बागलुङ । नेकपा एमालेका तर्फबाट बागलुङ क्षेत्र नं. १ का उम्मेदवार हिरा बहादुर केसीले फागुन २१ गतेसम्म सबै नेता कार्यकर्ताले आफुलाई नै उम्मेदवार हिरा बहादुर केसी सम्झेर जनताको बिचमा जान आव्हान गर्नु भएको छ । चुनावी अभियान अन्तरगत माघ २६ गते मंगलवार काठेखोला गाउँपालिका वडा नं. ७ रेशमा पुगेका केसीले पार्टीका नेता कार्यकर्ताहरुलाई यस्तो आव्हान गर्नु भएको हो ।
चुनावको समय थोरै छ, क्षेत्र नंं १ मा ३७ वटा वडा छन्, भौगोलिक अवस्था कठिन छ, उम्मेदवार सबै मतदाताका घर घरमा पुग्न सक्ने अवस्था छैन, त्यसैले पार्टीका नेता कार्यकर्ताले मतदातालाई उम्मेदवार आउन नसकेको गुनासो नहुने गरी परिचालन हुनु पर्छ, उम्मेदवार केसीले भन्नुभयो, –‘फागुन २१ गतेसम्म मै उम्मेदवार हिरा केसी हुँ भन्ने ठानेर लाग्नका लागि मेरो अनुरोध छ ।’ एमालेको पूँजि भनेको संगठन हो, संगठनको जिम्मेवारीमा रहेका सम्पूर्ण नेता कार्यकर्ताले आफुलाई उम्मेदवार सम्झेर जनताका बीचमा पुग्दा एमालेको जित सुनिश्चित भएको केसीको भनाइ छ ।
रेशमा ३ सय ५१ सदस्यीय निर्वाचन परिचालन कमिटि बनेको छ, कमिटिका सबै सदस्यहरुले आफ्नो घर परिवार, वल्लो पल्लो घर र छिमेक तथा टोलका मतदातालाई एमालेले गरेका विगतका जनपक्षीय काम र आगामी योजनाहरुका बारेमा जानकारी गराउन पनि केसीले आग्रह गर्नु भयो ।
फागुन २१ गतेसम्म तपाईहरु जमानी बसेर चुनावमा एमालेलाई मत दिन लगाउनुस, चुनावमा जितेपछि आफ्नो जिम्मेवारी कुशलतापूर्वक सम्पन्न गर्न म जनताका लागि जमानत बस्नेछु, केसीको भनाइ थियो । गाउँको विकासको शुरुवात नेकपा एमाले नेतृत्वको सरकारले २०५१ सालबाटै गरेको हो, एमालेले शुरु गरेको अभियानले क्रमश सफलता पाउदै गएको छ, जनताको चाहना र भावना अनुसार नीति निर्माण गर्न तथा विकास निर्माणका कामलाई गतिदिन आफु निरन्तर लाग्ने प्रतिवद्धता केसीले गर्नु भएको छ ।
काठेखोला गाउँपालिकाका ८ वटा वडामा उम्मेदवार सहितको वडा स्तरीय भेला तथा जन भेटघाट सम्पन्न भएको पालिका स्तरीय निर्वाचन परिचालन कमिटिका संयोजक अमर बहादुर थापाले जानकारी दिनुभयो । माघ १९ गते वडा नं. १ पालाबाट अभियान शुरु गरेका थियौ, २६ गते रेशमा पुगेर पालिका स्तरीय पहिलो चरणको चुनावी अभियान सम्पन्न गरिएको थापाले बताउनुभयो ।
मंगलवार रेशमा साविकका वडाहरुमा टोलभेला सम्पन्न भएका छन् । टोल भेलामा उम्मेदवार हिरा बहादुर केसी, एमाले नेता इन्द्रलाल सापकोटा, पालिका स्तरीय निर्वाचन परिचालन कमिटिका संयोजक तथा काठेखोला गाउँपालिकाका संस्थापक अध्यक्ष अमर बहादुर थापा, पालिका कमिटिका अध्यक्ष डिल बहादुर कार्की, सचिव तिलक खड्का लगायतका नेता कार्यकर्ताहरुको सहभागिता रहेको वडा नं. ७ का वडा स्तरीय चुनाव परिचालन कमिटिका संयोजक शारदा थापाले जानकारी दिनुभयो ।