बागलुङ । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा एमालेका उम्मेदवार जिताउन काठेखोला गाउँपालिकाका ८ वटा वडामा एमालेले चुनावी अभियान सम्पन्न गरेको छ ।
उम्मेदवार हिरा बहादुर केसी, एमाले नेता इन्द्रलाल सापकोटा, पालिका स्तरीय निर्वाचन परिचालन संयोजक अमर बहादुर थापा, पालिका कमिटिका अध्यक्ष डिल बहादुर कार्की, सचिव तिलक खड्का लगायतको टोलीले पहिलो चरणको भेटघाट मंगलवार सम्पन्न गरेको हो ।
माघ १९ गते सोमबार काठेखोला गाउँपालिका वडा नं. १ पालाबाट शुरु भएको अभियान माघ २६ गते वडा नं. ७ रेशमा पुगेर सम्पन्न भएको हो ।
एमालेले काठेखोला गाउँपालिका वडा नं. ३ धम्जा निवासी पार्टीका जिल्ला अध्यक्ष हिरा बहादुर केसीलाई उम्मेदवार बनाएको छ ।
एमालेका उम्मेदवारलाई विजयी बनाउन काठेखोलामा चुनाव हाँक्नका लागि ८ वडामा ८ जना कमाण्डर (संयोजक) तोकिएको छ । वडा तहमा निर्वाचन परिचालन गर्ने, मतदातालाई भेट्ने तथा पालिका स्तरीय निर्वाचन परिचालन कमिटिसंग समन्वय गरेर थप गतिविधि अगाडि बढाउनका लागि वडा निर्वाचन परिचालन कमिटिलाई जिम्मेवारी दिइएको पालिका स्तरीय निर्वाचन परिचालन कमिटिका संयोजक अमर बहादुर थापाले जानकारी दिनुभयो ।
२०७९ जेठमा सम्पन्न स्थानीय तह निर्वाचनमा काठेखोलामा एमालेले वडा नं. २, ३ र ७ मा वडा अध्यक्ष र सदस्यहरुमा विजयी भएको थियो । अन्य ५ वटा वडामा एमालेका उम्मेदवारहरु निकटतम प्रतिद्वन्द्वी थिए । ५ दलीय गठबन्धनका उम्मेदवारसंग प्रतिस्पर्धा गरेको एमालेले त्यतिबेला पाएको मत जोगाउन सक्दा फेरी पनि एमाले काठेखोलामा पहिलो शक्ति नै रहनेछ ।
८ जना वडा अध्यक्षका उम्मेदवारले ६ हजार ९ सय ४० मत प्राप्त गरेका थिए । ५ दलीय गठबन्धनका ८ जना वडा अध्यक्षका उम्मेदवारहरुले ७ हजार ८९ मत प्राप्त गरेका थिए । २०७९ को स्थानीय तह निर्वाचन पछिको राजनीतिक अवस्थामा धेरै नै परिवर्तन आएको छ । उद्यपी एमालेका नेता कार्यकर्ताहरुले गत स्थानीय तह निर्वाचनमा वडा अध्यक्षका उम्मेदवारहरुले पाएको मत जोगाउने दावी गरेका छन् ।
एमालेका उम्मेदवारलाई विजयी गराउन काठेखोलामा पालिका स्तरीय निर्वाचन परिचालन कमिटि, ८ वटा वडामा ८ जना चुनावी कमाण्डर सहित ८ सय ४० जना पार्टी सदस्यहरु चुनाव परिचालनको जिम्मेवारीमा रहेको एमाले काठेखोलाका कमिटिका सचिव तिलक खड्काले जानकारी दिनुभयो ।
