• २०८३ आश्विन २५, आईतवार
  • 2026 October 11, Sunday

गृह जिल्लामा गीत गाउदै, मत माग्दै प्रकाश सपुत

  • २०८२ फाल्गुन १७, आईतवार

बागलुङ । चुनाव प्रचारको औपचारिक समय सकिनै लाग्दा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का समानुपातिक उम्मेदवार प्रकाश सपुतले गृह जिल्लामा प्रचार अभियानलाई तिब्र बनाउनु भएको छ ।
बागलुङ क्षेत्र नं. १ का मतदाता रहेका सपुतले आइतबार बागलुङ नगरपालिकाका विभिन्न १० ठाउँमा मन्तव्य तथा गीत प्रस्तुत गरेको मत मागेको रास्वपा बागलुङले जनाएको छ ।

प्रत्यक्षतर्फका बागलुङ क्षेत्र नम्बर एकका उम्मेदवार सुशिल खड्कासंगै चुनावी अभियानमा जुटेका सपुतले बागलुङ बजारका विभिन्न ठाउँ र बलेवामा सांगितिक प्रस्तुती सहित मत माग्नु भएको थियो ।
बागलुङ बजारको गोल्डेनगेट चोकबाट शुरु भएको सपुतको सांगितिक प्रस्तुती बागलुङ नगरपालिका–४ उपल्लाचौर कटरको रुख, आर्मी ब्यारेक चोक, श्रीनगरटोल, उपल्लाचौरको एटिएम चोक, शिवधाराचोक, देउरालीचोक, चिप्लेटी बसपार्क, समिट चोक हुँदै बलेवा पुगेर सम्पन्न भएको थियो । सांगितिक प्रस्तुतीसंगै सपुतले प्रत्यक्ष र समानुपातिक उम्मेदवारलाई  घण्टीमा  भोट माग्दै हिड्नुभएको थियो ।

मुलुकले स्थिरता खोजेको छ, समाजमा विद्यमान विभेदको अन्त्य, शिक्षा, स्वास्थ्य, रोजगारीका अवसर गाउँ ठाउँमै सिर्जना हुनु पर्नेमा नभएका कारण आज धेरै युवाहरु रोजगारीका लागि विदेश गएका छन, सपुतले मन्तव्यका क्रममा भन्नुभयो,–‘मुलुकमा दलहरुले संघर्ष गरेर व्यवस्था परिवर्तन त गरे, तर अवस्था परिवर्तन नभएका कारण अन्य पेशा व्यवसायमा लागेकाहरु राजनीतिमा सक्रिय हुनु परेको छ ।’

धेरै पटक अन्य दलहरुलाई मत दिनु भयो, यसपटक रास्वपालाई साथ दिनुस, ५ वर्ष सरकार चल्ने गरी मत दिनुस, केही न केही परिवर्तन हुन्छ, हामी सांसद भएर फेरी फेरी आउला नआउला तपाईको धारामा पानी आउने, शिक्षा, स्वास्थ्य र विभेदको अन्त्यका लागि पहल गछौ, सुपतको भनाइ थियो ।

युवाहरुले विदेशबाट पठाएको रेमिट्यान्सले देश चलाउने होइन, यो देशका संभावनाहरुको खोजी गरेर यही रोजगारी सिर्जना गर्ने राजनीति जनतालाई चाहिएको छ, भन्दै सपुतले रास्वपाको सरकार बन्ने गरी मतदान गर्न अपिल गर्नु भयो ।

कार्यक्रममा प्रत्यक्षतर्फका उम्मेदवार सुशिल खड्काले विकासको गतिलाई थप प्रभावकारी बनाउनका लागि आफुहरु राजनीतिको मैदानमा आएको बताउनुभयो । रास्वपाले क्षेत्र नं. १ का विभिन्न वडाहरुमा चुनावी अभियान सम्पन्न गरी बजार केन्द्रीत भएको जनाएको छ ।

  • २०८२ फाल्गुन १७, आईतवार