बागलुङ । आगामी चैत दोस्रो सातादेखि बागलुङको प्रसिद्ध कालिका मन्दिरमा आयोजना गरिएको चैते दशैं मेलामा सर्वाधिक पुरस्कार राशीको कालिका कप आयोजना गरिने भएको छ ।
चैते दशैं मेलामा तीन लाख पुरस्कार राशिको पुरुष खुल्ला भलिबल प्रतियोगिताको आयोजना गर्न थालिएको कालिका भगवती गुठी व्यवस्थापन समितिका अध्यक्ष भुपेन्द्र खड्काले जानकारी दिनुभयो ।
कालिका भगवती गुठी व्यवस्थापन समितिको आयोजनमा खुल्ला पुरुष तथा खुल्ला भलिबल प्रतियोगिताको आयोजना गरिएको छ ।
आगामी चैत १० देखि १४ गतेसम्म मेला सञ्चालन हुने समितिका अध्यक्ष भुपेन्द्र खड्काले जानकारी दिनुभयो । खड्काले मेलाको अवसरमा भलिबल, लोक दोहोरी गीत, छेलो प्रतियोगिताका साथै रथ यात्रा, रमाइलो मेला बाल उद्यान सञ्चालन गरिने बताउनुभयो ।
खड्काले चैते दशैंका अवसरमा मुख्य आकर्षकको रुपमा कालिका मप भलिबल आयोजना गरिएको छ । ‘गन्तव्य बागलुङ कालिका, स्थानीय उत्पादनको प्रवद्र्धन, कला संस्कृति र समृद्धिको आधार धार्मिक पर्यटन’ भन्ने मुल नाराका साथ बागलुङ नगरपालिका १ रामरेखामा रहेको कालिका बाल उद्यानमा मेला गरिने अध्यक्ष खड्काको भनाइ छ ।
प्रसिद्ध ऐतिहासिक कालिका भगवति मन्दिर तथा परम्परागत चैत्राष्टमी मेलालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जगतमा चिनाउन, बागलुङ जिल्लाको ऐतिहासिक धार्मिक, सांस्कृतिक एवं प्राकृतिक सम्पदा र स्थानीय उत्पादनको संरक्षण र प्रर्बद्धनगर्ने लक्ष्य राखिएको छ ।
चैत्राष्टमी मेलाको अवसरमा हुने कालिका कप खुल्ला पुरुष भलिबल प्रतियोगितामा प्रथम हुनेले तीन लाख नगद ट्रफी र प्रमाणपत्र पाउनेछन् । द्वितीयले एक लाख ५० हजार र सेमिफाइनल उपविजेताले ५० हजार रुपियाँ पाउनेछन् । सर्वोत्कृष्ट खेलाडीलाई पाँच हजार नगद प्रदान गरिनेछ ।
कालिका कप खुल्ला महिला भलिबल प्रतियोगितामा प्रथम हुनेले एक लाख पाउने छन् । द्वितीय हुनेले ५० हजार, सेमिफाइनल उप–विजेता हुनेले १० हजार र सर्वोत्कृष्ट खेलाडीले पाँच हजार रुपियाँ पाउने छन् ।
राष्ट्रिय लोकदोहोरी गीत प्रतियोगितामा प्रथम हुनेले दुई लाख, द्वितीयले एक लाख, तृतीय हुनेले ५० हजार र सर्वोत्कृष्ट गायनलाई पाँच हजार रुपियाँ दिइनेछ । यसैगरी, छेलो प्रतियोगितामा विजयीले ३० हजार पाउने छने भने मेलामा रेष्टुरेष्ट प्रयोजनका लागि २० वटा स्टल राखिनेछ ।
मेलाका लागि करिब ५५ लाख रुपियाँ खर्च हुने बताइएको छ । खर्च व्यवस्थापनका लागि कालिका भगवति गुठीबाट २० लाख, सहआयोजक तथा प्रायोजक संस्थाहरुबाट ८ लाख रमाइलो मेलाबाट १३ लाख, विभिन्न क्षेत्रबाट आर्थिक सहयोग नौ लाख, स्टलबाट तीन लाख र दर्ता शुल्कबाट दुई लाख नगद सङ्कलन हुने अपेक्षा गरिएको कालिका गुठी व्यवस्थापन समितिका प्रेस सल्लाहकार राजेशचन्द्र राजभण्डारीले बताउनुभयो ।
विसं १५९१ मा पर्वते राजा प्रतापी नारायणसिंह मल्लले पाल्पाका राजा मनिमुकुन्द सेनकी छोरीसँग विवाहमा राजकुमारीले आफूसँगै दाइँजोका रुपमा ल्याएकी कालिका देवीको मूर्ति डोलामा बोकेर यही कालिका मन्दिर रहेको स्थानसम्म ल्याइएको थियो ।
त्यही स्थानमा ल्याइएको मूर्ति नचलेपछि त्यही स्थानमा मन्दिर स्थापना गरिएको र मन्दिरमा आउने दर्शनार्थीले किनेमेल गर्दा चैते दशैं मेला लाग्ने गरेको इतिहास छ ।
