• २०८३ आश्विन २९, बिहीबार
  • 2026 October 15, Thursday

सम्पादकीय : इनिशा मृत्यु प्रकरण, कहिले सम्म बलात्कार र हत्या ?

  • २०८२ फाल्गुन २८, बिहीबार

नेपालमा आजको २१ औं शताब्दीमा पनि छोरीहरु सुरक्षित छन् ? प्रश्न निकै गम्भीर लाग्छ र उत्तरका लागि निकै सोचनीय बनाउँछ । कारण मुलुकमा एकपछि अर्को बलात्कार र हत्याका अप्रिय घटनाका खबरहरु आइरहेका छन् । यति मात्रै होइन, बलात्कार, हत्या जस्ता जघन्य अपराधमा संलग्नहरु पक्राउ र कारबाहीको दायरामा नै नआउने दुर्भाग्यपूर्ण अवस्था पनि बिद्यमान छ । अहिले फेरि यस्तै एक बिभत्स दुखद खबर सार्वजनिक छ । गत २३ फागुनमा बिहान वीरेन्द्रनगर–४, शहीद पार्क नजिकको जनजागरण सामुदायिक वनमा बेहोस अवस्थामा फेला परेकी सुर्खेतकी इनिशा विकको बलात्कार पछि हत्या गरिएको प्रारम्भिक अनुसन्धानमा देखिएको छ । सामूहिक बलात्कारपछि हत्या भएको भन्दै मृतकका आफन्तहरूले २५ फागुनमा जिल्ला प्रहरी कार्यालय सुर्खेतमा उजुरी पनि दिएका छन् ।

इनिशा माथि किन र कसरी बलात्कार भयो ? त्यसपछि हत्या नै गर्नुपर्ने कारण के थियो ? यस विषयमा नेपाल प्रहरीले आवश्यक अनुसन्धान अघि बढाएको पनि छ । प्रहरीले घटनामा संलग्न भएको आरोपमा चार जनालाई नियन्त्रणमा लिएको छ । यद्यपि, पक्राउ परेकाहरू चारै जना १८ वर्षमुनिका नाबालक छन् । सुर्खेत प्रहरीले २३ फागुन दिउँसो नै एक १६ वर्षीय किशोरलाई पक्राउ गरेको थियो । थप अनुसन्धानका लागि २४ फागुनमा अरू तीन जनालाई पनि नियन्त्रणमा लिएर अनुसन्धान थालेको बताइरहेको छ । इनिशामाथि सामूहिक बलात्कार भएको वा नभएको विषयमा चिकित्सकीय रिपोर्ट आउन बाँकी छ । अहिले देशमा नयाँ सरकार बन्ने चरणकै बेला भएको यस्तो घटनाले स्तब्ध र आक्रोशित तुल्याएको छ । यही कारण ‘इनिशालाई न्याय देऊ’, ‘दोषीलाई कारबाही गर’ लगायतका नारा सहित सरकारलाई खबरदारीका लागि देशभर प्रर्दशन हुन थालेका छन् । किशोरी महिलाहरूमाथि हुने यस प्रकारका हिंसा बलात्कार जस्ता जघन्य अपराध एकपछि अर्को हुँदै जानुले नेपाली समाज कस्तो बनिरहेको छ ? सोचनीय बनाएको छ ।

आज इनिशाले जुन नियति र दुर्भाग्यपूर्ण घटना भोगिन्, त्यही नियति केही वर्ष पहिले नै निर्मला पन्त, अंगिरा पाशीहरुले भोगिसकेको देश र समाज हो हाम्रो । देशमा व्यवस्था बदलिँएसँगै हामीहरु पहिलो महिला राष्ट्रपति बनेको, पहिलो महिला प्रधानमन्त्री, पहिलो महिला न्यायाधीश, पहिलो सभामुख बनेको भनेर गर्व त गरिरहेका छौ । तर, सीमान्तकृत समुदायका चेलीहरुको नियती भने अहिले पनि उस्तै दुर्दान्त छ । पुरुष सत्ताबाट खतरा नै छ, उत्तिकै खतरा पितृ सत्तामा मग्न महिलाहरुबाट पनि देखिन्छ । अब प्रक्रियागत हिसाबले घटनाको निष्पक्ष छानबिन त जरुर हुनुपर्छ । यो देश त आज सम्म बिग्रिएको या बेथितिग्रस्त भएको यी र यस्ता घटनामा संलग्नहरु सत्ता, शक्ति, पैसाको आडमा संरक्षण पाएका कारण निरुत्साहित नभएको हो । १६ वर्षीया किशोरी इनिशाको एक लोकतान्त्रिक शासन व्यवस्था भएको देशमा यति जघन्य तबरले ज्यान जानु कति बिडम्बनापूर्ण छ ? अब इनिशाको ज्यान त कसैगरी फर्किन्न, उनलाई न्याय कसरी मिल्छ ? अकल्पनीय क्रूरताका साथ एक बालिकाको जीवन खोसिएकोमा सरकार र यसका निकाय कति हिस्सेदार र जिम्मेवार छ ? अब केवल बलात्कारको निन्दा गरेर मात्रै बस्ने कि यस्ता अपराधकर्मलाई जन्म र प्रश्रय दिने संस्कृतिप्रति जिम्मेवारपूर्ण हिसाबले काम गर्ने ? अब पनि “र, तर, वा, अथवा, तथापि भन्दै अपराधीलाई उम्काउने दुश्प्रयास भइरह्यो भने त्यो दुर्भाग्यपूर्ण मात्र होइन, देशकै लागि घातक हुनेछ ।

 

  • २०८२ फाल्गुन २८, बिहीबार