• २०८३ आश्विन २६, सोमबार
  • 2026 October 12, Monday

सम्पादकीय : निर्वाचनको प्रष्ट सन्देश

  • २०८२ फाल्गुन २४, आईतवार

प्रतिनिधि सभाको निर्वाचन अभूतपूर्व रुपमा शान्तिपूर्ण तबरले सम्पन्न भयो । गत भाद्र २३ र २४ को जेनजी आन्दोलन पश्चात उत्पन्न राजनीतिक मुद्दालाई सम्बोधन र जटिलताबाट फेरि देशलाई लयबद्ध गर्न निर्वाचन अपरिहार्य कदम थियो । ६ महिना भित्र निर्वाचन गर्ने जिम्मेवारी पाएका प्रधानमन्त्री सुशिला कार्की नेतृत्वको सरकार पूर्णतः सफल रह्यो । निर्धारित समयमै कुनै पनि अप्रिय घटना बिना निर्वाचन सम्पन्न गर्ने कुरा सामान्य होइन, राज्य बिहिनताको जटिल अवस्थाबाट परिस्थिति सम्हाल्दै अहिलेको सरकारले गरेको निर्वाचनबाट अझ पुराना राजनीतिक दल र नेतृत्वलाई गतिलो पाठ र सन्देश समेत मिलेको छ । वर्षौदेखि नेपाली राजनीति र सत्तामा रजगज गर्दै आएकाहरुसँग जनता कति आजित रहेछन् ? निर्वाचनले उदांगो पारिदिएको छ ।

यसपटकको निर्वाचनबाट पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली अत्यन्त लज्जास्पद पराजय बेहोर्न बिबश बने । काठमाडौं महानगरको मेयरबाट राजीनामा दिएर अकल्पनीय रुपमा झापा–५ मा पुगेर ओलीसँग चुनावी मैदानमा उत्रिएका बालेन शाह ६८ हजार ३४८ मतसहित शानदार रुपमा विजयी भए । रास्वपाले प्रधानमन्त्रीको उम्मेदवारका रूपमा प्रस्ताव गरेका शाहसँग कुनै बेला राष्ट्रियताको मुद्दाबाट लोकप्रिय छवि बनाएका ओली ५० बढी मतको फराकिलो मतान्तरले पराजित हुनु नेपाली राजनीतिमा अब एक अविस्मरणीय घटना र पाठका रुपमा रहनेछ । उसो त यसपटकको निर्वाचनमा ओली मात्र होइन, विशेष महाधिवेशनबाट अनेकन चुनौतीका पहाडहरु छिचोल्दै सभापति बनेर नेतृत्वमा पुस्तान्तरण गर्न सफल गगन थापा पनि पराजय बेहोरे । ३ पटक लगातार काठमाडौं ४ बाट बिजयी थापा यसपटक सर्लाही ४ मा पुगेका थिए । जहाँ रास्वपाका अमरेशकुमार सिंहले ३५ हजार ६८८ मत ल्याउँदा थापाले २२ हजार ८३१ मत ल्याए । यो जितसँगै अमरेशसिंहले ह्याट्रिक पनि पूरा गरे भने गगन थापाको पहिलो हार हो । ०६४ सालको निर्वाचनमा समानुपातिक सांसद बनेका थापाले काठमाडौं ४ मा ह्याट्रिक जित पूरा गरेका थिए । यसपटक मधेश झरेर चुनाव लडेका थापाले हार बेहोरे । उसो त यस निर्वाचनमा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालदेखि पूर्व उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठ, राजेन्द्र लिङ्देन, भीम रावलहरु पनि लज्जास्पद हार बेहोरेका छन् । देशभरमा राष्ट्रिय स्वतन्त्र पार्टीको पक्षमा अभूतपूर्व उभार आएको छ । रास्वपा एकल बहुमत मात्र होइन, नतिजामा कुनै चामत्कारिक उलटफेर भएन भने दुई तिहाई बहुमत नजिक छ । वर्षौदेखि मूलधारको राजनीतिमा स्थापित भइरहेका नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिष्ट पार्टीहरु भने साना दलमा खुम्चिएका छन् ।

अहिलेको निर्वाचनमा नेपाली जनताले रास्वपलाई ‘सरप्राइज’ दिए । रास्वपाप्रति आकर्षण भए पनि यसकिसिमको ‘सुनामी’ नतिजा आम रुपमा अपेक्षित थिएन । उसो त नेपाली इतिहासका विभिन्न कालखण्डमा ‘रिभोलुसन बाइ ब्यालेट’ (मतमार्फत विद्रोह) त हुँदै आएको छ । २०६४ मा तत्कालीन नेकपा माओवादीको पक्षमा जनलहर देखिएको थियो । ०७४ मा पनि बामगठबन्धन प्रति जनविश्वास अभूतपूर्व रुपमा प्रकट भएको थियो । अहिलेको यतिञ्जेलको चुनावी नतिजाले रास्वपाको पक्षमा ‘सुनामी’ आएको देखाउँछ । हामीले भनेजस्तै बालेन शाह र परिवर्तनप्रति आम मतदाताको असाधारण आकर्षण र अभूतपूर्व समर्थन रहेको पुष्टि भएको छ । अब यो अभूतपूर्व जित, जनविश्वास र भरोसालाई कामको परिणाममा बदल्नु पर्ने चुनौती छ । रास्वपा र बालेनले यो जितलाई संयमित भएर सम्हाल्नु पर्नेछ । विगतमा नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी लगायतले राम्रो अवसर र जनविश्वास अभिमतमार्फत अभिव्यक्त गर्दा पनि पटक–पटक धोका भएका कारण नै यसखालको चुनावी नतिजा दिएको बिर्सिनु हुँदैन । यदि यसमा थोरै मात्र पनि रास्वपा र बालेन तलमाथि भए भने जनताले फेरि यसैगरी ढिलोचाँडो दण्डित गर्नेछन् ।

 

  • २०८२ फाल्गुन २४, आईतवार