बागलुङ । बिहीबार बागलुङ नगरपालिका वडा नम्बर ३ हाडेपाखामा भएको न्यू एभरेष्ट एकेडेमीको भ्यान दुर्घटनाको सत्यतथ्य छानबिन गर्न छानबिन समिति गठन गरिएको छ । समितिले ७ दिनभित्र प्रतिवेदन पेश गर्ने छ ।
शिक्षा विकास तथा समन्वय इकाइ बागलुङका प्रमुख प्रकाशबन्दु अर्यालको संयोजकत्वमा गठन गरिएको छानविन समितिमा जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख मिन बहादुर कुँवरङ, यातायात व्यवस्था कार्यालय बागलुङका मेकानिकल ईञ्जिनीयर सुरेश जैशवाल, जिल्ला प्रशासन कार्यालय बागलुङका प्रशासकीय अधिकृत खिम बहादुर विश्वकर्मा, पीडित पक्षको तर्फबाट प्रिया किसान र कुशल बोहरा र निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन (प्यावसन)का तर्फबाट दल थापा रहनु भएको छ ।
बागलुङका प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद आचार्यको अध्यक्षतामा बसेको सर्वपक्षीय सर्वदलीय बैठकले समिति गठन गरेको हो । बैठकका सहभागिले दुर्घटनाका धाइते बालबालिको स्वास्थ्य उपचार, मृतकका परिवारलाई उचित राहत र क्षतीपूर्तीको व्यवस्थासँगै घटनाको सत्यतथ्य छानविन गरेर दोषीलाई कारबाही गर्ने सहमती गरेका छन् ।
दुर्घटनामा परेर १ जनाको मृत्यु भएको छ भने २६ जना घाइते भएका छन् । बैठकमा धौलागिरी प्रादेशिक अस्पताल बागलुङका प्रमुख मेडिकल सुपरिटेण्डेन्ट किरण तिवारीले घाइते मध्ये २ जनाको अवस्था गम्भिर रहेको बताउनु भएको थियो । उहाँले उनिहरुको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको बताउनु भयो ।
त्यसैगरि अन्य ७ जना घाइते मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको र सबै खतरामुत्त रहेको बताउनु भयो । धौलागिरी अस्पताल बागलुङ उपचाररत १६ जनाको अवस्था पनि समान्य रहेको उहाँको भनाई छ । जसमध्ये केहीलाई शुक्रबार साँझ र बाँकीलाई शनिबार घर पठाउने उहाँले बताउनु भयो ।
बैठकमा बागलुङ नगरपालिकाका मेयर वसन्तकुमार श्रेष्ठले दुर्घटनाको कारण पत्ता लगाएर पीडितलाई न्यायको महशुष बनाउने गरि समितिलाई अध्यन गर्न आग्रह गर्नु भएको थियो । उहाँले अहिलेको प्राथमिकता घाइतेको उपचार भएको भन्दै उपचारमा कुनै कमी नहुने प्रतिवद्धता व्यक्त गर्नु भएको थियो ।
बैठकमा धौलागिरी प्रादेशिक अस्पताल बागलुङका अध्यक्ष श्रीप्रसाद शर्माले अस्पताल प्रशासन, व्यवस्थापन, जिल्लाको सुरक्षा संयन्त्र र जनप्रतिनिधिको सहयोग र समन्वयमा घाइतेको प्रभावकारी उपचार सम्भव भएको भन्दै धन्यवाद ज्ञापन गर्नु भएको थियो । उहाँले सामाजिक सञ्जालमा गरिएका अपूर्ण र भ्रमपूर्ण सूचनाका कारण अस्पतालमा अनावश्यक भिड बढ्दा घाइतेलाई अस्पताल पु¥याउन समेत समस्या भएको बताउनु भएको थियो । सर्वसाधरण सचेत र संवेदनशिल नहुँदा अफ्ट्यारो परिस्थिती बनेको भएपनि सबै नियन्त्रण गरेर घाइतेको उपचार गरिएको उहाँले बताउनु भयो ।
बैठकमा घाइतेका तर्फबाट प्रिया किसानले घाइतेको तत्कालिन र दीर्घकालिन उपचार, दोषीलाई कारबाही, परिवारका सदस्यलाई रोजगारिको व्यवस्था, मृतकका परिवारलाई राहत र क्षतीपूर्तिको व्यवस्था गरिदिन आग्रह गर्नु भएको थियो ।
बैठकमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हरिनारायण गौतम र प्रिन्सिपल कृष्ण अधिकारीले घाइतेको उपचारमा कुनै पनि कमी हुन नदिने प्रतिवद्धता व्यक्त गर्नु भएको थियो ।
