• २०८३ आश्विन २५, आईतवार
  • 2026 October 11, Sunday

अमलाचौरमा जीवन विज्ञानको योग कक्षा दोस्रो वर्षमा

  • २०८२ चैत्र ९, सोमबार

बागलुङ । बागलुङ नगरपालिका–१२ अमलाचौरस्थित भैरवस्थानमा सञ्चालन हुँदै आएको जीवन विज्ञानको योग कक्षा दोस्रो वर्षमा प्रवेश गरेको छ। जीवनयोग प्रयोगशालाको स्थापना दिवसको अवसरमा आइतबार वडा कार्यालयको सभाहलमा विशेष कार्यक्रम आयोजना गरिएको हो।

गत वर्ष चैत ८ गतेदेखि बानपा–१२ अमलाचौरमा जीवन विज्ञानको योग कक्षा विधिवत रूपमा शुभारम्भ गरिएको थियो। व्यक्तिभित्रको सुख, शान्ति र समृद्धि जागृत गराउने उद्देश्यका साथ सञ्चालन गरिएको यो अभियान हाल देशका विभिन्न शहर र गाउँमा फैलिँदै गएको बताइएको छ।

जीवन विज्ञान अभियानअन्तर्गत देशका विभिन्न स्थानमा सयौँ भौतिक प्रयोगशालाहरू तथा एक सयभन्दा बढी देशमा दर्जनौँ अनलाइन प्रयोगशालाहरू सञ्चालनमा छन्। ती प्रयोगशालामार्फत लाखौँ मानिसले दैनिक योग तथा ध्यानका अभ्यास गरी लाभ लिइरहेका छन्। जीवन विज्ञानलाई आधुनिक आध्यात्मिक प्रयोगशालाका रूपमा लिइन्छ, जहाँ अध्यात्मका गहिरा सत्य र सूत्रलाई विभिन्न साधना तथा जीवन व्यवस्थापन कार्यक्रममार्फत सरल र सहज ढङ्गले जीवनमा उतार्न सिकाइन्छ।

वार्षिकोत्सव कार्यक्रममा सहभागी हुँदै बागलुङ नगरपालिकाका उपप्रमुख राजु खड्काले सबैको सुख, शान्ति र सकारात्मक मार्गमा अघि बढ्न यस्ता गतिविधिले प्रेरणा दिने विश्वास व्यक्त गरे। उनले व्यक्तिको सामाजिक, व्यावसायिक तथा पेशागत क्षेत्रमा देखिने नकारात्मक असरलाई व्यवहारमा परिवर्तन ल्याई मानसिक रूपमा स्वस्थ बनाउन योग र ध्यान उपयोगी हुने बताए।

धेरैजसो मानसिक समस्या किशोर अवस्थाबाट सुरु हुने भएकाले यस समयमा अभिभावक र विद्यालयले विशेष ध्यान दिनुपर्ने उनको भनाइ थियो। उनले आफ्ना भावना विश्वासपात्र साथी, परिवारका सदस्य वा मनोपरामर्शदातासँग साझा गर्न सुझाव दिँदै सामाजिक सञ्जालको प्रयोगमा अभिभावकले सावधानीपूर्वक निगरानी गर्न आग्रह गरे।

उपप्रमुख खड्काले मानसिक स्वास्थ्य सेवालाई सर्वसुलभ र नागरिकको पहुँचमा ल्याउन विद्यालयहरूमा विद्यार्थी मनोपरामर्श कक्ष स्थापना तथा सञ्चालन गर्ने योजना बनाइएको पनि जानकारी दिए ।

जीवन विज्ञानका योग प्रशिक्षक कमल आचार्यका अनुसार अमलाचौरमा हाल चार जना योग प्रशिक्षक सक्रिय छन्। निकट भविष्यमा नगरका अन्य वडाहरूमा पनि जीवन विज्ञानको योग कक्षा विस्तार गर्ने तयारी भइरहेको उनले बताए।

कार्यक्रममा वडा अध्यक्ष कोपिलामणि शर्मा तथा ‘खुशी मन बागलुङ’का अध्यक्ष एवं मनोपरामर्शकर्ता नारायण आचार्यले शुभकामना व्यक्त गर्दै मानसिक स्वास्थ्यबारे खुला छलफल आवश्यक रहेको र योग–ध्यानले ल्याउने सकारात्मक परिवर्तनबारे व्यापक प्रचार–प्रसार गर्नुपर्ने बताए ।

संस्थाका उपाध्यक्ष तथा योग प्रशिक्षक प्रमानन्द शर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सहजीकरण योग प्रशिक्षक कल्पना आचार्यले गरेकी थिइन्। सो अवसरमा नियमित योग साधनामा सहभागी ९० वर्षीय चुडामणि शर्मालाई सम्मान गरिएको थियो।

  • २०८२ चैत्र ९, सोमबार