• २०८३ आश्विन २५, आईतवार
  • 2026 October 11, Sunday

राजमो उम्मेदवार अधिकारी जैमिनीमा : ‘संसदमा जनताका आवाज बोल्न राजमो चाहिन्छ’

  • २०८२ माघ २८, बुधबार

बागलुङ  । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) संग चुनावी तालमेल गरेको राष्ट्रिय जनमोर्चाका उम्मेदवार कृष्ण अधिकारी सहितको टोली जैमिनी नगरपालिकाका विभिन्न वडामा भेटघाटमा व्यस्त छ । बुधवार मात्रै टोलीले जैमिनी नगरपालिका वडा नं. ५ बिनामारेको सिम्ले, वडा नं. ६ अर्जेवाको सुम्सा, वडा नं. ७ जैदीको रोहटे र वडा नं. ८ छिस्तीको वडा कार्यालय चोकमा टोलभेला तथा मतदाता भेटघाट कार्यक्रम सम्पन्न गरेको छ । दुइ बामपन्थी दलहरुबीचको चुनावी तालमेलसंगै दुवै पार्टीका केन्द्र, जिल्ला र पालिकाका नेताहरु लिएर मतदाताबीच पुगेका अधिकारीले बागलुङ बामपन्थीहरुको जनमत भएको जिल्ला भएकाले बामपन्थी शक्तिलाई चुनावमा साथ दिन आव्हान गर्नु भयो ।

मुलुकमा राजनीतिक एजेण्डा, नीति कार्यक्रम भन्दा पनि सामाजिक सञ्जालको प्रभाव बढी भएको चर्चा गर्दै अधिकारीले राजनीतिलाई दीगो र व्यवस्थित गराउनका लागि विचार आवश्यक रहेको बताउनुभयो । मुलुकको राजनीतिलाई गलत बाटोमा जान नदिनका लागि राष्ट्रिय जनमोर्चा र त्यसका अध्यक्षका रुपमा चित्र बहादुर केसीले संसदमा खेलेको भूमिकालाई निरन्तरता दिनका लागि पनि आफु उम्मेदवार भएको भन्दै अधिकारीले सहयोग गर्न मतदाताहरुलाई अपिल गर्नु भयो । संसदमा जनताका आवाज चित्र बहादुर केसीले जसरी उठाउनु हुन्थ्यो, त्यसलाई निरन्तरता दिनका लागि पनि बागलुङवासीले सहयोग गर्नु पर्ने अधिकारीको भनाइ छ ।

म चित्र बहादुर केसीको विरासत थाम्ने पात्रका रुपमा चुनावी मैदानमा आएको छु, राजमो एक्लै आएको छैन, नेपाली कम्युनिष्ट पार्टी (नेकपा) संगै चुनावी तालमेल गरेर अगाडि बढेका छौ, हाम्रो जित सुनिश्चित बनाउन सबैको साथ सहयोगका लागि अपिल गर्दछु, अधिकारीले मतदाताहरुलाई भन्नुभयो । कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य कृष्ण केसी, राजमो केन्द्रीय सदस्य राजेन्द्र ढुंगाना, दुइ बामपन्थी दलका तर्फबाट निर्वाचन परिचालन कमिटिका संयोजक तिलक थापा, अखिल नेपाल राष्ट्रिय उद्योग व्यापार संघका केन्द्रीय अध्यक्ष सन्तोष पौडेल, निर्वाचन परिचालन समिति जैमिनीका संयोजक दिल बहादुर श्रीस, राष्ट्रिय जनमोर्चाका समानुपातिक उम्मेदवार के.बी.थापा, निर्वाचन परिचालन समिति जैमिनीका सदस्य होम बहादुर पुन, युवा परिचालन समिति बागलुङका संयोजक बिरेन्द्र थापा, अखिल नेपाल युवक संघका जिल्ला सदस्य झक बहादुर क्षेत्री लगायतले साझा बाम उम्मेदवारलाई विजयी बनाउने गरी साथ सहयोग गर्न मतदाताहरुसंग आग्रह गर्नु भएको थियो ।

गत स्थानीय निर्वाचनमा गठबन्धनका तर्फबाट जैमिनी नगरपालिकाको प्रमुखमा राष्ट्रिय जनमोर्चाका तर्फबाट नर बहादुर पुन विजयी हुनु भएको थियो । बागलुङ क्षेत्र नं. १ मा अन्तरगत जैमिनी नगरपालिकामा नगर प्रमुख, बरेङ गाउँपालिकामा अध्यक्ष र काठेखोला गाउँपालिकामा उपाध्यक्ष पदमा राजमोका उम्मेदवार विजयी भएका थिए । चारवटा पालिका रहेको क्षेत्र नं. १ मा बागलुङ नगरपालिकामा उपप्रमुख पदमा राजमोको चुनावी साझेदार पार्टी नेकपाका तर्फबाट उपप्रमुख निर्वाचित भएका थिए । राजमो र नेकपाबीच तालमेल गरेर क्षेत्र नं. १ मा राजमोका कृष्ण अधिकारी र क्षेत्र नं. २ मा नेकपाका ज्ञामनाथ गैरे उम्मेदवार रहनु भएको छ ।

  • २०८२ माघ २८, बुधबार