बागलुङ । आदर्श सञ्चार सहकारी संस्था बागलुङद्वारा प्रकाशित धौलागिरी जागरण दैनिकको १९औँ वार्षिकोत्सव धार्मिक तथा पर्यटकीय स्थल कालिका भगवती मन्दिर परिसरमा मनाइएको छ। प्रतिनिधिसभा सदस्यको निर्वाचनका कारण यस वर्ष संक्षिप्त कार्यक्रमका साथ वार्षिकोत्सव मनाइएको हो।
पछिल्लो ११ वर्षदेखि पत्रिकाको वार्षिकोत्सव विभिन्न पर्यटकीय स्थलमा पुगेर मनाउने परम्परालाई निरन्तरता दिँदै यस वर्ष कालिका मन्दिर परिसरमा औपचारिक कार्यक्रमका बीच वार्षिकोत्सव सम्पन्न गरिएको हो। पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने उद्देश्यका साथ राजनीतिक नेतृत्वभन्दा पत्रकारिता क्षेत्रका व्यक्तिहरूको उपस्थितिमा कार्यक्रम आयोजना गर्ने परम्परा रहेको संस्थाका प्रधान सम्पादक रामबहादुर जिसीले जानकारी दिनुभयो। उहाँका अनुसार यसपटक निर्वाचनको कारण टाढा जान सम्भव नभएकाले नजिकैको धार्मिक तथा पर्यटकीय स्थलमा कार्यक्रम गरिएको हो।

कार्यक्रममा नेपाल पत्रकार महासंघ बागलुङका अध्यक्ष राम थापा ‘अविरल’ले पत्रिकाको वार्षिकोत्सवको शुभकामना व्यक्त गर्दै पर्यटकीय क्षेत्रमा वार्षिकोत्सव मनाउने परम्पराले निरन्तरता पाएकोमा खुसी व्यक्त गर्नुभयो। सक्रिय तथा श्रमजीवी पत्रकार उत्पादन गर्दै पत्रिका २०औँ वर्षमा प्रवेश गर्नु पत्रकारिता क्षेत्रकै गौरवको विषय भएको उहाँले बताउनुभयो।

पत्रिकाले पर्यटन प्रवर्द्धनमा थालेको प्रयासले समाज विकासमा महत्वपूर्ण योगदान पुर्याएको उहाँको भनाइ थियो। पछिल्लो समय लेखन क्षेत्रमा आउने पत्रकारको संख्या घट्दै गएको उल्लेख गर्दै भ्रमण, लेखनवृत्ति लगायतका गतिविधिले नयाँ पुस्तालाई पत्रकारितामा आकर्षित गर्न सक्ने उहाँले बताउनुभयो।

त्यस्तै कालिका भगवती गुठी व्यवस्थापन समितिका अध्यक्ष भुपेन्द्र खड्काले मिडियाले पर्यटकीय क्षेत्रलाई थप उजागर गर्दै लैजानुपर्नेमा जोड दिनुभयो। उहाँले राजनीतिक भन्दा विकासमुखी पत्रकारिता आजको आवश्यकता भएको बताउनुभयो।

कार्यक्रममा नेपाल पत्रकार महासंघ बागलुङका पूर्व अध्यक्ष राजेशचन्द्र राजभण्डारी, धौलागिरी जागरण दैनिकका संस्थापक सहसम्पादक प्रकट कुमार शिशिरले शुभकामना व्यक्त गर्नुभएको थियो।
कार्यक्रम सहकारीका अध्यक्ष हुमाकुमारी जिसी ‘अञ्जु’को अध्यक्षता, प्रधानसम्पादक रामबहादुर जिसीको सञ्चालन तथा प्रबन्धक दिपकराज सापकोटाको स्वागत मन्तव्यमा सम्पन्न भएको थियो।

