बागलुङ । आम युवा र हाम्रो बागलुङ, हाम्रो जिम्मेवारीका संस्थापक सोम शर्मा युवाको आवाजलाई सडकबाट संसदको यात्रा थाल्नुभएको छ ।
हालै रास्वपामा आवद्द शर्माले पश्चिम बागलुङको क्षेत्र नम्बर २ को निर्वाचन जित्त सफल हुनुभएको छ । ३४ वर्षीय शर्मा सामाजिक अभियान्ता, जेन्जी आन्दोलनका अगुवा हुँदै प्रतिनिधिसभा सदस्य हुन सफल हुनुभएको छ ।
शर्माले बागलुङ क्षेत्र नम्बर २ मा १२ हजार ६४७ मत लिएर निर्वाचन जित्नुभएको छ । शर्माले कांग्रेसका टेकराज पौडेललाई ७७९ मतले पछाडि पार्दै निर्वाचन जित्नुभएको छ । क्षेत्र नम्बर २ मा खसेको जम्मा ४७ हजार २०७ मा शर्माका निकटतम प्रतिस्प्रधी नेपाली कांग्रेसका उम्मेदवार टेकराज पौडेलले ११ हजार ६८ मत प्राप्त गर्नुभएको थियो । यसैगरी नेपाली कम्युनिष्ट पार्टी नेकपाका ज्ञामनाथ गैरेले १० हजार ७०९ मत प्राप्त गर्दा नेकपा एमालेका मञ्जु शर्मा चालिसे ७ हजार ८६४ मत प्राप्त गर्नुभएको थियो । जिल्लाको दुई नम्बर क्षेत्रमा ११ जना उम्मेदवार चुनावी मैदानमा थिए ।
कोरोना पीडितका सहयात्रीदेखि जेन्जी अगुवा सम्म
बागलुङ बजारमा इलेक्टोनिक्स पसल राखेका शर्मा कोरोना अघि काठमाण्डौ पुग्नुभएको थियो । जेन्जी आन्दोलन र नागरिक खबरदारीको अगुवाको रुपमा चिनाउने शर्मा कोरोनाकालमा सडकमा खाना बड्दै काठमाण्डौमा हिड्ने गर्नुभएको थियो । कोरोना, विपद्, गरिबी तथा समाजका विभिन्न क्षेत्रका सेवाका सारथीका रुपमा चिनिएका शर्मा पश्चिम क्षेत्रमा र राजनीति दुबैमा नयाँ अनुहारको रुपमा संसद भवन छिर्नुभएको छ । २९ पुस २०४८ सालमा बागलुङ नगरपालिका–१२ मा शर्मा जन्मनुभएको थियो ।
एक प्रतिबद्ध, नैतिक र सुधारमुखी व्यक्तित्व भएका युवा नेताका रुपमा चिनिन थाल्नुभएका शर्मालाई पहिलोपटकनै जनताले अनुमोदन गरेका छन् । बिद्रोही युवाका रुपमा रहेका शर्माले सामाजिक सन्जालबाट शुसासनको पक्षमा बोल्दै आउनुभएको थियो ।
रास्वपाको राजनीति, समाजसेवा र व्यावसायिक नेतृत्व मार्फत आफ्नो क्षेत्र र समुदायको विकासमा योगदान पु¥याउन निर्वाचनमा होमिएका शर्माले बागलुङको पश्चिम क्षेत्र विकट नभएर विकट बनाइएको बताउनुहुन्छ । “बागलुङको पश्चिम क्षेत्रलाई विकट मानियो, तर विकट बनाइएको हो, अब विकट रहँदैन, पर्यटनमार्फत यहाँको विकास हुन्छ, निर्वाचित सांसद गाउँ नआएको गुनासो अब रहन्न, म नियमित गाउँ र सदलाई जोड्नेछु ।”
त्रिभुवन विश्वविद्यालय, रत्नराज्य क्याम्पसबाट राजनीतिशास्त्र र मास कम्युनिकेशन विषयमा स्नातक तह अध्ययन गर्नुभएका सोम शर्माले कम्प्युटर, नेटवर्किङ र कृषि उद्यमशीलता सम्बन्धी विभिन्न तालिमहरू लिइसक्नुभएको छ । पेशागत जीवनमा उहाँले कम्प्युटर शिक्षक, प्राविधिक विशेषज्ञ र व्यवस्थापन निर्देशकको रूपमा कार्य गरेको अनुभव छ । बागलुङ क्षेत्र नम्बर २ मा अपरिचित अनुहारका रुपमा रहेका शर्मालाई जनताले परिचित बनाइदिएका छन् ।
विकासले पछि परेको बागलुङ पश्चिम क्षेत्रको भूगोललाई राष्ट्रिय रुपमा चिनाउदै पर्यटकीय क्षेत्रको रुपमा चिनाउने शर्माको अठोट छ ।