बागलुङ । बागलुङमा विविध कार्यक्रम गरेर राष्ट्रिय प्रजातन्त्र दिवस मनाइने भएको छ । जिल्ला समन्वय समिति बागलुङका प्रमुख अमरबहादुर थापाको अध्यक्षतामा बसेको सरोकारवालाको बैठकले फागुन ६, ७ र ८ गते विविध कार्यक्रम गरेर राष्ट्रिय प्रजातन्त्र दिवस मनाउने निर्णय गरेको हो ।
वैठकले दिवस मनाउनका लागि जिल्ला समन्वय समिति बागलुङका प्रमुख अमर बहादुर थापाको संयोजकत्वमा, बागलुङ नगरपालिका प्रमुख बसन्तकुमार श्रेष्ठ, जिल्ला समन्वय समिति बागलुङका उप–प्रमुख होमनाथ शर्मा, प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद आचार्य, नगरपालिकाका उप–प्रमुख राजु खड्का, राजनैतिक दलका प्रमुखहरु, जनप्रतिनिधिहरु, जिल्ला स्थित सरकारी कार्यालयका प्रमुख, सुरक्षा निकायका प्रमुख, विभिन्न संघ संस्थाका प्रमुख र अन्य निजी क्षेत्रका प्रमुख रहने गरी राष्ट्रिय प्रजातन्क दिवस २०८२ मूल समारोह समिति गठन गरेको छ ।
वैठकले फागुन ६,७ र ८ गते तीन दिनसम्म जिल्ला स्थित सबै सरकारी निकाय, प्रतिष्ठान तथा संघ संस्थाका कार्यालयहरुको छत, बरण्डा र परिसरमा निर्धारित साइजका राष्ट्रिय झण्डा मर्यादापूर्वक सजाउने र साँझ सम्पूर्ण कार्यालयहरु र जिल्लाबासीका घर–घरमा समेत दीप प्रज्ज्वलन गर्ने निर्णय गरेको छ ।
त्यसैगरि फागुन ६ गते प्रदेश जनस्वास्थ्य कार्यालय र नेपाल रेडक्रस सोसाइटीको संयोजनमा रक्त सञ्चार केन्द्रमा रक्तदान कार्यक्रम संचालन गर्ने, फागुन ७ गते बागलुङ कालिका मन्दिरको प्रवेशद्वारदेखि बाङ्गेचौर खेलमैदानसम्मको सडकमा सरसफाई गर्ने, सहिद पार्कमा जेन्जी आन्दोलनका घाइतेलाई सम्मान र सहिदलाई सम्मान गरिने, पत्रकार महासंघको संयोजनमा राष्ट्रिय प्रजातन्त्र दिवसको महत्त्वका सम्बन्धमा छापा र विद्युतीय सञ्चार प्रचार प्रसार गर्ने, फागुन ७ गते साँझ ६.०० बजे लोकतान्त्रिक चोकमा सामुहिक दीप प्रज्ज्वलन गर्ने, उद्योग वाणिज्य संघको संयोजनमा मानवसेवा आश्रममा आवश्यक सामग्री हस्तान्तरण गर्ने, शिक्षा विकास तथा समन्वय इकाईको संयोजनमा धौलागिरी बहिरा आवासीय माध्यामिक विद्यालयमा फरक क्षमता भएका विद्यार्थीहरुका लागि शैक्षिक तथा खेलकुद सामाग्री वितरण गर्ने निर्णय गरेको जिल्ला समन्वय समिति बागलुङका समन्वय अधिकारी कृष्णराज गौतमले जानकारी दिनुभयो ।
