बागलुङ । नेकपा एमालेका बागलुङ क्षेत्र नं. १ का उम्मेदवार हिरा बहादुर केसीले कालिका भगवती मन्दिर परिसरबाट फागु पूर्णिमाको शुभकामना व्यक्त गर्नु भएको छ । चुनाव प्रचार अभियानको अन्तिम दिन सोमबार बिहानै कालिका भगवती मन्दिर परिसरमा पुगेका केसीले फागु पूर्णिमाको शुभकामना व्यक्त गर्नु भएको हो ।
सम्पूर्ण नेपाली दाजुभाई तथा दिदी बहिनीहरुमा फागु पूर्णिमाको शुभकामना व्यक्त गर्दछु, फागु पूर्णिमाले हामी सबैलाई एकतावद्ध भएर समृद्धिको यात्रामा लाग्न प्रेरणा दिने अपेक्षा लिएको छु, केसीले भन्नुभयो,–‘सबै मिलेर समृद्धिको यात्रा तय गर्न फागुन पूर्णिमाले सकारात्क सन्देश प्रवाह गर्नेछ ।’ बागलुङ क्षेत्र नं. १ को समग्र विकासमा योगदान गर्ने अवसरका लागि फागुन २१ गते हुने निर्वाचनमा नेकपा एमालेको सूर्य चिन्हमा मतदान गरी विजयी गराउन केसीले अपिल गर्नु भयो ।
बागलुङको समृद्धि र विकासमा योगदान गर्ने चाहना पुरा गर्नका लागि सबैको साथ र सहयोगको अपेक्षा गरेको छु भन्दै केसीले कालिका भगवती मन्दिर परिसरबाट मत माग्नु भएको छ ।
पार्टीका नेता कार्यकर्ताहरु सहित कालिका भगवती मन्दिर परिसरमा पुगेका केसीले अन्तिम दिनको प्रचार प्रसार बानपा–१ बाट शुरु गर्नु भएको छ । बागलुङ क्षेत्र नं. १ का ३७ वटै वडामा चुनावी अभियान सकेर बजार केन्द्रीत भएका केसीले जनताका बीचमा पुगेर फर्केपछि थप उत्साह बढेको बताउनुभयो ।
बागलुङ क्षेत्र नं. १ नेकपा एमालेको संगठनका हिसावले सबै भन्दा बलियो आधार क्षेत्र हो, यहाँ एमालेका जिल्ला, प्रदेश र केन्द्रमा रहेका करिव एक सय जना जिम्मेवार नेताहरु चुनावी अभियानमा क्रियाशिल रहेका छन् ।
चार वटै पालिकामा पालिका कमिटि, ३७ वटा वडामा वडा कमिटि, सबै वडामा ६ देखि ९ वटा टोल कमिटि, अखिल नेपाल महिला संघ, युवा संघ नेपाल, अनेरास्ववियू लगायत जनसंगठनमा आवद्ध ५ सय भन्दा बढी नेता कार्यकर्ता सहित पार्टीका समर्थक, शुभेच्छुकहरु समेत केसी जिताउने अभियानमा खटिएको एमाले नेताहरुले बताएका छन् ।
गत स्थानीय निर्वाचनमा एमालेका तर्फबाट ३७ वटा वडामा अध्यक्षका उम्मेदवारहरुले काठेखोला गाउँपालिकामा ७ हजार, बागलुङ नगरपालिकामा ९ हजार ५ सय, जैमिनी नगरपालिकामा ३ हजार ५ सय र बरेङ गाउँपालिकामा २ हजार मत पाएका थिए । ३७ वटै वडाका वडा अध्यक्षका उम्मेदवारहले पाएको मतका आधारमा यो क्षेत्रको पहिलो शक्ति एमाले हो, फागुन २१ गते हुने निर्वाचनमा एमालेको मत संरक्षण गर्दा मात्रै एमालेका उम्मेदवार केसीको जित सुनिश्चित छ, एमाले नेताहरुको दावी छ ।
विगतमा ५ दलको गठबन्धनसंग प्रतिस्पर्धा गरेको एमाले यसपटक एकल प्रतिस्पर्धामा रहेका अन्य उम्मेदवारहरु भन्दा अगाडि रहेको निष्कर्षका साथ चुनावी अभियानमा सक्रिय भएका छन् । एमाले उम्मेदवार हिरा बहादुर केसी विगतमा २ पटकसम्म चुनावी प्रतिस्पर्धामा होमिएका र यो क्षेत्रको अनुभवी राजनीतिकर्मी भएको हुनाले पनि मतदाताले यसपटक केसीलाई विजयी गराउने विश्वास एमाले नेता कार्यकर्ताले लिएका छन् ।
