बागलुङ । विकास र समृद्धिको चरणमा रहेको बागलुङ क्षेत्र नम्बर एकको निर्वाचन प्रतिष्ठाको लडाइ बन्दै आएको छ । राष्ट्रिय राजनीतिमा नाम कमाएका राष्ट्रिय जनमोर्चाका नेता चित्र बहादुर केसी यस अघि निर्वाचित हुनुभएको यस क्षेत्र एमाले र कांग्रेसको समेत उत्तिकै संगठन भएको क्षेत्रको रुपमा चिनिन्छ ।
बागलुङ सदरमुकाम सेमत रहेको यस क्षत्रमा फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा ११ दलका ११ उम्मेदवार चुनावी मैदानमा छन् । जसमध्ये दोहोरीरहने उम्मेदवार हुन एमालेका हिरा बहादुर केसी । तेस्रो प्रसायमा संसद भवन छिर्ने योजनामा रहेका केसी यस पटक जनताबाट न्याय हुने आशामा छन् । तर केसीलाई पुरानै दलका नयाँ उम्मेदवारहरु र नयाँ दलका युवा उम्मेदवारहरुले चुनौती दिने निश्चित छ । बागलुङ क्षेत्र नम्बर एक आफ्नो विरासत जोगाउँने दाउरमा रहेको एमालेलाई कांग्रेस, जनमोर्चा र रास्वपा लगायतका नयाँ उम्मेदवार चुनौतीका रुमा आएका छन् ।
बागलुङको केन्द्रमा पहुँच पु¥याउने भन्दै ३० वर्षदेखि जनताको साथमा काम गरिरहेको बताउदै एमालेका उम्मेदवार हिरा बहादुर केसीले यस पटक जनताबाट न्याय पाउछु भन्नेमा आशावादी रहेको बताउनुहुन्छ । “चुनाव हारेर विचलित भइन, तेस्रो पटक चुनाव लड्दैछु, दोस्रो संविधानसभा, प्रदेशसभाको निर्वाचनमा पराजित भएर तर जनताबाट टाढा रहिन, अहिलेको प्रतिनिधिसभामा उम्मेदवार भएर गाउँ पुगेको छु, धेरैले यस पटक अनुमोदन गछौं भन्नु भएको छ” केसीले भन्नुभयो “राजनीतिमा लगोपछि विचलित हुन हुँदैन, दुई पटक पराजित हुँदा समेत पलायन भइन, अझै जनताको सेवक बन्न चाहान्छु ।” बागलुङ क्षेत्र नम्बर एकमा अन्य दलले एक्ला एक्लै चुनावी मैदानमा उत्रेका छन् भने नेपाली कम्युनिष्ट पार्टी (नेकपा) र राष्ट्रिय जनमोर्चाले भने गठबन्धन गरेर चुनावमा होमिएको छ ।
बागलुङ क्षेत्र नम्बर एकमा नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले राजमोका उम्मेदवार कृष्ण अधिकारीलाई सघाएको छ भने क्षेत्र नम्बर दुईमा नेकपाका ज्ञामनाथ गैरेलाई राजमोले सघाएको छ । बागलुङ क्षेत्र नम्बर एकबाट एमालेका उम्मेदवार हिरा बहादुर केसी विद्यार्थी राजनीतिबाट उदाएका नेता हुन् । उहाँ धौलागिरी बहुमुखी क्याम्पस बागलुङको स्ववियु सभापती हुँदै एमाले बागलुङको दुई कार्यकाल पार्टी अध्यक्ष भइसक्नुभएको छ । केसीका प्रतिस्प्रर्धी नेपाली कांग्रेसका भिम बहादुर श्रीस, रास्वपाका सुसिल खड्का र राजमोका कृष्ण अधिकारी भने पहिलो पटक चुनावी मैदानमा उत्रनुभएको छ । २०७० को दोस्रो संविधानसभा निर्वाचनमा नेपाली कांग्रेसका हरि बहादुर खड्कासंग र २०७९ को गण्डकी प्रदेशसभा निर्वाचनमा नेपाली कांग्रेसकै दिपेन्द्र बहादुर थापा मगरसंग एक हजार ४८० मतान्तरले पराजित भएका केसी तेस्रो पटक चुनावी मैदान उत्रनु भएको छ । २०५० बाट विद्यार्थी राजनीतिबाट राजनीतिमा आउनुभएका केसी तेस्रो प्रयासमा अनुमोदन हुने आशामा हुनुहुन्छ । विद्यार्थी संगठनको जिल्ला, अञ्चल हुदै केन्द्रीय कोषाध्यक्ष, युवा संघको केन्द्रीय उपाध्यक्ष, पार्टीको जिल्ला कमिटि सदस्य, उपाध्यक्ष हुदै २ कार्यकाल अध्यक्ष भएका केसी २०७० को दोेस्रो संधिवानसभा र २०७९ को गण्डकी प्रदेशसभा सदस्यमा एमालेका तर्फबाट उम्मेदवार हुनुभएको थियो ।
विद्यार्थी राजनीतिबाट नेपाली कांग्रेसको मुल राजनीतिमा आउनुभएका भिम श्रीस समेत लोकप्रिय नेताको रुपमा कांग्रेसमा चिनिनुहुन्छ । श्रीस २०६२ सालमा त्रिभुवन विश्वविद्यालय काठमाडौंका स्ववियू सभापति हुनुभएको छ । यस्तै राष्ट्रिय जनमोर्चाको आधार इलाकाका समेत रहेको बागलुङ क्षेत्र नम्बर एक बाट यस अघि चित्रबाहादुर केसी सांसद हुनुहुन्थ्यो । केसीको विरासत धान्न राजमोका पूर्व केन्द्रीय सचिव कृष्ण अधिकारीलाई नेकपाले समेत सघाएको छ । उम्मेदवार अधिकारी नेकपा मसाल र त्यसको मोर्चा संगठन राष्ट्रिय जनमोर्चाको विभिन्न जिम्मेवारीमा रहेर राजनीतिक गतिविधिमा सक्रिय छन् । २०३८ सालमा अखिल छैठौंबाट राजनीति शुरु गर्नुभएको अधिकारी चित्रबहादुर केसीको निजी सचिव हुनुभएको थियो ।
नयाँ शक्तिको रुपमा उदाएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) अमेरिकामा इन्जिनियर पढेर फर्किएका युवा उद्यमी सुशिल खड्का चुनावी मैदानमा छन् । उहाँले परिवर्तनका लागि नयाँलाई भोट दिन आग्रह गर्दै गाउँ हिड्नुभएको छ ।
राष्ट्रिय प्रजातन्त्र पार्टीले बागलुङ क्षेत्र नं. १ मा कल्याण विक्रम आचार्य प्रतिस्प्रधामा युवाको रुपमा आउनुभएको छ । बागलुङ क्षेत्र नम्बर नेपाल मानवताबादी पार्टीका भक्तबहादुर विक, मंगोल नेशनल अर्गनाईजेशनका गुमा कुमारी बुढा राना मगर, प्रगतिशल लोकतान्त्रीक पार्टीका चित्रप्रसाद सापकोटा, नेशनल रिपब्लिक नेपालका सहविर थापा, श्रम संस्कृति पार्टीका लालबहादुर घर्ति र नेपाल कम्युनिष्ट पार्टी माओबादीका टेकबहादुर केसी चुनावी मैदानमा छन् ।