एमालेका जिल्ला अध्यक्ष हिरा बहादुर केसी सहित काठेखोलाबाट प्रदेश कमिटिमा प्रतिनिधित्व गर्ने ३ जना, जिल्ला कमिटिमा प्रतिनिधित्व गर्ने १६ जना चुनावी अभियानका अगुवा रहेका छन् । पार्टीको पालिका कमिटि, ८ वटा वडा कमिटि, अखिल नेपाल महिला संघ, युवा संघ, अनेरास्ववियू लगायत सबै जन संगठनमा आवद्ध नेता कार्यकर्तालाई चुनावमा परिचालन गर्ने गरी अभियान सञ्चालन गर्न लागिएको पालिका अध्यक्ष डिल बहादुर कार्कीले जानकारी दिनुभएको छ ।
एमालेले काठेखोला गाउँपालिका वडा नं. १ पालाको चुनाव परिचालनका लागि पूर्व जिल्ला कमिटि सदस्य गोविन्द बहादुर खड्कालाई चुनावी कमाण्डर बनाएको छ । खड्काको संयोजकत्वमा गठित २५ सदस्यीय निर्वाचन परिचालनले वडाको समग्र निर्वाचन परिचालनको जिम्मेवारी लिएर चुनावी अभियानमा जुटेको एमालेले जनाएको छ । गत स्थानीय निर्वाचनमा खड्का वडा अध्यक्षका उम्मेदवार रहनु भएको थियो । खड्काले ५ सय १९ मत प्राप्त गर्नु भएको थियो ।
वडा नं. २ भीमापोखरामा एमालेले जिल्ला कमिटि सदस्य प्रेम बहादुर केसीलाई चुनावी कमाण्डर (संयोजक) चयन गरेको छ । केसीको नेतृत्वमा रहेको २ सय १ सदस्यीय निर्वाचन परिचालन कमिटिले उम्मेदवार सहितको भेटघाट कार्यक्रम सम्पन्न गरिसेको छ । वडा भित्रको चुनावी अभियान र प्रभावकारी परिचालनमा समग्र पार्टी पंक्तिलाई जोड्ने गरी काम भैरहेको संयोजक केसीले जानकारी दिनुभयो । साविकका ९ वटै वडामा निर्वाचन परिचालन टोल कमिटि गठन गरिएको छ, युवा र महिला लगायत जनसंगठन परिचालन गर्न छुट्टै जिम्मेवारी दिएको केसीले बताउनुभयो ।
वडा नं. २ मा एमालेबाट निर्वाचित वडा अध्यक्ष विद्यापती शर्माले गत स्थानीय तह निर्वाचनमा १ हजार ३० मत प्राप्त गर्नु भएको थियो ।
वडा नं. ३ धम्जामा पूर्व जिल्ला कमिटि सदस्य खुम भण्डारीले चुनावी अभियानको कमाण्ड सम्हाल्नु भएको छ । भण्डारीको नेतृत्व रहेको १ सय ५१ सदस्यीय चुनाव परिचालन कमिटिले मतदाता भेटघाट लगायत निर्वाचन केन्द्रीत अभियान सञ्चालन गरेको छ । धम्जामा एमालेबाट निर्वाचित वडा अध्यक्ष कुल बहादुर विकले गत स्थानीय निर्वाचनमा ८ सय ९६ मत प्राप्त गर्नु भएको थियो ।
एमालेले काठेखोला गाउँपालिका वडा नं. ४ मा वडा कमिटिका अध्यक्ष बल बहादुर थापालाई चुनावी कमाण्डर बनाएको छ । थापाको संयोजकत्वमा गठित २१ सदस्यीय निर्वाचन परिचालन कमिटिले वडामा उम्मेदवार सहितको भेटघाट लगायत चुनावी अभियान सञ्चालन गरेको थापाले जानकारी दिनुभयो । गत स्थानीय निर्वाचनमा थापा वडा अध्यक्षको उम्मेदवार रहनु भएको थियो । उक्त निर्वाचनमा थापाले ८ सय २३ मत प्राप्त गर्नु भएको थियो ।
