• २०८३ कार्तिक ७, शुक्रबार
  • 2026 October 23, Friday

बागलुङमा निर्वाचन तयारी बारे अनुगमन

  • २०८२ फाल्गुन १७, आईतवार

बागलुङ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) गण्डकी प्रदेश कार्यालय पोखरा र राष्ट्रिय निर्वाचन पर्यवेक्षण समिति (नियोक) गण्डकी प्रदेश समितिको संयुक्त टोलीले फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनको तयारी बारे अनुगमन गरेको छ ।

बागलुङ जिल्लामा निर्वाचनका सन्दर्भमा सरोकारवाला निकायहरुले गरेको तयारीका विषयमा आइतवार स्थलगत अनुगमन गरिएको हो । मुख्य निर्वाचन अधिकृत, प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुख तथा अधिकारकर्मीसँग भेटघाट गरी निर्वाचन पूर्वको तयारी बारे जानकारी लिइएको थियो । बागलुङका मुख्य निर्वाचन अधिकृत सीता शर्मा अधिकारीका अनुसार मतदान केन्द्रमा मतदान अधिकृत, सहायक मतदान अधिकृत तथा अन्य कर्मचारीहरू खटाइसकिएको छ । राजनीतिक दलहरुबीच आवश्यकता अनुसार सर्वदलीय बैठक राखी अभिमुखीकरण गरेका छौ, अधिकारीेले भन्नुभयो,– ‘बागलुङमा आचारसंहिताका घटना खासै आएका छैनन् ।’

बागलुङका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद आचार्यले दुईवटा निर्वाचन क्षेत्र रहेको जिल्लामा निर्वाचनका लागि आवश्यक सुरक्षा तयारी पूरा भएको जानकारी दिनुभयो । उहाँका अनुसार निर्वाचनमा खटाइएका कर्मचारीहरू फागुन १९ गते देखि सम्बन्धित मतदान स्थाल प्रस्थान गर्ने व्यवस्था मिलाइएको जानकारी दिनुभयो । उहाँका अनुसार मतदानस्थललाई अति संवेदनशील, संवेदनशील र सामान्य श्रेणीमा वर्गीकरण गरी मतदानस्थलहरूको सुरक्षाका लागि नेपाल प्रहरी, निर्वाचन प्रहरी, सशस्त्र प्रहरी तथा नेपाली सेनालाई आवश्यकता अनुसार परिचालन गरिएको गरिदैछ ।

सहायक प्रमुख जिल्ला अधिकारी तथा निर्वाचन आचारसंहिता अनुगमन अधिकृत नवराज बरालका अनुसार पछिल्लो समय तिन ओटा लिखित उजुरी परेकोमा उजुरीका सम्बन्धमा अनुसन्धान भैरहेको र मौखिक उजुरीको सम्बन्धमा समन्वय गरेर सहजीकरण गरिएको बताउनु भयो । बागलुङ क्षेत्र नं. १ मा बागलुङ नगरपालिका, जैमिनी नगरपालिका, काठेखोला गाउँपालिका र बरेङ गाउँपालिका पर्दछन् । ४ पालिकाका ३७ वटा वडामा ९८ हजार ४६ मतदाता, ४८ वटा मतदान स्थल र १ सय १५ मतदान केन्द्र र २ वटा विशेष मतदान केन्द्र रहने जिल्ला निर्वाचन कार्यालय बागलुङका निर्वाचन अधिकारी यज्ञ प्रसाद रिजालले जानकारी दिनुभयो । यस्तै क्षेत्र नं. २ मा ६ वटा पालिकामा ९५ हजार ३३५ मतदाता, १ सय १५ मतदान केन्द्र रहने रिजालले बताउनुभयो । क्षेत्र नं. १ मा ११ र क्षेत्र नं. २ मा १२ गरी २३ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा रहेका छन् ।

निर्वाचनपूर्वको तयारी सम्बन्धी अनुगमन टोलीमा राष्ट्रिय निर्वाचन पर्यवेक्षण समिति (नियोक) गण्डकी प्रदेश समितिका संयोजक विष्णु प्रसाद बराल, इन्सेक गण्डकी प्रदेश कार्यालय पोखराका प्रदेश संयोजक गणेश भण्डारी, पत्रकारहरु कमल पौडेल ‘अथक’ र मधु पन्थीको सहभागिता रहेको थियो ।

  • २०८२ फाल्गुन १७, आईतवार