• २०८३ आश्विन २६, सोमबार
  • 2026 October 12, Monday

बरेङमा एमालेको चुनाव हाँक्न पाँच कमाण्डर : डेढ सय कार्यकर्ता चुनावी अभियानमा

  • २०८२ माघ २९, बिहीबार

बागलुङ ।   जिल्लाको दक्षिणमा रहेको बरेङ गाउँपालिका एमालेको जनाधारको हिसावले कमजोर नै हो । यद्यपी पछिल्लो निर्वाचनमा एमाले पहिलो शक्तिका रुपमा स्थापित भएको छ । २०७४ र २०७९ को स्थानीय तह निर्वाचनमा वडा नं. ३ बाटाकाचौरमा मात्र जित निकाल्न सफल एमालेले पछिल्लो समय बरेङका ५ वटै वडामा संगठन निर्माण गर्न सफल भएको छ । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा एमालेका उम्मेदवार जिताउन बरेङ गाउँपालिकाका ५ वटा वडामा डेढ सय नेता कार्यकर्ता चुनावी अभियानमा सक्रिय भएका छन् ।

पालिकाका सबै वडामा निर्वाचन परिचालन कमिटि गठन गरेर नेता कार्यकर्ताहरुलाई परिभाषित जिम्मेवारी प्रदान गरिएको एमाले बरेङ गाउँपालिका कमिटिका अध्यक्ष झोम बहादुर थापाले जानकारी दिनुभयो । एमालेले बरेङ गाउँपालिकामा प्रदेश कमिटि सदस्य सञ्जाल शर्मा संयोजक तथा पालिका कमिटि अध्यक्ष थापा सदस्य सचिव रहेको १ सय ५१ सदस्यीय पालिका स्तरी निर्वाचन परिचालन कमिटि गठन गरेको छ । पालिका स्तरीय परिचालन कमिटिले ५ वटै वडामा वडा स्तरीय निर्वाचन परिचालन कमिटि गठन गरेर कार्यकर्तालाई चुनाव केन्द्रीत अभियानमा सक्रिय बनाएको छ । उम्मेदवार हिरा बहादुर केसी लगायतका नेताहरुको उपस्थितिमा सम्पन्न पालिका स्तरीय वैठकले सबै वडामा सञ्चालन गर्ने कार्यक्रम तय गर्नुका साथै जिम्मेवारी तोकेको अध्यक्ष थापाले बताउनुभयो ।

एमालेले बरेङ वडा नं. १ धुल्लुबाँस्कोटमा जित बहादुर थापा संयोजक र सन्तोष पोखरेल सचिव रहेको २१ सदस्यीय, वडा नं. २ हुुग्दिशिरमा जित बहादुर काउछा संयोजक र कृष्ण श्रेष्ठ सचिव रहेको ३१ सदस्यीय, वडा नं. ३ बाटाकाचौरमा रन बहादुर कार्की संयोजक र खिम बहादुर श्रीस सचिव रहेको ३१ सदस्यीय, वडा नं. ४ सल्यानमा खगेश्वर शर्मा संयोजक र पूर्ण बहादुर खत्री सचिव रहेको ५१ सदस्यीय र वडा नं. ५ सुखौरामा टेक बहादुर पुन संयोजक र गगन क्षेत्री सचिव रहेको २१ सदस्यीय वडा स्तरीय निर्वाचन परिचालन कमिटि गठन गरिएको छ । वडा स्तरीय निर्वाचन परिचालन कमिटिले उम्मेदवार सहितका चुनावी सभा, टोल भेला, घरदैलो लगायत आवश्यक चुनावी योजना निर्माण गरेको छ । बरेङ गाउँपालिकामा २०७९ को स्थानीय निर्वाचनमा वडा नं. १ मा एमालेबाट वडा अध्यक्षका उमेदवार होम बहादुर थापाले ३८२ मत प्राप्त गर्नु भएको थियो ।

वडा नं. २ मा एमालेका वडा अध्यक्षका उम्मेदवार पदमजंग श्रीसले ६७६ मत प्राप्त गर्नु भएको थियो । यस्तै वडा नं. ३ मा एमालेका उम्मेदवार शेर बहादुर खनालले ८४१ मत प्राप्त गरी विजयी हुनु भएको थियो । वडा नं. ४ मा पुतली चिन्हबाट उम्मेदवार बनेका लिल बहादुर खत्रीलाई एमाले समर्थन गरेको थियो । खत्रीले २७७ मत प्राप्त गर्नु भएको थियो । वडा नं. ५ मा एमालेका टेक बहादुर पुनले ७५ मत प्राप्त गर्नु भएको थियो । बरेङको वडा नं. ५ एमालेको संगठनका हिसावले सबै भन्दा कमजोर वडा हो । पालिकाको निर्वाचनमा एमालेका उम्मेदवार प्रदिप थापाले २२३२ मत ल्याउदा ५ दलीय गठगबन्धनका उम्मेदवार कृष्णप्रसाद शर्माले ३६०१ मत प्राप्त गरी विजयी हुनु भएको थियो । राष्ट्रिय जनमोर्चाको प्रभाव क्षेत्रका रुपमा रहेको बरेङमा नेपाली कांग्रेस र तत्कालिन नेकपा माओवादीको पनि राम्रै प्रभाव रहेको छ । बरेङमा दलहरु छुट्टा छुट्टै प्रतिस्पर्धा गर्दा एमाले पहिलो शक्ति हो, यस पटक हामीले एमालेका उम्मेदवारलाई स्थानीय तहमा वडा अध्यक्षहरुले पाएको भन्दा धेरै मत प्राप्त गर्ने गरी अभियान सञ्चालन गरेको पालिका कमिटिका अध्यक्ष झोम बहादुर थापाको दावी छ ।

  • २०८२ माघ २९, बिहीबार