बागलुङ । चुनाव जित्नका लागि पार्टीहरुले लिने नीति, नेतृत्व र चुनावको परिचालनमा सक्रिय हुने नेता कार्यकर्ताको भूमिका महत्वपूर्ण हुन्छ । कहिले नीति र नेतृत्व प्राथमिकतामा पर्छ भने कहिले परिचालनले प्रभाव पार्ने गर्दछ । चुनावको मत परिणाम आफ्नो पक्षमा पार्नका लागि दलहरुले नीति र नेतृत्वसंगै संगठनलाई प्राथमिकता दिएका हुन्छन् । दलहरुले विभिन्न तहमा कमिटिहरु निर्माण गर्छन्, कमिटिमा आवद्ध पदाधिकारी सदस्यहरु निर्वाचनमा स्वत जिम्मेवारीमा पर्ने गर्दछन् । बागलुङ क्षेत्र नं. १ मा ४ पालिका र ३७ वडा रहेका छन् । प्रमुख राजनीतिक दलहरुले सबै वडाबाट मत ल्याउने गरी निर्वाचन परिचालन समिति गठन गरेका छन् ।
नेकपा एमालेले वडामा ३७ वटा, पालिकामा ४ वटा र प्रतिनिधि सभा निर्वाचन क्षेत्र स्तरीय एउटा गरी ४२ वटा निर्वाचन परिचालन समिति मार्फत चुनावी अभियान सञ्चालन गरेको छ । पार्टीका टोल, वडा, पालिका कमिटिमा रहेकाहरु आफ्नो भुगोलमै हुन्छन्, उनीहरु भुगोल केन्द्रीत अभियानमै छन् । एमालेले जिल्ला र प्रदेश कमिटिका पदाधिकारी र सदस्यहरुलाई पनि निश्चित भुगोलको जिम्मेवारी दिएको छ । बागलुङ क्षेत्र नं. १ मा केन्द्रीय सदस्य ५ जना, प्रदेश कमिटि सदस्यहरु १४ जना र जिल्ला कमिटिका पदाधिकारी सदस्यहरु ७१ जना गरी ९० जना नेता यो क्षेत्रका बासिन्दा रहेका छन् । केन्द्र, प्रदेश र जिल्लाका पदाधिकारी तथा सदस्यहरु एमालेको निर्वाचन अभियानका मुख्य जिम्मेवारीमा रहेकाहरु हुन् । पालिकाका अध्यक्षहरु पदेन जिल्ला कमिटि सदस्य रहने व्यवस्था एमालेले गरेको छ । यो क्षेत्रका ४ पालिकामा सबै भन्दा बढी नेताहरु बागलुङ नगरपालिकामा रहेका छन् । बागलुङ नगरपालिका भुगोल भएका नेताहरुमा केन्द्रीय सदस्य ३ जना, प्रदेश कमिटि सदस्य ९ जना र जिल्ला कमिटि सदस्यहरु ३७ जना गरी ४९ जना हालका कमिटिको जिम्मेवारीमा रहेका छन् ।
केन्द्रीय सदस्यहरु मन कुमारी केसी जिसी, गोविन्द बहादुर नेपाली, डा. सूर्य पाठक बागलुङ नगरपालिका निवासी हुन् । केन्द्रीय सदस्यहरु केसी र पाठक पूर्व संघीय सांसद तथा नेपाली हाल गण्डकी प्रदेशसभा सदस्य हुन् । नर बहादुर थापा, कृष्ण पाठक, शिव सापकोटा, ध्रुव बहादुर केसी, गिता शर्मा, भीमा अधिकारी, ममतादेवी शर्मा, सञ्जय कुमार श्रेष्ठ र लाल बहादुर थापा यो भुगोलका प्रदेश कमिटि सदस्यहरु हुन् ।
