकपन देखिदैन । प्रक्रिया पुरानै सही, दलहरु चुनाव केन्द्रीत भएका छन् । सबै राजनीतिक दलहरुले निर्वाचन परिचालन समिति गठन गरी प्रचार अभियानलाई तिव्रता दिनुका साथै व्यवस्थापनको कामलाई समेत प्रभावकारी बनाउदै गएका छन् । बागलुङ क्षेत्र नं. १ मा २०७९ को निर्वाचनमा ५ दलीय गठबन्धनबाट विजयी भएको राष्ट्रिय जनमोर्चा यसपटक नेपाली कम्युनिष्ट पार्टी (नेकपा) संग तालमेल गरेर चुनावमा होमिएको छ । साझा बाम उम्मेदवारका रुपमा बागलुङ क्षेत्र नं. १ मा राजमोका पूर्व सचिव युवा नेता कृष्ण अधिकारी उम्मेदवार रहनु भएको छ । बागलुङ क्षेत्र नं. १ मा दुइ बामपन्थी दलका साझा उम्मेदवारलाई जिताउने अभियानको कमाण्डर (निर्वाचन परिचालन समितिको संयोजक) बनेका राष्ट्रिय जनमोर्चा बागलुङका अध्यक्ष तिलक थापासंग आदर्शसञ्चार अनलाईनले निर्वाचन परिचालन लगायतका विषयमा गरेको सम्वाद यहाँ प्रस्तुत गरिएको छ ।
चुनाव परिचालनका लागि के कसरी अगाडि बढ्दै हुनुहुन्छ ?
हामी राष्ट्रिय जनमोर्चा र नेपाली कम्युनिष्ट पार्टी (नेकपा) बीच बागलुङ जिल्लामा चुनावी सहकार्य गरी निर्वाचन क्षेत्र नं. १ मा राष्ट्रिय जनमोर्चाका नेता कृष्ण अधिकारी र क्षेत्र नं. २ मा नेकपाका नेता ज्ञामनाथ गैरे (अनिल)लाई साझा बाम उम्मेदवारको रुपमा प्रस्तुत गरेका छौ । विशेषत क्षेत्र नं. १ को चुनावी अभियानलाई प्रभावकारी बनाउदै साझा बाम उम्मेदवारलाई विजयी बनाउन आम नेता कार्यकर्तालाई परिचालन गर्न तथा मतदातालाई सहयोगी बनाउनका लागि तिलक थापा संयोजक, कुमार विक्रम क्षेत्री र बाबुकाजी केसी सहसंयोजक रहेको ३५ जनाको सचिवालय सहित १००१ सदस्यीय क्षेत्रीय निर्वाचन परिचालन समिति गठन गरेर चुनावी अभियानलाई अगाडि बढाएका छौ ।
यस्तै लक्ष्मी बाँस्कोटा संयोजक र टिका विक सहसंयोजक रहेको महिला परिचालन समिति, बिरेन्द्र थापा संयोजक र जीवन शर्मा सहसंयोजक रहेको युवा परिचालन समिति गठन गरिएको छ । पालिका स्तरमा काठेखोलामा लक्ष्मण पुन संयोजक र टिका संगम सहसंयोजक रहेको ३०१ सदस्यीय समिति, बानपामा निर्मल श्रेष्ठ संंयोजक र टेक बहादुर केसी (आरसी) सहसंयोजक रहेको ३२५ सदस्यीय समिति, जैमिनी नगरपालिकामा दिल बहादुर श्रीस संयोजक र लाल बहादुर परियार सहसंयोजक रहेको ५०१ सदस्यीय समिति, बरेङ गाउँपालिकामा रुपनारायण शर्मा संयोजक र सन्त बहादुर श्रीस सहसंयोजक रहेको निर्वाचन परिचालन समिति गठन गरेका छौ । यो क्षेत्रका ३७ वटै वडामा वडा स्तरीय निर्वाचन परिचालन समिति गठन गर्नुका साथै चुनावी अभियानका लागि सम्पर्क कार्यालय राखेर टोल टोल र घरघरसम्म निर्वाचन अभियान सञ्चालन गरेका छौ ।
यो क्षेत्रमा चुनाव परिचालनका लागि मुख्य अवसर र चुनौती के के छन् ?
यो क्षेत्रको चुनाव परिचालनको मुख्य अवसर नागरिकबीचमा गएर ताजा जनादेश लिनु नै हो । बागलुङ जिल्ला सधै अग्रगामी परिवर्तनका पक्षमा रहदै आएको छ र रहिरहने छ भन्ने सन्देश यस निर्वाचनले पनि दिनेछ । नागरिकसंग प्रत्यक्ष भेटघाट, गुनासो, नागरिकको दृढ साहस प्रत्यक्ष रुपमा पाइएको छ, यो अवसर हो । चुनौतीका रुपमा अहिले पनि सहज यातायातको पहुँच छैन । नागरिकमा हल्लाको पछाडि दौडिने केही मास पनि छ । त्यसले निर्वाचनको माहोललाई असहज बनाउन पनि सक्छ । यद्यपी बागलुङवासी आम जनता हल्लाको पछि दौडिदैनन् भन्नेमा हामी विश्वस्त छौ ।
उम्मेदवारसहितका कार्यक्रम कसरी तय हुदैछन् ?
उम्मेदवारसहितको कार्यक्रम २ चरणमा तय गरिएको छ । पहिलो चरण माघ २० गतेदेखि फागुन ३ गतेसम्म जनभेटघाट, बैठक, कार्यकर्ता स्तरमा परिचालन गर्ने कार्य गर्दैछौ । दोस्रो चरणमा फागुन ४ गतेदेखि १७ गतेसम्म जनभेटघाट, सभा, प्रचार प्रसार लगायतका कार्यक्रम गरिनेछ ।
बृहत चुनावी सभाको तयारी बारे के छ ? केन्द्रीय स्तरका नेताहरुले सम्बोधन गर्ने सभाहरुको तयारी पनि छ कि ?
चुनावी अभियानमा केन्द्रीय स्तरका नेताहरु ल्याउने र कार्यक्रम गर्ने विषयमा वैठकमा छलफल भैरहेको छ । सभा तथा प्रचार प्रसारका लागि केन्द्रीय स्तरका नेताहरु पनि समय तालिका मिलाएर आउनु हुनेछ ।
यो क्षेत्रमा मुख्य प्रतिस्पर्धा को संग हुदैछ ?
बागलुङ क्षेत्र नं. १ मा नेकपा एमाले, नेपाली कांग्रेस र राष्ट्रिय स्वतन्त्र पार्टीबीच नै हाम्रो प्रतिस्पर्धा हुनेछ । हामीलाई आशा र विश्वास छ, बागलुङवासी सचेत नागरिक देश बर्वाद गर्ने र देशलाई तहस नहस पार्ने शक्तिको पछाडि लाग्ने छैनन्, त्यसैले हाम्रो जित सुनिश्चित छ ।