• २०८३ आश्विन १७, शनिबार
  • 2026 October 03, Saturday

विदेशबाट युवाहरुले ‘पैसा मलाई पठाए, मत घण्टीलाई दिए’ : राजमो उम्मेदवार अधिकारी

  • २०८२ फाल्गुन २६, मंगलवार

बागलुङ ।  फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा बागलुङ क्षेत्र नं. १ मा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) को समेत समर्थनमा राष्ट्रिय जनमोर्चाका तर्फबाट उम्मेदवार बनेका कृष्ण प्रसाद अधिकारीले सोमबार सांझ मतदाताहरुलाई धन्यवाद दिनुभयो । सामाजिक सञ्जालबाट धन्यवाद दिदै गर्दा अधिकारीले केही महत्वपूर्ण विषय उठान गर्नु भएको छ । विशेष गरी पुराना राजनीतिक दल, जसले आफुलाई राजनीतिको विरासत भएको ठान्छन्, उनीहरु सबैले मनन गर्ने गरी अधिकारीले सामाजिक सञ्जालमार्फत सन्देश दिनु भएको छ । ‘गाउँका भाइ भतिजाहरुले माया र सद्भाव राखेर विदेशबाट मलाई आर्थिक सहयोग गरे, तर आफ्नो घरमा मत घण्टीमा दिन लगाए’ अधिकारीले सन्देशमा भन्नु भएको छ । अहिलेको चुनावमा मत परिवर्तनको सबै भन्दा महत्वपूर्ण फ्याक्टर यही हो ।

विदेश भएका ६५ प्रतिशत भन्दा बढी युवा युवतीहरुले घण्टीमा मत दिन भनेका छन्, र परिवारले आफन छोरा छोरी, नाति नातिनाको सुझाव अनुसार मत दिएका छन् । विदेश जान वाध्य बनाएको पीडा भएर हो कि ? घण्टीको मायाले होला त ? विकास निर्माणमा देखिएको लार्पवाही, दलहरुमा देखिएको सिण्डिकेटप्रति युवा पुस्ताको हस्तक्षेपका रुपमा यसलाई लिनु पर्छ, राजमो उम्मेदवार अधिकारीले थोरै शब्दमा धेरै आशय प्रकट गर्नु भएको छ, ‘पैसा मलाई पठाए, मत अर्कैलाई दिन भनेछन् ।’ उहाँले भन्नुभएको छ, ‘आफ्नै परिवारको मत संरक्षण भएन, टेको दिनेहरुको प्रतिवद्धतामा के शंका गरौ’ । परिवार भनेर उहाँले राजमोका कार्यकर्ताले नै मत दिएनन् भन्ने आशय व्यक्त गर्नु भयो, चुनावमा सहकार्य गरेको दलका तर्फबाट त अधिकारीलाई मत नै आएको छैन, उहाँले शंका किन गर्ने भनेर ययार्थ सार्वजनिक गर्नु भएको छ । नेकपाका तर्फबाट मत नआएको उहाँको सांकेतिक व्यग्य छ ।

आफ्नै पार्टीका कार्यकर्ताले मत दिएनन्, जिम्मेवारीमा रहेकाले मत दिएनन्, गठबन्धन गरेपछि चुनाव जितिन्छ भन्ने विगतको प्रवृतिलाई पनि अधिकारीले झटारो हान्नु भएको छ । फेरी पनि बामपन्थीहरुको शक्ति आर्जनका लागि गठबन्धनको विकल्प छैन । अधिकारीले देशमा बाढी आएको बेला मेरो कसैसंग गुनासो छैन, सबैप्रति सदा भलो चिताइने छ, भनेर फेरी पनि सहकार्यको संभावनालाई जिवितै राख्नु भएको छ । विगत ३६ वर्ष सत्ता चलाएका ठुला पार्टीप्रतिको वितृष्णाको घानमा राजमो र आफु परेको गुनासो अधिकारीले गर्नु भएको छ ।

उहाँलाई स्मरण रहोस्, विगत ३३ वर्षदेखि बागलुङको सत्तामा राजमो नै अग्रभागमा छ । २०५१ मा तीन मध्ये १ निर्वाचन क्षेत्रमा विजयी, २०५४ मा जिल्ला विकास समितिको सभापति, २०५६ मा ३ मध्ये २ निर्वाचन क्षेत्रमा विजयी, २०६४ मा ३ मध्ये १ मा विजयी, २०७० मा चित्र बहादुर केसी समानुपातिक सांसद र उपप्रधानमन्त्री, २०७४ र २०७९ मा जिल्ला समन्वय समितिको प्रमुख, २०७९ मा २ मध्ये एक क्षेत्रमा सांसद, पालिका र वडामा समेत बाहुल्यता रहेको छ । अरुलाई सबै दोषको भारी बोकाइरहदा बागलुङमा राजमोले कति हिस्सा लिन्छ, अधिकारीलाई जनताको प्रश्न छ ।

भूराजनीतिक शक्ति सन्तुलनको जटिलताका बीच रास्वपाले दुइ तिहाइ सुविधा सहितको बहुमत पाएकोले राम्रो काम गर्न सुझाव दिनु भएको छ । राष्ट्रियता, गणतन्त्र र जनजीविका माथि अप्ठेरो परिस्थिति निर्माण भए, हाम्रो लागि मैदान खुल्ला छ, भन्दै उहाँले गलत गर्ने छुट छैन है भन्ने चेतावनी पनि दिनु भएको छ । राजमो उम्मेदवार अधिकारीले सार्वजनिक गरेको सांकेतिक धारणा नेपालको राजनीतिको ययार्थपरक नै छ । राजनीतिमा देखिएका विकृति, विसंगतीलाई तोड्ने, सिमान्तकृत समुदायको आर्थिक विकास र सामाजिक रुपान्तरण गर्ने लक्ष्य बोकेका बामपन्थी दलहरुको सान्दर्भिकतामाथि यो चुनावले गंभिर प्रश्न उठाइदिएको छ ।

  • २०८२ फाल्गुन २६, मंगलवार