नर बहादुर थापा संविधानसभा सदस्य हुन् । जिल्ला कमिटिका सचिव गणेश बहादुर थापा, उपसचिव धन बहादुर परियार सहित सदस्यहरु बाबुलाल शाक्य, बुद्ध बोहोरा, भावना खड्का, भूपेन्द्र खड्का, नेत्र बहादुर विष्ट, मञ्जु क्षेत्री, कुल बहादुर कार्की, कोपिला खरेल सापकोटा, जित बहादुर क्षेत्री, दुर्गा बहादुर बोहोरा, इन्द्र केसी, पम्फा खड्का, पहेली थापा, राजेश बोहोरा, रुद्र बहादुर महत, कालिका सापकोटा, रेणु केसी, लक्ष्मी बोहोरा, विजय थापा, शेखर खड्का, सम्पन्न श्रेष्ठ, सरस्वती खड्का परियार, सुनिता विश्वकर्मा, सोभिता केसी, हुमादेवी खड्का, दयाराम पौडेल, हरि प्रसाद शर्मा, सञ्जय खड्का, कृष्ण गौतम, दिपेन्द्र रेग्मी, अस्मिन शेख, गुमा चर्माकार, पदेन जिल्ला सदस्य रामकृष्ण शर्मा तथा लेखा समिति अध्यक्ष अनन्त बहादुर खड्का र सदस्य नारायण शर्मा (युग) बागलुङ नगरपालिका भुगोल भएका एमालेको निर्वाचन हाँक्ने औपचारिक जिम्मेवारीमा रहेका नेताहरु हुन् । बागलुङ नगरपालिकाका १४ वडामा एमालेबाट गत स्थानीय तहको निर्वाचनमा वडा अध्यक्षमा उम्मेदवार बनेकाहरुले ९ हजार ५ सय ४७ मत पाएका थिए । सबै भन्दा बढी १ हजार ७ मत बानपा ७ र सबै भन्दा कम ३ सय ३२ मत बानपा–११ रायडाडामा पाएका थिए । बागलुङ नगरपालिका पछि केन्द्रमा प्रतिनिधित्व नै नभए पनि जिल्लामा बढी नेताहरु भएको पालिका काठेखोला गाउँपालिका हो । यो पालिकामा प्रदेश कमिटिमा २ जना र जिल्ला अध्यक्ष सहित जिल्ला कमिटिमा १८ जना रहेका छन् । कुल बहादुर विक, प्रेम लामिछाने, चन्द्रमणी उपाध्याय, कृष्ण बहादुर पुन, कोपिला पुन, खिम बहादुर छन्त्याल, चित्रकला छन्त्याल, शारदा थापा, नविन प्रसाद शर्मा कंडेल, प्रेम बहादुर केसी, भक्त बहादुर कुँवर, भूमिराज शर्मा, विश्व गौतम, विष्णु गुरुङ, विद्यापति शर्मा, रोशन कुँवर, भीम बहादुर विश्वकर्मा र पदेन सदस्य डिल बहादुर कार्की काठेखोलाबाट एमालेको जिल्लामा प्रतिनिधित्व गर्ने सदस्यहरु हुन् । काठेखोला गाउँपालिकामा गत स्थानीय तहको निर्वाचनमा एमालेले उम्मेदवार बनाएका ८ जना अध्यक्षका प्रत्यासीहरुले ६ हजार ९ सय ४० मत पाएका थिए । यो पालिकामा सबै भन्दा बढी १ हजार ७ सय ९७ मत वडा नंं ७ रेश र सबै भन्दा कम ५ सय १९ मत वडा नं. १ पालाका अध्यक्षका उम्मेदवारले पाएका थिए । जैमिनी नगरपालिकाबाट एक जना केन्द्रीय सदस्य, २ जना प्रदेश कमिटि सदस्य तथा ११ जना जिल्ला कमिटिका सदस्यहरु एमालेको नेतृत्वमा रहेका छन् ।
दोस्रो कार्यकालका लागि केन्द्रीय सदस्य भएकी सावित्रा राना गण्डकी प्रदेशसभाकी पूर्व सदस्य हुन् । प्रदेश कमिटिमा लिला राना र सञ्जाल शर्माको प्रतिनिधित्व छ । जैमिनीबाट इन्द्र थापा (सन्दिप), डम्बर बहादुर सार्की, दुर्गा पाण्डे थापा, बद्री ढुंगाना, भोजराज शर्मा पौडेल, यमुनादेवी पौडेल, रमेश बहादुर क्षेत्री, शिव शर्मा, बेद बहादुर छन्त्याल, पदेन सदस्यमा देवेन्द्र पौडेल जिल्ला सदस्यमा र तुलसी क्षेत्री लेखा आयोगको सदस्यको जिम्मेवारीमा छन् । जैमिनी नगरपालिकाका १० वटा वडामा गत स्थानीय तहको निर्वाचनमा अध्यक्ष पदका उम्मेदवारहरुले ३ हजार ५ सय १७ मत पाएका थिए । बागलुङ क्षेत्र नं. १ अन्तरगतको सानो पालिकाका रुपमा रहेका बरेङ गाउँपालिकाबाट एमालेको वर्तमान नेतृत्वमा केन्द्रीय सदस्यमा लिल बहादुर थापा मगर रहेका छन् ।
