• २०८३ आश्विन २५, आईतवार
  • 2026 October 11, Sunday

ठुला दुर्घटनाः चालक कि राज्यको लापरबाही ?

  • २०८२ फाल्गुन १३, बुधबार

पछिल्लो केही समय यता नेपालमा एक पछि अर्को सडक दुर्घटनाका खबर आइरहेको छ । जसमा दर्जनौले अकालमै अल्पायुमै अमूल्य ज्यान समेत गुमाएका छन् । गत सोमवार मात्रै सबेरै दुर्घटनाको अप्रिय खबर सार्वजनिक भयो । पृथ्वीराजमार्ग अन्तर्गत धादिङको बेनिघाट रोराङ गाउँपालिका–७ चरौंदी नजिक भएको बस दुर्घटनामा ३ विदेशी सहित १९ जनाको मृत्यु भयो । गण्डकी प्रदेशको राजधानी पोखराबाट काठमाडौंतफ जाँँदै गरेको यात्रुबाहक बस अनियन्त्रित भएर करिब १०० मिटर तल त्रिशूली किनारमा खसेको थियो । दुर्घटनामा घाइते भएका अन्य ७ जनाको बिभिन्न अस्पतालमा उपचार भइरहेको छ । सरकारले दुर्घटनाबारे छानविन गर्न एक छानविन समेत बनाएको छ । आखिर यी र यस्ता ठुला सडक दुर्घटना किन र कसरी भइरहेका छन् ? यसको यथार्थ कारण पहिचान, समाधान र दुर्घटना नियन्त्रणमा किन ठोस पहल हुन सकिरहेको छैन ? अब गम्भीरतापूर्वक सोच्नुपर्ने बेला आएको छ ।

त्रिशुलीमा बस दुर्घटना भएको अहिले नयाँ घटना भने होइन । कैयन दुर्घटना यही त्रिशुलीमा खसेर भएका छन् । गत वर्षायाममा भएको दुर्घटनाको हराइरहेको यात्रुबाहक बस त केही साता अघि मात्रै फेला परेको थियो । अहिलेको ताजा दुर्घटनालाई हेर्ने हो भने केही घाइतेले चालकको लापरबाहीले दुर्घटना भएको भनिरहेका छन् । दुर्घटनामा यही कारण हो कि गाडीको अवस्था या अरु केही कारण ? यसको अवश्य यथोचित अध्ययन अनुसन्धान होला । नेपालमा सडक दुर्घटनामा मुख्यतः ३ कारण देखिन्छन् । सडक, सवारी साधन र चालक । यी तीन पक्ष नै सुदृढ अवस्थामा नभएकैले दुर्घटना बढ्दै गएको छ । विश्व स्वास्थ्य संगठनको प्रतिवेदन अनुसार, विश्वभर प्रत्येक वर्ष करिब १.२५ मिलियन (१२ लाख ५० हजार) भन्दा बढी मानिसले सडक दुर्घटनामा ज्यान गुमाउँछन् । यो तथ्याङ्कले सवारी दुर्घटनालाई विश्वव्यापी जनस्वास्थ्यको प्रमुख चुनौतीको रूपमा देखाउँछ, जसले प्रतिवर्ष लाखौं घाइते र अपाङ्गताका घटनाहरू पनि निम्त्याउँछ । सडक दुर्घटनामा ज्यान गुमाउनेको संख्या बढी हुने मुलुकमा भारत पहिलो नम्बरमा पर्छ भने चीन, अमेरिका, रसिया र ब्राजिल क्रमशः दोस्रो, तेस्रो, चौथो तथा पाँचौं नम्बरमा पर्छन् । नेपालमा पनि विगत एक दशकको दुर्घटनाको सरकारी विवरणले सडक दुर्घटनाबाट दैनिक रूपमा ७ जनाको ज्यान जाने गरेको देखाएको छ ।

दुर्घटना जे जसरी भएका छन्, जस्तो तथ्यांक देखिन्छ, त्यो दर्दनाक नै छ । नेपालमा बढ्दो दुर्घटनाले सडक सुरक्षाको अवस्थालाई देखाएको छ । पटक–पटक दुर्घटना हुँदा, सयौंले वर्षेनी ज्यान गुमाउँदा पनि आखिर किन सुध्रिन्न सडकको अवस्था ? किन रोकिदैन चालकको लापरबाही ? किन नियमित चेकजाँच गरिदैन सवारी साधनको ? ठुला दुर्घटना हुँदा साथ अध्ययन समिति गठन गर्ने तर, त्यसको यथार्थ सार्वजनिक गर्ने, दिइएका सुझाबलाई कार्यान्वयनमा किन बेवास्ता गरिन्छ ? अब यसको जवाफ जरुर खोज्नुपर्ने देखिएको छ । ठूला दुर्घटनामा जसरी सार्वजनिक सवारी चालकको लापरबाही, साधन र सडकको अवस्था जिम्मेवार देखिन्छ । त्यति नै जिम्मेवार र दोषी सडक सुरक्षामा राज्यको सुझाव कार्यान्वयन र दुर्घटना पश्चात तत्काल थप दुर्घटना हुन नदिन देखाउनु पर्ने तदारुकतामा गर्दै आएको लापरबाहीले नागरिकको ज्यान जाने क्रम रोकिएको छैन । सरकार र सरोकारवाला निकाय सबै यसमा गम्भीर र जिम्मेवार बनुन् ।

 

  • २०८२ फाल्गुन १३, बुधबार