• २०८३ आश्विन २५, आईतवार
  • 2026 October 11, Sunday

भनसुनका काम लिएर म संग नआउनुहोला : सुशिल खड्का

  • २०८२ फाल्गुन २४, आईतवार

बागलुङ । बागलुङ क्षेत्र नं. १ को प्रतिनिधिसभा सदस्य पदमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का तर्फबाट निर्वाचित सुशिल खड्काले भनसुनका काम लिएर आफु र आफ्नो सचिवालयमा नआउन आग्रह गर्नु भएको छ । प्रतिनिधि सभा सदस्यमा निर्वाचन भएको दोस्रो दिन बागलुङ बजारमा सम्पर्क सचिवालयको कार्यालय शुभारम्भ गर्दै खड्काले भनसुन लिएर आफु र सचिवालयमा नआउन सबैसंग आग्रह गर्नु भएको हो ।

खड्काले बानपा–३, गुठीमा आफ्नो सचिवालयको सम्पर्क कार्यालय स्थापना गर्नु भएको हो । सामान्य भनसुन गर्ने, यता भनिदे, उता भनिदे होइन, मुद्दा मिलाइदिनु प¥यो जस्ता भनसुनका कुरा लिएर नआउनु होला, सांसद खड्काले भन्नुभयो,–‘अन्यायमा परेको विषय, दुख पाएको विषय छ भने फेरी म, देशभर जहाँ भए पनि सक्रिय भएर लाग्नेछु ।’ सचिवालयमा राजनीतिक विषय हेर्ने जिम्मेवारी झपेन्द्र केसी र विकास निर्माण लगायत जनताका सरोकारका विषय हेर्ने जिम्मेवारी अभिशेक कटुवाललाई दिएको जानकारी खड्काले गराउनु भयो ।

अहिले सानो सचिवालय बनाएका छौ, पार्टीसंग समन्वय गरेर सचिवालयको सम्पर्क कार्यालयलाई थप व्यवस्थित र नियमित गराउनेछौ, खड्काको भनाइ थियो । सचिवालयले हेल्प डेक्सका रुपमा ब्याख्या गरेका सांसद खड्काले सम्पर्क कार्यालयबाट जनताबीच प्रत्यक्ष सम्वाद, सहकार्य र समन्वय हुने प्रतिवद्धता व्यक्त गर्नु भयो । जनताका गुनासा सुन्ने, सुझाव लिनका लागि सम्पर्क कार्यालयमा रहेको टिम सदैव सक्रिय रहने पनि उहाँले जानकारी गराउनुभयो । हामीले काम मागेका थियौ, जनताले काम गर्ने जिम्मेवारी दिनु भएको छ, अब हामी निरन्तर काममा छौ ।

चुनावका बेला मत माग्न आए जस्तै सबै वडामा धन्यवाद यात्रा गर्ने तयारी गर्दैछौ, खड्काले कार्यक्रममा जानकारी गराउनुभयो । चुनावी कमाण्डर रोशन कार्कीको नेतृत्वमा सबै वडामा निर्वाचन परिचालन समिति, महिला तथा युवाहरुका समिति, जिल्ला बाहेक अन्य शहर र विदेशबाट समेत चुनाव जिताउन महत्वपूर्ण सहयोग भएको भन्दै खड्काले सबैलाई धन्यवाद दिनु भएको छ । कार्यक्रमको सञ्चालन राजेन्द्र आचार्य र धन्यवाद ज्ञापन क्षेत्रीय सभापति बालकृष्ण शर्माले गर्नु भएको थियो ।

  • २०८२ फाल्गुन २४, आईतवार