उनी गण्डकी प्रदेशसभाका सदस्य पनि हुन् । प्रदिप थापा प्रदेश कमिटिमा तथा चेत बहादुर थापा, लिलाधर पौडेल, शोभा थापा र सुशिल थापा र पदेन सदस्य झोम बहादुर थापा गरी ५ जना जिल्ला कमिटिका सदस्य रहेका छन् । प्रतिनिधित्वका हिसावले सबै भन्दा कम जिम्मेवारी पाएको यो पालिकाबाट गत स्थानीय तह निर्वाचनमा एमालेका वडा अध्यक्षका उम्मेदवारहरुले २ हजार २ सय ५१ मत प्राप्त गरेका थिए । एमालेबाट एउटा निर्वाचन क्षेत्रमा ५ जना केन्द्रीय सदस्य (२ जना प्रदेश सांसद), १४ जना प्रदेश कमिटि सदस्य (एक जना प्रदेशमन्त्री) तथा ७१ जना जिल्ला कमिटिका पदाधिकारी सदस्यहरु एमाले उम्मेदवार हिरा बहादुर केसी जिताउने अभियानका मूल नेतृत्व हुन् । निर्वाचनमा आफु खटिने, आफ्नो मातहतका कमिटिहरुलाई परिचालन गर्ने, आम मतदातासंग भेट्ने र मत बृद्धि गर्ने मूल जिम्मेवारीमा रहेकाहरु निर्वाचनमा कसरी खटिएका छन् ? एमाले जिल्ला कमिटिका एक सदस्यले भने,–‘कमिटिगत रुपमा जिम्मेवारीमा रहेकाहरु सबै निर्वाचन अभियानमा देखिन्छन्, तर मसक्कै चुनावले छोएको अवस्था अझै दखिदैन ? सबै नेताहरुलाई चुनावले छोएको अनुभूति भएको छैन ।’
गत मंसिर अन्तिम साता निर्वाचित भएका केन्द्रीय सदस्यहरु, २ वर्ष पहिला (कतिपयले दुवै प्यानलमा नाम समावेश गरेर निर्वाचनमा गएका थिए) निर्वाचित भएका प्रदेश कमिटिका सदस्यहरु र पौने २ वर्ष पहिला निर्विरोध निर्वाचित भएका जिल्ला कमिटिका पदाधिकारी सदस्यहरुको सक्रियता सोचे जति हुन नसकेको एमालेका एक पूर्व जिल्ला कमिटि सदस्यले गुनासो गरे । पद लिने बेलामा तछाड मछाड गर्ने तर निर्वाचनमा विभिन्न बहाना गरेर अलमल गर्ने छुट पार्टीको औपचारिक जिम्मेवारीमा रहेकाहरुलाई छैन, ति सदस्यले भने,–‘चुनाव र आन्दोलनमा बहाना बनाउने होइन, औपचारिक जिम्मेवारीमा रहेकाहरु अग्रमोर्चामा खटिएपछि जिम्मेवारी नभएकाहरु, समर्थक तथा शुभेच्छुकहरु समेत सक्रिय भएर अगाडि बढ्छन् ।’ पार्टीको औपचारिक जिम्मेवारीमा रहेका यो क्षेत्रका ९० जना नेताहरु आजदेखि निर्वाचनको दिन सांझसम्म सक्रिय भएर लाग्दा एमाले पहिलो शक्ति बन्ने दावी एमालेका एक कार्यकर्ताले बताए । नेताहरु नै अलमलमा पर्ने हो भने विपक्षीका रणनीतिलाई परास्त गर्न गाह्रो हुन्छ, उनको सुझाव छ ।