• २०८३ कार्तिक ७, शुक्रबार
  • 2026 October 23, Friday

पर्यटन प्रवर्द्धनमा बागलुङका पत्रकारको सक्रियता

बागलुङ ।  आन्तरिक तथा बाह्य पर्यटकहरुलाई बागलुङका विभिन्न धार्मिक तथा अन्य पर्यटकीयस्थलहरुमा भित्र्याउनका लागि प्रचार प्रसारको महत्वपूर्ण भूमिका रहन्छ । प्रचार प्रसार सार्वजनिक सञ्चारमाध्यम मात्र होइन, आजको युगमा हरेक व्यक्तिले आफुलाई त्यसमा सक्रिय बनाउन सक्छ ।

यद्यपी संस्थागत सञ्चारमाध्यमहरुले प्रकाशन तथा प्रशारण गर्ने समाचारहरुले पर्यटन प्रर्वद्धनमा गर्ने सकारात्मक पहलकदमी र सरोकारवालाहरुलाई बेला बेलामा झकझकाउने कार्यले पर्यटन प्रवद्र्धनमा योगदान पुगेको बागलुङका पर्यटन क्षेत्रमा क्रियाशिल व्यवसायीहरुले बताएका छन् ।

बागलुङ नगरपालिका भित्रका प्रमुख पर्यटकीयस्थलहरुको पछिल्लो अवस्थाबारे जानकारी लिन, पर्यटकीय क्षेत्रको अवस्था आम जनताका बीचमा ल्याई पर्यटन प्रवद्र्धनमा योगदान गर्ने उद्देश्यका साथ नेपाल पत्रकार महासंघ बागलुङको संयोजनमा २ दिने पर्यटन प्रवद्र्धधानात्मक भ्रमण तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । बागलुङ नगरपालिका, नगर पर्यटन विकास समितिसंगको सहकार्यमा पत्रकारहरुको टोलीले बागलुङ नगरपालिकाका १४ वटै वडामा रहेका विभिन्न पर्यटकीयस्थलहरुको अवलोकन सहित सरोकारवालाहरुसंग छलफल गरेको छ ।

पर्यटकको आगमनका हिसावले बागलुङ महत्वपूर्णस्थलका रुपमा परिचित छ, प्रसिद्ध कालिका भगवती मन्दिर, मन्दिरसंगै रहेको गोल्डेन ब्रृज लामो पुल, पञ्चकोट, शालिग्राम संग्राहलय प्रमुख गन्तव्य रहेका छन् । बागलुङ नगरपालिका भित्र रहेका यि बाहेक अन्य पर्यटकीय क्षेत्रहरुको अवस्था बारे पत्रकारहरुले खोजी गरेर प्रवद्र्धनमा थप योगदान गर्ने लक्ष्यका साथ पत्रकारसंग स्थलगत अवलोकन र रिपार्टिङका लागि समन्वय गरिएको नगरपालिकाले जनाएको छ ।

नेपाल पत्रकार महासंघ बागलुङका अध्यक्ष राम थापाको नेतृत्वमा रहेको टोलीले बागलुङ नगरपालिका भित्रका मुख्य पर्यटकीयस्थलहरु शालिग्राम संग्राहलय, मालिका भगवती मन्दिर, पञ्चकोट, रायरायकोट मन्दिर, ब्लुहिल, भकुण्डस्थित बराह ताल ९दह०, भकुण्डे भ्यूटावर, रायडाडस्थित गुम्बा, भैरव मन्दिर, बलेवास्थित नगर अस्पताल, बलेवा एअरपोर्ट, कालिका भगवती मन्दिर लगायतका क्षेत्रको अवलोकन गरेको सचिव नारायण रिजालले जानकारी दिनुभयो ।
पर्यटकीय स्थलको अवस्था, संभावना र चुनौती लगायत सम्बन्धित व्यक्तिहरुको धारणा लिइएको छ ।

भकुण्डेस्थित अतिथि सत्कार होमस्टेमा बास बसेको टोलीले शनिवार बिहान होमस्टे सञ्चालकहरु, पर्यटनसंग सरोकार राख्ने अन्य निकायका प्रतिनिधिहरु र जनप्रतितिहरुसहितको अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको थियो ।
अन्तरक्रियाका सहभागीहरुले पर्यटन प्रवद्र्धनका लागि सडक निर्माणलाई व्यवस्थित गर्न, पर्यटकहरुको आगमनसंगै स्वागत सत्कार र व्यवस्थापनमा थप ध्यान दिन, स्थानीय उत्पादनहरुको अधिकतमत प्रयोग गर्न, सरोकारवालाहरु सबैसंग समन्वय र सहकार्य गर्न सुझाव दिएका थिए । तीन वटै तहका सरकारले पर्यटन प्रवद्र्धनमा गरेको लगानीबाट पर्यटन क्षेत्रको प्रभावकारी व्यवस्थापन नभएको भन्दै सहभागीहरुले विकासको मुख्य माध्यम पर्यटन हो भन्ने कुरामा सचेत हुदै योजना, कार्यक्रम अगाडि बढाउने र कार्यान्वयन गर्नु पर्नेमा जोड दिएका थिए ।

अन्तरक्रिया कार्यक्रममा बानपा–१० का वडा अध्यक्ष तिल बहादुर थापा, नेपाल पत्रकार महासंघ गण्डकीका उपाध्यक्ष प्रकाश पौडेल, बागलुङ उद्योग वाणिज्य संघका अध्यक्ष राजन कुमार शाक्य, पत्रकार महासंघ बागलुङका पूर्व अध्यक्ष राम बहादुर जिसी, निवर्तमान अध्यक्ष नरेश कंडेल, अतिथि होमस्टेका सञ्चालक ज्ञान बहादुर थापा लगायतले पर्यटन प्रवद्र्धनका विविध विषयमा धारणा राख्नु भएको थियो ।


महासंघका अध्यक्ष राम थापाको अध्यक्षतामा सम्पन्न अन्तरक्रिया कार्यक्रममा उपाध्यक्ष सुवास आचार्यले स्वागत तथा बागलुङको पर्यटकीय स्थल, संभावना र चुनौती विषयक अवधारणा पत्र प्रस्तुत गर्नु भएको थियो । कार्यक्रमको सञ्चालन महासंघका सचिव नारायण रिजालले गर्नु भएको थियो ।