• २०८३ कार्तिक ७, शुक्रबार
  • 2026 October 23, Friday

बागलुङ–२ को चुनाव : बहुमतमा बामपन्थी, रास्वपाको जीत

  • २०८२ फाल्गुन २७, बुधबार

 बागलुङ ।

चुनावमा तालमेल, गठबन्धन र सहकार्य विगत देखीकै प्रचलन हो । बहुदलको आगमनपछिको निर्वाचनमा सबै दल छुट्टा छुट्टै चुनावमा प्रतिस्पर्धा गरेका थिए । २०४९ सालमा स्थानीय निकायको निर्वाचन भयो । तत्कालिन गाविसमा दलहरुको जनमतको अवस्थालाई ख्याल गरेर दलहरुले ०५१ पछि दलहरुबीच चुनावमा तालमेलको शुरुवात भयो । विशेष गरी बामपन्थीहरुको तालमेलको शुरुवात बागलुङबाटै भएको थियो ।

२०५१ को मध्यावधी निर्वाचनमा बागलुङ क्षेत्र नं. १ मा नेकपा एमालेले तथा क्षेत्र नं. २ र ३ मा राष्ट्रिय जनमोर्चाले उम्मेदवार उठाउने गरी तालमेल भएको थियो । तालमेल अनुसार बागलुङ क्षेत्र नं. १ मा एमालेका गोविन्दराज अधिकारी र क्षेत्र नं. ३ मा राजमोका परी थापा विजयी हुनु भएको थियो । क्षेत्र नं. २ मा राजमोका चित्र बहादुर केसी नेपाली कांग्रेसका मिन बहादुर खत्रीसंग पराजित हुनुभयो ।

त्यस यता प्राय बागलुङका बामपन्थी शक्तिहरु मिलेर चुनाव लड्ने गरेका छन् । एकल प्रतिस्पर्धा गर्दा बागलुङमा बामपन्थीहरुले जितेको बिरलै छ । २०६४ मा राजमोका तर्फबाट बागलुङ क्षेत्र नं. २ मा चित्र बहादुर केसीले एकल जित निकाल्नु भएको थियो । २०५६ मा एमाले र राजमो, २०६४ मा एमाले र नेकपा एकीकृत, २०७४ मा एमाले, माओवादी केन्द्र र राजमोबीच चुनावी गठबन्धन नै भएको थियो । २०७९ मा त माओवादी, राजमो, नेकपा एकीकृत सहित कांग्रेसको गठबन्धन भयो । बामपन्थी तालमेल गर्दा २०५१ मा क्षेत्र नं. २, २०५६ मा क्षेत्र नं. १ मा बामपन्थीहरु पराजित भएका थिए, एकल प्रतिस्पर्धामा निकै कठिन अवस्था विगतकै हो ।

यसपटक सबै दल छुट्टा छुट्टै निर्वाचनमा प्रतिस्पर्धा गर्ने भन्दै मैदानमा ओर्लिए, यद्यपी केही छिटफुट ठाउँमा स्थानीय आवश्यकता अनुसार चुनावी तालमेल भयो । बागलुङमा यसपटक पनि बामपन्थी दुइ दलबीच सहकार्य भयो । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) र राजमोबीच एक एक क्षेत्र लिएर चुनावमा प्रतिस्पर्धामा जाने सहमति भयो । बागलुङ क्षेत्र नं. १ मा राजमोका कृष्ण प्रसाद अधिकारीलाई नेकपाले सघाउने र क्षेत्र नंं २ मा नेकपा ज्ञामनाथ गैरे अनिललाई राजमोले सघाउने सहमति अनुसार चुनावमा गएका थिए । मत परिणाम अनुसार क्षेत्र नं. २ मा नेकपाका ज्ञामनाथ गैरे तेस्रो र १ मा अधिकारी चौथो स्थानमा पुगेको निर्वाचन कार्यालयले जनाएको छ ।

बागलुङ क्षेत्र नं. २ मा तेस्रो भएका नेकपाका ज्ञामनाथ गैरे र चौथो भएका नेकपा एमालेका उम्मेदवार मञ्जु शर्माले ल्याएको मत चुनावमा विजयी भएका रास्वपाका सोम शर्माको भन्दा बढी छ । दुइ बामपन्थी दल मिलेर उम्मेदवार भएका गैरेले १० हजार ७०९ र एमालेका शर्माले ७ हजार ९६४ मत पाउनु भएको छ ।दुवैको मत जोड्दा १८ हजार ६७३ हुन्छ, विजयी हुने रास्वपाका सोम शर्माले १२ हजार ६४७ मत पाउनु भएको छ । ६ हजार २६ मत ल्याएका बामपन्थी शक्तिहरु अलग अलग प्रतिस्पर्धामा गएको फाइदा रास्वपालाई भएको छ ।

दोस्रो हुने नेपाली कांग्रेसका टेकराज पौडेलले ११ हजार ८६८ मत ल्याउनु भएको छ । बामपन्थी शक्तिहरु मिलेर चुनावमा गएको भए बागलुङ क्षेत्र नं. २ बाम उम्मेदवारले जित्ने अवस्था रहेको मत परिणामले देखाएको छ । पछिल्लो समय दलहरु मिलेर चुनावमा प्रतिस्पर्धा गर्दा कार्यकर्ताले नरुचाएकाले विजय निश्चित हुन्थ्यो भन्न सकिने अवस्था भने छैन ।

यता, क्षेत्र नं. १ मा बामपन्थी दलहरु मध्ये नेकपा एमालेका हिरा बहादुर केसीले ८ हजार ६४० र राजमोका कृष्ण अधिकारीले ४ हजार ५२१ मत ल्याउनु भएको छ । दुवैको मत जोड्दा १३ हजार १६१ हुन्छ, यो क्षेत्रमा विजयी हुने रास्वपाका सुशिल खड्काले २० हजार ९२७ मत पाउनु भएको छ । दुइ बामपन्थीको मत जोड्दा पनि विजयी खड्काको मत ७ हजार ७६६ बढी छ । दोस्रो भएका नेपाली कांग्रेसका उम्मेदवार भीम श्रीसले ११ हजार ९४४ मत पाउनु भएको छ । बामपन्थीहरुलाई सबै भन्दा बढी क्षति यसपटकको चुनावमा भएको छ । बामपन्थी शक्तिहरुले लिएका नीति, नेतृत्व र विचार नमिल्नेहरुसंग पनि गर्ने गरेको गठबन्धनका कारण यिनीहरुको मत कम हुदै गएको स्थानीयको भनाइ छ ।

बामपन्थमै प्रहार भएको छ, बामपन्थी शक्तिहरु पटक पटक राज्यसत्ताको नेतृत्वमा पुग्दा पनि शिक्षा र स्वास्थ्य जस्ता विषयमा स्पष्ट दृष्टिकोण दिन नसक्दा समस्या सिर्जना भएको बुद्धिजिवीहरु बताउछन् । आज पनि बामपन्थी नेताहरु आफै निजी अस्पताल सञ्चालन गर्ने, निजी विद्यालय सञ्चालन गर्ने अवस्थामा छन्, शिक्षा र स्वास्थ्यलाई निजीकरण गर्ने दलहरुलाई बामपन्थी भन्ने कसरी ? भन्ने प्रश्न युवाहरुले उठाउन थालेका छन् ।

  • २०८२ फाल्गुन २७, बुधबार