वडा नं. ५ उपल्लो बिहुमा एमालेको चुनाव परिचालनका लागि प्रेम पुनको संयोजकत्वमा २९ सदस्यीय निर्वाचन परिचालन कमिटि गठन भएको छ । परिचालन कमिटिले उम्मेदवार सहित भेटघाट तथा टोलभेलाहरु सम्पन्न गरेको छ । गत स्थानीय निर्वाचनमा वडा नं. ५ मा एमालेका तर्फबाट हिम बहादुर क्षेत्री उम्मेदवार रहनु भएको थियो । क्षेत्रीले उक्त निर्वाचनमा ७ सय ५५ मत प्राप्त गर्नु भएको थियो ।
वडा नं. ६ तल्लो बिहुमा निर्वाचन हाँक्ने जिम्मेवारी जिल्ला कमिटि सदस्य नविन कंडेलले पाउनु भएको छ । कंडेलको संयोजकत्वमा गठित ३१ सदस्यीय निर्वाचन परिचालन कमिटिले वडा नं. ६ मा उम्मेदवार सहित टोल भेला र जनभेटघाट कार्यक्रम सम्पन्न गरेको र चुनाव परिचालनका थप कार्यक्रम तय गरेको कंंडेलले जानकारी दिनुभयो । वडा नं. ६ मा एमालेका तर्फबाट गत निर्वाचनमा वडा अध्यक्षका उम्मेदवार हरिलाल कंडेलले ६ सय मत प्राप्त गर्नु भएको थियो ।
जिल्लामै एमालेको गढका रुपमा रहेको काठेखोला गाउँपालिका वडा नं. ७ रेशमा चुनावी कमाण्ड सम्हाल्ने जिम्मा जिल्ला कमिटि सदस्य शारदा थापाले पाउनु भएको छ । थापाको संयोजकत्वमा गठित ३ सय ५१ सदस्यीय निर्वाचन परिचालन कमिटिले निर्वाचन परिचालनका विभिन्न योजना निर्माण गर्नुका साथै उम्मेदवार सहित वडाका विभिन्न ७ ठाउँमा टोल भेला सम्पन्न गरेको छ ।
टोलभेलासंगै युवा, महिला परिचालनका साथै मतदातासंगको भेटघाट र परामर्श गरिने संयोजक थापाले जानकारी दिनुभयो । वडा नं. ७ रेशमा एमालेबाट निर्वाचित वडा अध्यक्ष प्रेम बहादुर जिसीले गत निर्वाचनमा १ हजार ७ सय ९७ मत प्राप्त गर्नु भएको थियो ।
वडा नं. ८ लेखानीमा गण्डकी प्रदेश कमिटिका पूर्व सदस्य सुवास गौतमको संयोजकत्वमा ३१ सदस्यीय निर्वाचन परिचालन कमिटि गठन गरिएको छ । कमिटिले उम्मेदवार सहित टोल भेला र जभेटघाट सम्पन्न गरेको छ । वडा नं. ८ लेखानीमा गत स्थानीय निर्वाचनमा वडा अध्यक्षका उम्मेदवार चित्रकला छन्त्याल श्रीसले ५ सय २० मत प्राप्त गर्नु भएको थियो ।
२०४६ सालको परिवर्तन पछि नै काठेखोलाका तत्कालिन गाविसहरुमा एमाले सांगठानिक रुपमा बलियो नै छ । रेश, धम्जा, भीमापोखरा र पालामा एमालेको राम्रो संगठन छ भने संघीयतापछि लेखानी र बिहुँमा समेत वडा अध्यक्ष जित्नुका साथै पहिलो गाँउपालिकाको अध्यक्ष समेत जितेको एमालेलाई पुरानो विरासत जोगाउन पर्ने वाध्यता छ ।
एमालेको विरासत जोगाउनका लागि सबै भन्दा बलियो आधार भनेको संगठन परिचालन नै हो, पालिकाबाट माथिल्लो कमिटिमा प्रतिनिधित्व गर्नेहरु, पालिका कमिटि, वडा कमिटिहरु, जनवर्गीय संगठन, जनप्रतिनिधिहरु सबै सक्रियताका साथ चुनावी मैदानमा होमिदा एमालेले अघिल्लो स्थानीय निर्वाचनमा पाएको मत जोगाउन गारो नहुने एमाले कार्यकर्ताहरु बताउछन् ।
