• २०८३ आश्विन २६, सोमबार
  • 2026 October 12, Monday

आदर्श सञ्चारको सम्पादन टिम परिवर्तन : पन्त र गौतमलाई सम्पादकको जिम्मेवारी

  • २०८२ फाल्गुन २४, आईतवार

बागलुङ । आदर्श सञ्चार सहकारी संस्था लिमिटेड बागलुङले सञ्चालन गर्दै आएका सञ्चारमाध्यमको सम्पादन मण्डलमा जिम्मेवारी हेरफेर गरेको छ । संस्थाको हालै सम्पन्न सञ्चालक समितिको वैठकले संस्थामार्फत विगत १९ वर्षदेखि सञ्चालन हुदै आएको धौलागिरी जागरण दैनिक र ७ वर्षदेखि सञ्चालन हुदै आएको आदर्शसञ्चार अनलाइनको जिम्मेवारी परिवर्तन गरेको हो ।

संस्थाले प्रकाशन गर्दै आएको धौलागिरी जागरण दैनिकको सम्पादकमा सिर्जना पन्त र संस्थाद्वारा सञ्चालित आदर्शसञ्चार अनलाइनको सम्पादकमा खेमराज गौतम (सुवास) लाई नियुक्त गर्ने संस्थाले निर्णय गरेको हो । एक दशक भन्दा पहिलेदेखि सम्वाददाता हुदै सहसम्पादक बनेका पन्त र गौतमलाई दैनिक पत्रिका र अनलाइनको सम्पादकको जिम्मेवारी दिइएको संस्थाका सम्पादक राम बहादुर जि.सी. ले जानकारी दिनुभयो । लामो समयदेखि सम्पादन मण्डलमा रहेर काम गर्नुका साथै जिल्लाको पत्रकारिता क्षेत्रमा निरन्तर योगदान गरेको, नेपाल पत्रकार महासंघको समेत महत्वपूर्ण जिम्मेवारीमा रहेर काम गरेका संस्थाका दुइ जना सह–सम्पादकलाई सम्पादकको जिम्मेवारी प्रदान गरेका छौ, सम्पादक जिसीले भन्नुभयो ।

संस्थाद्वारा प्रकाशित धौलागिरी जागरण दैनिक आज फागुन २३ गतेदेखि २० औं वर्षमा प्रवेश गरेको छ । कालिका भगवती मन्दिर परिसरमा आयोजित १९ औं वार्षिकोत्सव कार्यक्रममा अवसरमा धौलागिरी जागरण दैनिक र आदर्श सञ्चार अनलाइनका संस्थापक सम्पादक जिसीले पत्रिका र अनलाइन सम्पादनको औपचारिक जिम्मेवारीको जानकारी गराउनु भएको हो ।

पत्रिकामा जिसी नै निरन्तर सम्पादक रहनु भएको थियो भने अनलाइनको सम्पादकमा दिल शिरिष र पछिल्लो केही समयदेखि दिपकराज सापकोटा रहनु भएको थियो । संस्थाले विगत दुइ दशकदेखि धौलागिरी जागरण दैनिक, डेढ दशकदेखि अग्रसर साप्ताहिक र ७ वर्षदेखि आदर्शसञ्चार अनलाइन सञ्चालन गर्दै आएको छ । पत्रिका र अनलाइनका संस्थापक सम्पादक राम बहादुर जिसी प्रधानसम्पादक रहने गरी पत्रिका र अनलाइनको सम्पादक परिवर्तन गरिएको संस्थाका प्रवन्धक दिपकराज सापकोटाले जानकारी दिनुभयो ।

  • २०८२ फाल्गुन २४, आईतवार