बागलुङमा अन्तरक्रिया कार्यक्रम गरी विश्व उपभोक्ता अधिकार दिवस मनाइएको छ । उपभोक्ताको अधिकार, खाद्य स्वच्छता र उपभोग्य बस्तुको गुणस्तरका विषयमा उपभोक्ता र व्यवसायी दुवै सचेत हुन आवश्यक रहेको कार्यक्रमका सहभागी सरोकारवालाहरुले जोड दिएका छन् ।
बागलुङको एकिकृत सेवा कार्यालय बागलुङको आयोजनामा आइतबार उपभोक्ता दिवस सम्बन्धी गोष्ठीमा बोल्दै प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद आचार्यले गुणस्तर मापन यन्त्र, खाद्य प्रयोगशाला लगायतको अभावमा अनुमानको आधारमा अनुगमन भइरहेको बताउनुभयो ।
उहाँले हामीले खाने तेल, दूध, मासु र तरकारी जस्ता खाद्य बस्तु हेरेर गुणस्तर मापन गर्न नसकिने बताउनुभयो । कार्यक्रमको गोष्ठी बागलुङ नगरपालिकाका उप–प्रमुख राजु खड्काले उद्घाटन गर्नुभएको थियो । उहाँले उपभोक्ता र व्यापारी दुवै सचेत हुन आवश्यक रहेको बताउनुभयो ।
कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी नवराज बरालले उपभोक्ताको हितमा कानून समेत परिमार्जन गर्न आवश्यक रहेको बताउनुभयो ।
कार्यक्रममा राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष शैलेन्द्र कुमार श्रेष्ठले मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रममा जिल्ला समन्वय अधिकारी कृष्णराज गौतम, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय बागलुङका प्रतिनिधि, प्रहरी र पत्रकारबीच अन्तरकृया गरी उपभोक्ता अधिकार दिवस मनाइएको हो ।
कार्यक्रम एकिकृत सेवा केन्द्र बागलुङका प्रमुख शिव शर्माको अध्यक्षता, सहायक प्रशासकीय अधिकृत विष्णु प्रसाद शर्माको स्वागत मन्तव्य तथा कार्यालयका अधिकृत श्याम थापा मगरको सञ्चालनमा सम्पन्न भएको थियो ।